कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २९ गते)
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ६ सय १४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये ४ हजार २ सय ८५ जना पुरुष र ३ सय २९ जना महिला रहेका छन् । मन्त्रालयले जेठ २९ गते साँझ जारी गरेको अवस्था प्रतिवेदनमा १ लाख १५ हजार ९ सय ३७ जनाको पीसीआर परीक्षण गरिएको उल्लेख छ । त्यसैगरी आरडीटी विधिबाट १ लाख ७८ हजार १ सय ४३ जनाको परीक्षण गरिएको छ । जेठ २९ गतेसम्म सङ्क्रमितमध्ये ८ सय ६१ जना डिस्चार्ज भइसकेका छन् ।
प्रदेश १
प्रदेश १ मा जेठ २९ गते थप नौ जना कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३ सय ५ पुगेको छ । जेठ २९ गते ३० जना डिस्चार्ज भएका छन् । प्रदेशमा डिस्चार्ज हुनेको सङ्ख्या १ सय ५४ पुगेको छ ।
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ का सबै नागरिकको पीसीआर परीक्षण गर्न माग गर्दै केही व्यक्तिले जेठ २९ गते जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएका छन् । प्रदेश सरकारले उर्लावारी नगरपालिकास्थित मङ्गलवारे अस्पताललाई ट्रमा सेण्टरका रूपमा विकास गर्ने र त्यसको नामाकरण मदन भण्डारी प्रतिष्ठान हुने घोषणा गरेपछि उनीहरूले विरोध गरेको बताएका हुन् ।
सोलुखुम्बु प्रतिनिधि भोजराज कार्कीका अनुसार जिल्ला अस्पताल फाप्लुले १५ दिनपछि नियमित सेवा सुचारू गरेको छ । अस्पतालमा उपचाररत एक युवामा कोरोना पोजेटिभ देखिएपछि जेठ १५ देखि बन्द रहेको अस्पतालको सेवा जेठ २९ गतेदेखि पूर्ण रूपमा सुचारु भएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले बताउनु भयो । अस्पताल सुचारू भएको पहिलो दिन ३५ जना बिरामीले सेवा लिएका छन् ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार बोदे बर्साइन नगरपालिकाका तीन जना कोरोना सङ्क्रमितलाई खाली हुनासाथ राजविराजस्थित आइसोलेशनमा ल्याइए पनि बेडकै अभावमा छिन्नमस्ता गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका ६÷६ जनालाई सम्बन्धित स्थानीय तहको क्वारेण्टाइनमै राख्नु परेको छ । आइसोलेशन सेन्टरका बेडहरू खाली हुँदै गएपछि मात्र भर्ना लिन सकिने भन्दै कोभिड–१९ व्यवस्थापन संयोजक डा. रणजितकुमार झाले एक–दुई दिन क्वारेण्टाइनमा होल्डिङ्ग गर्दै ल्याउनु पर्ने अवस्था आएको बताउनु भयो । सङ्क्रमित पुष्टि भएकालाई एम्बुलेन्सले क्वारेण्टाइनबाट राजविराजस्थित आइसोलेशन सेन्टर लैजान नमान्ने गरेको कञ्चनरुप नगरपालिका स्वास्थ्य सहसंयोजक डम्बर गुप्ताले बताउनु भयो ।
सर्लाही प्रतिनिधि वुधन साहका अनुसार गोडैता नगरपालिका–२ स्थित जयपुर माध्यमिक विद्यालयको क्वाइण्टाइनमा किरा लागेको चिउरा, बिना मसला भएको तरकारी र पानी नै पानी भएको दाल खुवाउने गरेको क्वारेण्टाइनमा रहेका एक व्यक्तिले आरोप लगाउनु भएको छ । क्वारेण्टाइनमा नुहाउने कल तथा शौचालयको अभाव छ । २५ जना रहेको क्वारेण्टाइनमा दुई ओटा शौचालय र एउटै मात्र पानीको धारा रहेको, पानी पिउनको लागि गिलास नहुँदा ह्याण्डपाइपमा गएर सिधै पानी खानुपर्ने