कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १९ गते)

कोरोना सङ्क्रमणबाट झण्डै २ हजार जना प्रभावित भएका छन् । प्रदेश १ मा १ सय ६८ जना, प्रदेश २ मा ६ सय ९४ जना, बागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशमा २६ जना, प्रदेश ५ मा ६ सय ३४ जना, कर्णाली प्रदेशमा १ सय ९८ जना र सुदूरपश्चिम प्रदेशमा ४५ जना गरी १ हजार ८ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये आठ जनाको मृत्यु भएको छ भने २ सय २१ जना उपचारपछि फर्किसकेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

प्रदेश १

प्रदेश १ सरकारलाई तिब्बत सरकारले ७ करोड ७४ लाख रुपियाँको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । स्वास्थ्य सामग्री नेपाल–चीन कार्यकारी परिषद्ले जेठ १९ गते मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको छ ।

सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लामा रहेका क्वारेन्टाइनको क्षमता, अवस्था तथा भौतिक सुधारका लागि जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारीको अध्यक्षतामा रहेको अनुगमन टोलीले नगरपालिका तथा गाउँपालिकाको क्वारेन्टाइनहरूको जेठ १९ गते स्थलगत अनुगमन गरेको छ । अनुगमन गरेर सुधारका लागि सम्बन्धित निकायलाई जानकारी गराएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीका प्रमुख डा. सूर्यनारायाण मेहताले बताउनु भयो । क्वारेन्टाइन सम्बन्धमा व्यवस्था गर्नका लागि बनेको कार्यविधि ०७६ अनुसार नै सञ्चालनमा रहेको र केहीको अवस्था कमजोर भएकाले सुधारका लागि अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । अनुगमनका क्रममा क्वारेन्टाइनमा शौचालय, स्वास्थ्यकर्मीको व्यवस्थापन, एम्बुलेन्स सुविधालगायतका विषयमा सम्बन्धित स्थानीय तहलाई अनुगमन समितिले जानकारी गराएको छ ।

प्रदेश २

इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार जिल्ला समन्वय समिति सप्तरीद्वारा जेठ १९ गते आयोजित बैठकमा स्थानीय तहका प्रमुखहरूले कोरोना भाइरससम्बन्धी क्वारेण्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको निर्देशिका र मापदण्ड बमोजिम स्थानीय प्रशासनबाट सञ्चालन र नियन्त्रण नभएको भन्दै क्वारेण्टाइनको व्यवस्थापन छोड्ने चेतावनी दिएका छन् । बैठकले जिल्लामा पीसीआर परीक्षण भिटिएम किटको अभाव देखिएकाले पर्याप्त मात्रामा किट उपलब्ध गराउन प्रदेशको सामाजिक विकास मन्त्रालय र सङ्घको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग माग गर्ने निर्णय गरेको छ ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–२ को सकरदहीस्थित विद्यालयमा रहेको क्वारेण्टाइनको सुरक्षार्थ रहेका प्रहरी हवल्दार रामेश्वर यादव र अहेव अनिल बरबरियालाई जेठ १८ गते राति गलत क्रियाकलाप गरेको आरोपमा क्वारेण्टाइनमा बसेका र स्थानीयले कुटपिट गरेका छन् । अपरिचित महिलालाई राति प्रहरी हवल्दार यादवले कोठामा राखेको भन्दै यादवमाथि भइरहेको कुटपिटबाट जोगाउन खोज्दा अहेव बरबरियालाई समेत कुटपिट गरेको हनुमाननगर कङ्कालिनी नगरपालिकाका स्वास्थ्य संयोजक रामदेव यादवले बताउनु भयो । घाइते अहेवको उपचार भारदह अस्पतालमा भएको छ भने प्रहरी हवल्दार यादवको उपचार प्रहरी कार्यालयभित्रै भएको छ । ड्युटीमा बसेका प्रहरीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हनुमाननगर लगिएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित लिल्जा ठाकुर विद्यालयको कोठाभित्र जेठ १९ गते विहान वर्षाको पानी पसेर ओछ्यानहरू भिज्दा र विद्यालय प्राङ्गणमा आधा फिट पानी जम्दा क्वारेन्टाइनमा बस्नेहरूको बिचल्ली भएको छ । विष्णुपुर गाउँपालिका–६ स्थित रुद्रनारायण माविको क्वारेण्टाइनभित्र पानी पसेर सबै ओछ्यानहरू भिजेको छ ।

इन्सेक धनुषा जिल्ला प्रतिनिधि दीपेन्द्र प्रसाद सिंहका अनुसार प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका बिरामी र क्वारेण्टाइनमा बसेका व्यक्तिले पोषिलो खाना नपाएको गुनासो बढ्दै गएपछि गैरसरकारी सामुदायिक संस्था सानो पाइलाले जेठ ५ गतेबाट ३१ जना बिरामीलाई पोषिलो खाना तथा खाजा खुवाउन सुरू गरेको छ । प्रदेश सरकारको आग्रहमा सानो पाइलाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड र सरकारको कार्यविधि अनुसार पौष्टिक खाना खुवाउँदै आएको हो । प्रतिदिन एक जनालाई चार पटक खाना र खाजा खुवाउँदा दैनिक ३ सय २७ रुपियाँ खर्च हुने गरेको सानो पाइलाका सभापति सुदीपकुमार लामाले बताउनु भयो ।

इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार भंगहा नगरपालिका–३ का रामपृत सदा मुसहरले राहतको विषयमा कुरा गर्न जेठ १७ गते जाँदा नगरपालिकाका प्रमुख सञ्जिव साहका भाई विनोद साहले कुटपिट गरेको जेठ १९ गते आरोप लगाउनु भएको छ । पहिलो चरणको राहत वितरणमा आठ किलो चामल, तीन पाउ दाल, एक लिटर खाने तेल, एक किलो नुन दिएको र त्यतिले दैनिकी नचलेको भन्दै ५० किलो चामल, १० किलो दाल, पाँच लिटर खाने तेल र तीन किलो नुन दिन भनी माग गर्न जाँदा नगर प्रमुखका भाइले आफूलाई कुटपिट गरेको मुसहरले इन्सेक प्रतिनिधिलाई बताउनु भएको हो । भंगहा नगरपालिकाका नगर प्रमुख साहले आफूलाई बदनाम गर्न झुठा आरोप लगाएको बताउनु भयो ।

इन्सेक सर्लाही जिल्ला प्रतिनिधि बुधन साहका अनुसार मलङ्गवा नगरपालिका–२ स्थित नर्सिङ कलेजमा निर्माण गरिएको आइसोलेशनमा कोरोना सङ्क्रमितलाई अव्यवस्थित रूपमा राखिएको छ । जेठ १९ गते १२ बजेसम्म खाना खान पनि नदिएको आइसोलेशनमा उपचारार्थ रहनुभएका मलङ्गवा नगरपालिका–११ गमहरीया १८ वर्षीय युवकले आरोप लगाउनु भएको छ । खाना, खाजा र पानी समेत १२ बजेसम्म नदिएको, बस्ने कोठामा झुल नभएको, सेनिटाइजर, हात धुने साबुन र सरफको समेत व्यवस्था नगरेको आइसोलेशनमा बसेका मलंगवा नगरपालिका–११ गमहरीयाका २४ वर्षीय युवकले आरोप लगाउनु भएको छ । नर्सिङ् कजेलमा आइसोलेशन कक्षको व्यवस्था गरिए पनि शौचालय नहुँदा दिसा पिसाब गर्न बाहिर जानु परेको बिरामीहरूले गुनासो गरेका छन् । आइसोलेशनमा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने मलङ्गवा नगरपालिकाका प्रमुख निरस साहले बताउनु भयो ।

इन्सेक रौतहट जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्लाका १८ स्थानीय तहमध्ये चन्द्रपुर नगरपालिका बाहेक १५ ओटा नगरपालिका र दुई गाउँपालिका गरी १७ ओटा स्थानीय तहमा कोरोना भाइरस सङ्क्रमण फैलिएको र सबैभन्दा बढी राजपुर नगरपालिकामा कोरोना सङ्क्रमित रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताउनु भयो ।