क्वारेन्टाइमा बस्नेहरूले बताए । स्थानीय सरकारले उपलब्ध गराएको सिमित बजेटमा क्वाइण्टाइनमा यो भन्दा राम्रो खाना खुवाउन सम्भव नभएको क्वारेण्टाइन प्रमुख डाक्टर रामइश्वर महतोले बताउनु भयो । स्थानीय सरकारले नगरभित्रका सबै क्वारेण्टाइनमा गुणस्तरीय खानाको व्यवस्था गरिएपनि क्वारेण्टाइन प्रमुखको लापरबाहीका कारण यस्तो घटना हुन सक्ने गोडैता नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोध पण्डितले बताउनु भयो । क्वारेण्टाइनमा रहेका व्यक्तिले गरेको गुनासो बारेमा सत्य तथ्यको छानविन गरिने गोडैता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकाउ यादवले बताउनु भयो ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार राजपुर नगरपलिका ४, ५ र ६ वडामा स्थित क्वारेण्टाइनमा बसेको २०–२२ दिन बढी भइसक्दा पनि स्वाब परीक्षण रिपोर्ट नआएको भन्दै जेठ २९ गते पनि क्वारेण्टाइनमा बस्नेहरूले विरोध प्रर्दशन गरेका छन् । उनीहरू क्वारेण्टाइन बाहिर आएर जेठ २८ गते रातपुर फरदवा चोकमा सडक अबरुद्ध गरेका थिए । जनप्रतिनिधि र सुरक्षा निकायको टोली आएर सम्झाएपछि उनीहरू क्वारेण्टाइनमै फर्केको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताउनु भयो । त्यस्तै स्वाब सङ्कलन भएको १० दिन बढी भइसक्दा पनि रिपोर्ट नआएको भन्दै देवाहीगोनाही नगरपालिकाको जय किसान मावि क्वारेण्टाइनमा बस्नेहरू जेठ २८ गते अनसनमा बसेका थिए । २ सय ५० जनाभन्दा बढी व्यक्तिहरू रहेको सो क्वारेण्टाइनमा नेपाली सेनाको टोली आएर सम्झाइबुझाई गरेपछि तत्काललाई आन्दोलन फिर्ता भएको थियो । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्वाब सङ्कलन रिपोर्ट समयमा नआएका कारण क्वारेण्टाइनमा बसेकाहरूमा मानसिक तनाव थपिँदै गएको बताउनु भयो ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार फेटा गाउँपालिका–४ स्थित क्वारेण्टाइनमा बसेका ३० वर्षीय पुरुषले पानी र विजुलीको अभाव भएको बताउनु भयो । शौचालयको सरसफाई र बस्ने व्यवस्था नभएकाले पहल गरी दिन इन्सेक बारा प्रतिनिधिलाई उहाँले अनुरोध गर्नुभएको थियो । गाउँपालिकामा अकस्मात क्वारेण्टाइन व्यवस्थापन गर्दा समस्या भएपनि समाधान गर्दै गरेको गाउँपालिका अध्यक्ष अमिरिलाल पालले बताउनु भयो ।
बागमती प्रदेश
यस प्रदेशमा हालसम्म १ सय ४५ जनामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । धादिङ जिल्लामा सात जना र काठमाडौँमा एक जना गरी जेठ २९ गते आठ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईँले बताउनु भयो ।
मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार भारत तथा अन्य तेस्रो मुलुकबाट मकवानपुर फर्किएकाहरूको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्ने भिटिएम अभावका कारण पीसीआर परीक्षण हुन सकेको छैन । हेटौँडा उपमहानगरपालिका–४, कर्रामा रहेको आइसोलेसन वार्डमा कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्ने भिटिएमको अभाव भएको हो ।
गण्डकी प्रदेश