क्वारेण्टाइनसम्बन्धी विषयमा विवाद भई स्थानीयले प्रहरीमाथि जेठ १६ गते ढुङ्गामुढा गरेको आरोपमा गिरफ्तार गरिएका गुजरा नगरपालिकाका–४ का वडा अध्यक्ष पवनराज गिरी जेठ १९ गते १५ दिनको तारिखमा रिहा गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत किरणनिधि तिवारीले बताउनु भयो । गुजरा नगरपालिकाका उपमेयर रौषनखातुन शेख र वडा अध्यक्ष पवनराज गिरीबीच क्वारेण्टाइनसम्बन्धी विषयमा विवाद भई झडप हुँदा इलाका प्रहरी कार्यालय विजयपुरका इन्स्पेक्टर चन्द्रकिशोर साह घाइते भएका थिए । वडा अध्यक्ष गिरीमाथि सङ्क्रमण रोग ऐन २०२० अन्तर्गत प्रहरीले जेठ १९ गते जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको थियो ।

बागमती प्रदेश

इन्सेक दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलका अनुसार कोरोना पोजेटिभ देखिएका भीमेश्वर नगरपालिका–२ तिखातलका एक जेष्ठ नागरिकका परिवारलाई छिमेकीहरूले विभेद गर्न थालेको सङ्क्रमितका परिवारका सदस्यले गुनासो गर्नुभएको छ । ‘परिवारमा एक जनाबाहेक हामी सबैको कोरोना नतिजा नेगेटिभ आएको अवस्थामा पनि समाजले अझै हामीलाई विभेद गरेको छ । यसले हामीलाई मानसिक तनाव भएको छ ।’–पीडित परिवारका सदस्यले गुनासो गर्नुभयो ।

जेठ १० गते हाई ब्लड प्रेसरको समस्या भएपछि यहाँको प्राथमिक उपचार गौरीशङ्कर अस्पतालमा गरिएको थियो । त्यसपछि थप उपचारका लागि काठमाडौँको केएमसी अस्पताल लगिएकोमा पीसीआर परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो ।

इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीका अनुसार भक्तपुरमा नगरपालिका, अस्पताल र नेपाल रेडक्रस सोसाईटीका गरी १४ ओटा एम्बुलेन्स भए पनि बिरामी बोक्न एम्बुलेन्सले नमान्ने गरेको पाइएको छ । सूर्यविनायक नगरपालिका–५ दक्षिणबाराही बस्ने मकल मिश्रको स्वास्थ्यमा समस्या आएपछि कोरोना सङ्क्रमणको आशङ्काले टेकु अस्पताल जान एम्बुलेन्स बोलाउँदा कुनै एम्बुलेन्स नआएको उहाँले इन्सेक भक्तपुर प्रतिनिधिलाई बताउनु भयो ।

एम्बुलेन्स चालक सङ्घका पूर्व अध्यक्षसमेत रहनु भएका बुद्ध श्रेष्ठले सुरक्षाका सामग्री अभाव भएका कारण एम्बुलेन्स चालकले ज्यान जोखिममा राखेर नजाने गरेको बताउनु भयो । उहाँले धेरै ठाउँबाट एम्बुलेन्स चालक बिरामी बोक्न नमान्ने गरेको गुनासो समेत आएको बताउनुभयो । कोरोनाका विरामी बोक्न भनेर चार ओटै नगरपालिकाले एम्बुलेन्स तयारी अवस्थामा राखेपनि अत्यावश्यक पर्दा एम्बुलेन्सले बिरामी बोक्न नमान्ने. र विभिन्न बाहना बनाउने गरेका छन् । टेकु अस्पताल त एम्बुलेन्स जानै नमान्ने गरेको उहाँले बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले एम्बुलेन्सले बिरामी बोक्न नमान्ने गरेको गुनासो आएको स्वीकार्नु भयो । उहाँले यस विषयमा एम्बुलेन्स चालक सङ्घसँग छलफल र अनुगमन सँगै अघि बढाइने जानकारी दिनु भयो ।

इन्सेक सिन्धुली जिल्ला प्रतिनिधि बिमला पाण्डेका अनुसार सिन्धुलीमा क्रियाशील सात दलले कोरोना भाइरसको सङ्क्रमणको अवस्थामा सङ्घसंस्था तथा स्थानीय तहले बाँडेको राहतमा अत्यधिक अनियमितता भएको, दैनिक उपभोग्य सामान तथा निर्माण सामग्रीमा अत्यधिक मूल्य वृद्धि भएको लगायतका विषयमा प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको ध्यानाकर्षण गराएका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा क्रान्तिकारी माओवादी र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरूले १८ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका हुन् ।

गण्डकी प्रदेश

इन्सेक नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) जिल्ला प्रतिनिधि तिर्थराज डुमे्रका अनुसार बिनयी त्रिवेणी –३ मा कोरोना सङ्क्रमण देखिएका तीन वर्षीय बालकलाई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल ल्याउन एम्बुलेन्स चालकले आफैलाई सञ्चो नभएको भन्दै बिरामी ल्याउन नमानेको स्थानीय आशिष जीसीले आरोप लगाउनु भयो । एम्बुलेन्स चालकले बिरामी बोक्न नमानेपछि पीपीई लगाएर एम्बुलेन्स चलाइ बालकलाई अस्पताल ल्याएको जीसीले बताउनु भयो ।

इन्सेक पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापाका अनुसार पर्वतमा क्वारेण्टाइनको व्यवस्थापनमा समस्या देखिएको छ । छिमेकी मुलुक भारतबाट फर्किएका व्यक्तिहरूको व्यवस्थापनमा समस्या भएको हो । जिल्ला प्रशासन कार्यालय पर्वतले भारतबाट भित्रिएका व्यक्तिहरूलाई सिधै स्थानीय तहमा नपठाइ कुश्मा नगरपालिकाको कुश्मा बजारमा पुलिङ क्वारेण्टाइनका रूपमा राखेर स्वाब परीक्षणपछि मात्र पठाउने व्यवस्था गरेको छ । उनीहरूलाई एउटै ठाउँमा खचाखच राख्नुपर्ने अवस्था भएको इन्सेक प्रतिनिधि थापाले बताउनु भयो । कुश्मामा बनाइएका क्वारेण्टाइनहरूको क्षमता न्यून भएपछि प्रशासन कार्यालयले होटललाई समेत क्वारेण्टाइन बनाउने निर्णय गरेको थियो । निर्णय अनुरूप दुई ओटा होटलले सहमति जनाएका थिए । अहिले ४० जनाको मात्रै क्षमता भएको होटलमा जेठ १९ गते ९८ जनालाई राखिएको छ । क्वारेण्टाइनमा रहनुभएका कुश्मा नगरपालिका–१३ का एक व्यक्तिले आफू तीन दिनदेखि बसेको र झनै असुरक्षित रहेको बताउनुभयो । खानेपानी र शौचका लागि पानीको उचित प्रबन्ध नभएका कारण समस्या भएको उहाँको गुनासो छ । होटल सञ्चालक कृष्णप्रसाद श्रेष्ठले आवश्यक मात्रामा पानीको व्यवस्थापन गर्न नसकिएको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले होटलले व्यवस्थापन गर्न सक्ने जति व्यक्ति मात्रै क्वारेण्टाइनमा राखेको बताउनुभयो । यसको उचित व्यवस्थापनको माग गर्दै जिल्लास्तरीय मानव अधिकार समिति र इन्सेक लगायतले जेठ १९ गते प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसमक्ष ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्रदेश ५

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी राप्ती सोनारी गाउँपालिका –२ अगैया जङ्गलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठक्कर खाँदा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालयका इन्स्पेक्टर पविन्द्र बमका अनुसार उनीहरू सबै रोजगारीका लागि भारत गएका र कोरोना भाइरसका कारण घर फर्कदै गरेका थिए ।  घाइतेहरूको उपचार भेरी अस्पताल नेपालगञ्जमा भइरहेको छ ।

इन्सेक बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार गुलरिया नगरपालिकाले महिलाहरूका लागि कोटही माविमा २५ बेडको क्वारेण्टाइन स्थापना गरेको छ ।

उक्त क्वारेन्टाइनमा एक बालक र चार जना महिला रहेका छन् । क्वारेण्टाइन सुरक्षाका लागि महिला प्रहरी, स्वास्थ्यकर्मी र अन्य सबै ब्यवस्थापन गरिएको गुलरिया नपाका महिला तथा बालबालिका शाखा प्रमुख शिला शाहले बताउनु भयो ।