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार भिमसेन थापा गाउँपालिकाका चार जना कोरोना सङ्क्रमतिको बारेमा गलत सूचना प्रवाह हुँदा सङ्क्रमित समुदाय पुगेका छन् । जेठ २७ गते स्वास्थ्यकर्मीले रिपोर्ट नेगेटिभ आएको जानकारी गराएपछि जेठ २८ गते चार जना मध्ये भिमसेन थापा गाउँपालिका–६ को क्वारेण्टाइनमा रहेकी २८ वर्षीय एक महिला घर पुगेकी थिइन् । दुई घण्टा घरमा आफन्त र छिमेकीसँग भेटघाट गरिसकेपछि जेठ २८ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँले उनी सहित भिमसेन थापा गाउँपालिकाका चार जनामा कारोना पोजेटिभ रहेको पुष्टि ग¥यो । जेठ २७ गते ती महिला सहित ११ जनाको कोरोना नेगेटिभ भनेर स्वास्थ्य कार्यालयबाट मौखिक जानकारी आएपछि ती महिलालाई घर पठाएको भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य प्रमख भेषराज खनालले बताउनुभयो । तर, कोरोना पुष्टि भएलगतै पुनः क्वारेण्टाइनमा राखिएको उहाँको भनाइ छ ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार पर्वतमा अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनयापनमा समस्या भएको छ । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण सामान्य व्यवसाय तथा मजदुरी गरेर खान बाध्य पर्वतका १५ अपाङ्गता भएका व्यक्तिका परिबार समस्यामा परेका हुन् । अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्ने संस्था जिल्ला अपाङ्ग उत्थान समाज पर्वतले दिएको तथ्याङ्क अनुसार महाशिला गाउँपालिकाका दुई, फलेवास नगरपालिकाका पाँच, पैयु गाउँपालिकाका चार, बिहादी गाउँपालिकाका एक र कुश्मा नगरपालिका अन्तरगतका तीन परिवारलाई समस्या भएको हो । यसरी समस्यामा परेका व्यक्तिहरूले सामान्यतः रूपमा स्थानीय तहले राहत वितरणका क्रममा अन्य सरह खाद्य सामग्री पाएपनि आवश्यकता अनुसार राहत पाउन सकेका छैनन् । अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य परिवार भन्दा फरक तवरबाट राहत वितरण गर्नुपर्ने देखिएपनि स्थानीय तहहरूले अन्य सवालङ्ग व्यक्तिहरूकै सरह वितरण गरिएको राहतले अपाङ्ता भएका व्यक्तिहरूको परिवारमा आवश्यकता पूर्ति हुन सकेको छैन ।
प्रदेश ५
फिल द बकेटको आर्थिक सहयोग जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र नरैनापुर गाउँपालिका, इन्सेक र नेपालगञ्ज मेडिकल कलेज लगायत सङ्घ संस्थाहरूको समन्वय र सहकार्यमा जेठ २९ गते कोरोना भाइरसबाट प्रभावित नरैनापुर गाउँपालिकाका–४ सय ३९ परिवारलाई खाद्यान्न वितरण गरिएको छ । वितरण गरिएको राहतमा प्रतिपरिवार २० किलो चामल, तीन किलो दाल, तीन किलो चना, एक किलो नुन र दुईवटा साबुन रहेको इन्सेक प्रदेश संयोजक भोला महतले बताउनु भयो ।
कोरोनाको सङ्क्रमणबाट धेरैजना पीडित रहेको गाउँपालिकामा आएर विपन्न र पीडित परिवारलाई राहात वितरण गरेकोमा फिल द बकेट अभियानप्रति आभार व्यक्त गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले राहतले स्थानीयलाई धेरै सहयोग पुग्ने बताउनु भयो । नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा. कनोडियाले कोरोनाका कारण मृत्यु भएका युवकको घर बनाउन १ लाख रुपियाँ सहयोग गर्ने घोषणासमेत गर्नु भएको छ ।