गुलरियामा रहेका क्वारेण्टाइनमा अनुगमन गर्दा धेरै पुरूष रहेको ठाउँमा महिलालाई बस्न र अन्य व्यक्तिगत स्वास्थ्य, सुरक्षामा समस्या रहेको पाइएपछि छुट्टै क्वारेण्टाइनको स्थापना गरिएको हो । अनुगमनको क्रममा महिला पुरूष एकै क्वारेण्टाइन बस्दा असुरक्षा हुनुको साथै शौचालय प्रयोग गर्न, नुहाउन, महिनावारी हुँदा सरसफाई गर्न असहज हुने र व्यक्तिगत समस्या पुरूष स्वास्थ्यकर्मीलाई भन्नमा गाह्रो हुने, गर्भवती महिलालाई विशेष स्याहार गर्न समस्या रहेको गुनासो आएपछि छुट्टै व्यवस्था गरिएको  प्रमुख शाहले बताउनु भयो । महिला प्रहरी र महिला स्वास्थ्यकर्मी रहेकाले क्वारेण्टाइनमा बसेका महिलाका लागि आफ्ना समस्या सहज ढङ्गले सुनाउने र खुलेर स्वास्थ्य उपचार गर्न सहज हुने शाहको भनाइ रहेको छ । जिल्लामा विभिन्न १ सय ६५ क्वारेण्टाइनमा रहेका ४ हजार ४ सय ६३  जना मध्ये ५ सय ५ जना महिला रहेका छन् । गुलरिया नपाका स्वास्थ्य शाखाका अधिकृत जनक योगीले महिलाहरूको स्वास्थ्य र अन्य सुरक्षा सम्वेदनशीलतालाई मध्यनजर गर्दै महिलाहरूका लागि छुट्टै क्वारेण्टइन स्थापना गरिएको बताउनु भयो ।

कर्णाली प्रदेश

इन्सेक मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार खत्याड गाउँपालिकाले भारतबाट आएका खत्याडबासीलाई प्लाष्टिकको पालको क्वारेन्टाइन बनाई पशुचौपाया राख्ने पाटन क्षेत्रमा राखेपछि क्वारेण्टाइनमा बस्नेहरू भेडीखर्कमा भेडाबाख्राजस्तै कोचिएर बस्नुपरेको गुनासो गरेका छन् । ‘एउटा पालमुनि २५ जनासम्म राखिएको छ । दुधे बालबालिकासमेत रहेका छन् । चिसो भुईंमाथि सुत्नुपर्दा कोरोनाको सङ्क्रमणभन्दा चिसोले ज्यान जाने खतरा छ ।’–भारतको नैनीतालबाट फर्किएका खत्याड गाउँपालिका–३ का रविन बाँनियाले बताउनु भयो । उहाँका अनुसार हेल्प डेस्कको समेत व्यवस्था छैन । क्वारेण्टाइनमा बसेदेखि कसैको पनि जरो जाँचिएको छैन । आरडीटी र पीसीआर परीक्षणसमेत कहिले हुने हो कुनै जानकारी छैन । बिहान बेलुका खानाबाहेक अन्य केही सुविधा नभएको बाँनियाको भनाइ छ ।

गाउँपालिकाले स्थापना गरेका १० ओटा क्वारेण्टाइनमध्ये वडा नम्बर–५ हलेखाडा र छोटेमा स्थापना गरिएको क्वारेण्टाइन वर्षायाममा भेडाबाख्रा राख्ने पाटन क्षेत्रमा बनाइएको छ । समुन्द्री सतहबाट अन्दाजी २ हजार ६ सय मिटर उचाईमा रहेको हलेखाडा र छोटेमा प्लाष्टिकले निर्माण गरिएका पालमुनी क्रमशः ४८ र १ सय १९ जनालाई राखिएको छ । पछिल्लो समय भारतबाट आउनेको सङ्ख्या बढेसँगै क्वारेन्टाइन व्यवस्थापन गर्न गा¥हो भएको खत्याड गाउँपालिकाकी उपाध्यक्ष जयनन्दा रावलको भनाइ छ ।

इन्सेक सल्यान जिल्ला प्रतिनिधि मीना बुढाथोकीका अनुसार वनगाड कुपिण्डे नगरपालिकामा कोरोना सङ्क्रमित व्यक्तिले विद्यालयको पिँढीमा रात बिताएका छन् । नगरपालिकाका सङ्क्रमित २५ जनामध्ये जेठ १८ गते १२ जनालाई सल्यान अस्पताल लगिएको भए पनि बाँकी १३ जनाले रातभर खुल्ला चौर र विद्यालयको पिँढीमा रात बिताएको एक सङ्क्रमितको भनाइ छ ।

त्यसैगरी, प्रभाकर माविको क्वारेण्टाइनमा बसेकामध्ये १५ जना कोठाको अभावमा चौरमा त्रिपाल टाँगेर बसेका छन् । विद्यालयनजिकैको कृष्ण मन्दिरमा समेत भारत तथा अन्य जिल्लाबाट आएकाहरू बसिरहेको नगरपालिकाले जनाएको छ । जेठ १७ गते भेटिएका १३ जना सङ्क्रमितलाई रुकुम (पश्चिम)को चौरजहारी कोरोना विषेश अस्पतालले भर्ना लिन नमानेपछि जेठ १८ गते राति नगरपालिकास्थित वनगाड क्याम्पसमा छुट्टै राखिएको र जेठ १९ गते बिहान सुर्खेत अस्पताल पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिनु भयो । दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले राख्ने ठाउँको अभाव भएकोले भारतसहित विभिन्न स्थानबाट गाउँपालिकामा नआउन अनुरोध गर्नुभएको छ । गाउँपालिकाका विद्यालयमा बनाइएका क्वारेण्टाइन भरिएको र अर्काे व्यवस्थापन गर्न १५ दिन लाग्ने भएकाले जेठ २० गतेदेखि लागू हुने गरी १५ दिनसम्मका लागि घर नफर्किन अनुरोध गरेको जानकारी दिनु भयो ।

इन्सेक कालीकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्लका अनुसार सदरमुकाम मान्मस्थित होटल चन्द्रसूर्यमा बनाइएको क्वारेण्टाइनमा बसेका व्यक्तिहरूले होटलले अशुद्ध खाना दिएपछि झाडापखाला लागेको आरोप लगाएका छन् । नरहरिनाथ गाउँपालिकाले २ सय ७१ जनालाई भारतबाट उद्धार गरी जेठ १३ गतेदेखि होटल चन्द्रसूर्यमा क्वारेण्टाइन बनाएर राखेको छ । खान बस्नको लागि एक जना बराबर दैनिक १ हजार रुपियाँ गाउँपालिकाले दिने सम्झौता भए पनि होटेलले सम्झौताविपरीत सामाजिक दुरी कायम नगरी एउटा कोठामा ६ देखि ७ जनासम्म राखेको, एउटै शौचालय र भुइँमा सँगै सुताउने गरेको अध्यक्ष धीरबहादुर विष्टले आरोप लगाउनु भयो । होटेल सञ्चालक जनकबहादुर शाहीले भने गुणस्तरीय खाना दिएको र अन्य कुनै कारणले झाडापखाला भएको हुन सक्ने प्रतिक्रिया दिनु भयो ।

इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार सर्केगाड गाउँपालिकाले वैशाख १६ गते लकडाउनको कारण विभिन्न ठाउँमा रहेका नागरिक घर आउन नचाहेमा भाडामा बस्नेहरूलाई प्रतिव्यक्ति २ हजारका दरले राहत दिने निर्णय गरेको छ । सरकारी जागिरेबाहेककालाई यस्तो सुविधा दिने निर्णय गरिए पनि यसको दुरुपयोग गरिएको स्थानीय याङजोर कार्कीको आरोप छ । उहाँका अनुसार करिब १० जना सरकारी जागिरेका परिवार र विदेशी संस्थाले खर्च ब्यहोरेका बालबालिकाले राहत पाएका छन् । सुरुमा २ हजार दिने निर्णय गरे पनि जिल्ला प्रवेश गरेका सबैले आफूले भत्ता पाउनुपर्ने भन्दै असहमति जनाएपछि सबैलाई १ हजार ५ सय दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाले जानकारी दिनु भयो ।

इन्सेक जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार समयमा क्वारेण्टाइन नबनाउँदा जेठ १८ गते राति जुम्ला आएका तातोपानीका २३, चन्दननाथका १३ र गुठीचौरका पाँच जना गाडीमै बास बसेको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताउनु भयो । भारत तथा अन्य जिल्लाबाट आउनेहरूले सुर्खेत वा कालीकोट आएपछि मात्र प्रशासनलाई जानकारी गराउने भएकाले समयमै क्वारेण्टाइनको व्यवस्थापन गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनु भयो । यहाँका सार्वजनिक भौतिक संरचनामा क्वारेन्ण्टाइन बनाउन खोज्दा स्थानीयले विरोध गर्ने र अदालतमा रिट दायर गर्नेजस्ता क्रियाकलापले समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।