इन्सेक प्रदेश कार्यालय नेपालगञ्जका प्रमुख भोला महतले मृतकको घर बनाउन अभियान चलाइने जनाउँदै सहयोग गरेकोमा डा. कनोडियाप्रति आभार प्रकट गर्नु भएको थिया । गाउँपालिकाले पनि घर बनाउनका लागि केही रकम छुट्याउने तयारी गरिरहेको अध्यक्ष शाहले बताउनु भयो । उहाँले मृतकको परिवार निकै विपन्न रहेकोले काज क्रियाकालागि गाउँपालिकाबाट तत्काल ५० हजार रुपियाँ दिन थालिएको र आफ्नो तर्फबाट ५० हजार रुपियाँ सहयोग गर्न लागेको बताउनु भयो ।
कर्णाली प्रदेश
जेठ २९ गते प्रदेश अस्पतालबाट निको भई डिस्चार्ज भएका ३१ जनासहित हालसम्म ६० जनाले कोरोना जितेर घर फर्किएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनु भयो ।
सुदूरपश्चिम प्रदेश
इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन थपिँदै गएकाले पूर्व तयारीस्वरूप जिल्लामा थप २ सय बेडको आइसोलेशन कक्ष थप्ने निर्णय गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनु भयो । हालसम्म ६ जना सङ्क्रमित रहेका र आरडिटी पोजेटिभ आएका ४ सय ५१ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेकाले पूर्व तयारीका लागि आइसोलेशन बेड सङ्ख्यामा वृद्धि गर्ने निर्णय गरिएको भट्टको भनाइ छ । उहाँले भन्नु भयो– ‘प्रत्येक स्थानीय तहमा कम्तीमा २० बेड क्षमता भएका आइसोलेशन बनाउन पत्राचार गरिएको छ ।’ जिल्लाका १० ओटै स्थानीय तहलाई आइसोलेशन बेडको निर्माणका लागि पत्राचार गरिएको र स्थानीय तहहरूले निर्माण प्रक्रिया पनि सुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा पाँच वर्ष र ६ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको कसुरमा जिल्ला अदालतले सुर्खेत जिल्लाको गर्भाकोट नगरपालिका-९ की ४६ वर्षीया चन्द्रा वलीलाई पाँच वर्ष कैद सजाय र रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका-३ का ५०…
खुकुरी प्रहार गरी पत्नीको हत्या, आरोपित पति गिरफ्तार
अन्नपूर्ण गाउँपालिका घर भई पोखरा महानगरपालिका बस्दै आएकी ४० वर्षीया राधिका कुँवरलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति जहरसिंह कुँवरलाई भदौ २६ गते गिरफ्तार गरेको छ…
इन्सेक मधेस प्रदेशद्वारा बलात्कार घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले १८ वर्षीया बालिकामाथि भएको बलात्कार घटनाको अनुगमन ०८१ भदौ २४ गते गरेको छ । घटनाको अनुगमन इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानको…
एकीकृत गुठी ऐन तत्काल बनाउन किसानको माग ! (फोटो फिचर)
दाङका स्वर्गद्वारी गुठीपीडित किसानले तत्काल एकीकृत गुठी विधेयक संसदमा दर्ता गरी कानुन बनाउन सरकारसँग माग गरेका छन् । तीन पुस्तादेखि जोगभोग गर्दै आएको जग्गामाथिको अधिकार किसानले पाउन नसकेको भन्दै गुठीपीडित…
पत्निको हत्या आरोपमा पति गिरफ्तार
निजगढ नगरपालिका-९ भमरा टोलकी ३८ वर्षीया लक्ष्मी राईलाई ४२ वर्षीय पति बिमल बस्नेतले ०८१ भदौ २५ गते घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालयले सोही दिन गिरफ्तार…