इन्सेक दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार खान बस्नको असुविधा भएको भन्दै दैलेखका विभिन्न स्थानमा रहेका क्वारेण्टाइनमा बसेकाहरूले विरोध गरेका छन् । भैरबी गाउँपालिकास्थित देवी आधारभूत विद्यालयमा रहेका ५६ जनाले जेठ १८ गते साँझ नाराबाजी गर्दै ३ किलोमिटरको यात्रा गरेका थिए । गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले खानेपानी र खानाको गुणस्तर सुधार्ने प्रतिबद्धता गरेपछि विवाद सुल्झिएको छ ।

यसैगरी, नारायण नगरपालिकास्थित नारायण क्याम्पस क्वारेण्टाइनमा पीसीआर पोजेटिभ देखिएका समेतलाई एकै ठाउँमा राखिएको भन्दै जेठ १९ गते क्वारेण्टाइनमा बसेकाले विरोध प्रदर्शन गरेका छन् । विरोधमा क्वारेण्टाइन बाहिर निस्किएका ४३ जनालाई सशस्त्र प्रहरीको टोलीले सम्झाइबुझाइ गरेर क्वारेण्टाइनमा फर्र्काएको भुपेन्द्र बोगटीले बताउनु भयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पीसीआर पोजेटिभ देखिएका भनी ३८ जनाको सङ्ख्या मात्र पठाएको कारण छुट्याउन नसकिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड इञ्चार्ज थीरप्रसाद रेग्मीले जानकारी दिनु भयो ।

महाबु गाउँपालिका–१ मष्टा नेरा प्रावि दवाडा क्वारेण्टाइनमा रहेका नागरिक र स्थानीयबीचको विवादलाई लिएर सुरक्षार्थ खटिएको नेपाली सेनाको इन्द्रदल गुल्मको टोलीले सोही वडाका ४५ वर्षीया गोमा ढकाल, ४३ वर्षीय मणिराम जैसी र ३६ वर्षीय रमेश रोकायलाई कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । वडा सदस्यसमेत रहेकी गोमा ढकाललगायत तीनै जनालाई क्वारेण्टाइनबाट गाउँपालिका कार्यालय रहेको ठाउँ गैडाबाज पुगेको बेला मरणासन्न हुने गरी कुटपिट गरेको ढकालले बताउनु भयो । कुटपिटबाट घाइते भएकाहरूको उपचार र क्वारेण्टाइनमा फिर्ता पठाउनेमा पनि कुनै चासो नदेखाएको पीडितहरूको गुनासो छ । नेपाली सेनाको इन्द्रदल गुल्म दैलेखका इञ्चार्ज मेजर गणेशराज पन्थले घटनाको अनुसन्धान सुरु गरेको बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश

इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमल निरञ्जन भाटका अनुसार महाकाली अस्पतालमा २० शैयाको आइसोलेशन बेड तयार गरी जेठ १९ गतेबाट कोरोना भाइरस सङ्क्रमितको उपचार सुरु गरेको अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताउनु भयो । महाकाली अस्पतालको आइसोलेशनमा राखिएका शुक्लाफाँटा नगरपालिकाका ११ महिनाका बालकमा जेठ १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि पहिलो पटक कोरोना सङ्क्रमितको उपचार सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष जोशीले बताउनु भयो । अस्पतालले कोरोना सङ्क्रमित बिरामीहरूको उपचारका लागि तीन ओटा सिफ्टमा २१ जनाको स्वास्थ्यकर्मीहरूको टोली परिचालन गरेको र ५० शैयाको कोरोना अस्पताल पनि निर्माणको अन्तिम चरणमा रहेको जोशीको भनाइ छ । यसअघि कोरोना पोजेटिभ देखिएका कञ्चनपुरमा एक पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो ।

इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्र सिंह कार्कीका अनुसार लकडाउन जारी गरिएको हप्ता दिन नबित्दै स्थानीय तहले मापदण्ड पुरा नगरेरै स्थानीयहरूलाई राहत वितरण गरेको भए पनि लकडाउन सुरु भएको लामो समय भएकोले आफूहरूलाई उक्त राहतले हप्ता दिन पनि गुजारा नचलेको विपन्न गरिब परिवारहरूले गुनासो गर्दै आएका छन् । लकडाउन सुरु भएको दुई हप्ता घरमै बसेको भए पनि लकडाउनको समय थपिँदै गएपछि आफूलाई बिहान बेलुकीको छाक टार्न समस्या भएको महाकाली नगरपालिका–४ का रामजती बोहराले गुनासो गर्नु भयो । लकडाउनका कारण छाक टार्न समस्या भएपछि महाकालीकै बालुवा निकालेर विक्री गरी आएको रकमले गुजारा चलाउँदै आएको महाकाली नगरपालिका–४ का बिसन बोहाराले बताउनु भयो । लकडाउनु सुरु भएलगत्तै स्थानीय तहले २५ केजी चामल राहतस्वरूप वितरण गरेको भए पनि हाल कुनै प्रकारको राहत पाउन नसकेको उहाँले बताउनु भयो । महाकाली नगरपालिका–१ का ६० वर्षीया द्रोपती धामीले पनि महाकाली नदीमा गएर एक÷एक ‘कठ्ठा’ बालुवाको भारी थुपार्दै बालुवा विक्री गरेर आएको रकमबाट बिहान बेलुकीको छाक टार्दै आएको बताउनु भयो ।

गत जेठ ८ गते दार्चुलाको धार्चुला नाका, बैतडीको झुलाघाट नाका, कञ्चनपुरको गडडाचौकी नाका, कैलालीको गौरीफण्टा नाका र महाकाली नदी तरेर आएका १ सय २९ पुरुष र दुई महिला गरी १ सय ३१ जनालाई मार्मा गाउँपालिका–७ स्थित क्वारेण्टाइनमा राखिएको भए पनि पीसीआर परीक्षणका लागि भिटिएम किट र आरडीटी परीक्षणका लागि किटको अभावले स्वास्थ्य परीक्षण गर्न नसकिएको कोभिड–१९ का जिल्ला फोकल पर्सन जगदीशप्रसाद पाण्डेले बताउनु भयो । आरडीटी र भिटिएम अभाव भएकोले  प्रदेश सरकारसँग समन्वय भइरहेको उहाँले जानकारी दिनु भयो । जिल्ला प्रशासन कार्यालय, दार्चलाका अनुसार जिल्लाभरि १ हजार ५ सय ५ जना क्वारेन्टाइनमा रहेको जनाइएको भए पनि आरडीटी गर्न २ हजार किट पठाएको भए पनि भिटिएमको लागि २ सय किट पठाउँदा परीक्षण गर्न समस्या भएको स्वास्थ्य कार्यालय, दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले बताउनु भयो । भारतबाट आएका सबैको भिटिएम गर्ने निर्देशन आएको भए पनि थोरै परिणाम मात्रै किट पठाइएकोले जिल्लाका नौ ओटै स्थानीय तहमा कसरी परीक्षण गर्ने भन्ने समस्या रहेको कार्कीको भनाइ छ ।

इन्सेक बैतडी जिल्ला प्रतिनिधि नरी बडुका अुनसार भारतलगायत कोरोना प्रभावित जिल्लाबाट बैतडीबासी दिनहुँ आउन थालेपछि क्वारेण्टाइन व्यवस्थापन गर्न र स्वास्थ्य परीक्षण गर्न समस्या भएको स्वास्थ्य कार्यालय, बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताउनु भयो । भारतबाट फर्किएका ४ हजार नागरिक क्वारेण्टाइनमा रहेका भए पनि कोरोना परीक्षणका लागि ८ सय किट मात्रै रहेकाले क्वारेण्टाइन अवधि पुरा भएका व्यक्तिहरूको समेत स्वास्थ्य चेकजाँच गर्न समस्या भएको जोशीको भनाइ छ । क्वारेण्टाइनमा बसेकाहरूको आरडीटी मात्रै नभएर पीसीआरसमेत परीक्षण गर्नुपर्ने भए पनि किट अभावले समस्या उत्पन्न भएको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताउनु भयो ।

इन्सेक डोटी जिल्ला प्रतिनिधि बासुदेव जोशीका अनुसार दिपायल सिलगढी नगरपालिका–८ लडागडामा रहेको क्वारेन्टाइनमा क्षमताभन्दा बढी व्यक्तिहरू रहेकोले उपयुक्त संरचनाको व्यवस्थापन गर्नुपर्ने र सुरक्षा प्रबन्धका लागि थप सुरक्षाकर्मी पठाउनुपर्ने माग गर्दै नगरपालिका, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई जेठ १९ गते ध्यानकर्षण पत्र बुझाइएको वडाअध्यक्ष थामबहादुर साउँदले बताउनु भयो ।


अनलाइन डेस्क