कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ३० गते)
पीसीआर परीक्षणबाट वैशाख ३० गते थप ५७ जनामा कोरोना पुष्टी भएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नयाँ सङ्क्रमितमा कपिलवस्तु जिल्लाका आठ जना, रुपन्देही जिल्लाका नौ जना, पर्सा जिल्लाका ३९ जना तथा बारा जिल्लाका एक जना रहेका छन् । वजैशाख २९ गते कोरोना पोजेटिभ देखिएकामा कपिलवस्तुका एक जना स्वास्थ्यकर्मी र पर्साका दुई जना पत्रकार पनि रहेका छन् । वैशाख २९ गते नै बारा र पर्साका जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा जारी गरी लकडाउनलाई कडाइ गर्ने निर्णय गरेका छन् ।
उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको वैशाख ३० गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनु भएको छ । सङ्क्रमित मध्ये १ सय ५८ जना पुरुष र ३३ जना महिला रहेका छन् । ३४ जना उपचारपछि घर फर्किएका छन् ।
गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै इपास खारेज गरेको छ । गृह मन्त्रालयले सबै जिल्लालाई परिपत्र गर्दै जेठ १ गतेबाट लागू हुने गरी सबै पास खारेज गर्न निर्देशन दिएको हो । पास नभई सवारी आवागमन गरे अर्को जिल्ला पुग्नु अगावै रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
प्रदेश १
प्रदेश १ मा वैशाख ३० गतेसम्म कोरोना भाइरसका शङ्कास्पद २ हजार ३ सय ४९ जनाको स्वाब सङ्कलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । ६ सय ८२ जना महिला र १ हजार ६ सय ६७ जना पुरुष गरी २ हजार ३ सय ४९ जनाको स्वाब सङ्कलन गरिएको हो । प्रदेशमा वैशाख ३० गते मात्रै ९० जनाको स्वाब सङ्कलन गरिएको छ । स्वाब सङ्कलन गरिएका मध्ये ६ सय ७४ जना महिला र १ हजार ६ सय ३१ जना पुरुष गरी २ हजार ३ सय ५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । स्वाब सङ्कलन गरिएका मध्ये नौ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशमा ८ हजार ३ सय २० जनाको आरडीटी गरिएको छ । आरडिटी गरिएका मध्ये २५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा वैशाख ३० गते मात्रै २ सय ४७ जनाको आरडीटी गरिएको छ । आरडीटी गरिएका मध्ये १ हजार ५ सय ८३ जना महिला र ६ हजार ७ सय १२ जना पुरुष गरी ८ हजार २ सय ९५ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेशमा ५ हजार ७ सय ९४ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । वैशाख ३० गते ५८ बेडको क्वारेन्टाइन हटाइएको छ । क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ७ सय ४२ जना रहेको छ । प्रदेशमा होमक्वारेन्टाइनमा बस्नेको सङ्ख्या ८ हजार १ सय ४४ जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
सेभेन समिट ट्रेक एण्ड ट्राभल्सका अध्यक्ष मिङ्मा शेर्पाले खाँदबारी नगरपालिकाका कोरोना भाइरस (कोभिड– १९) माहामारीका कारण भएको लकडाउनबाट समस्या परेका अति विपन्न परिवारलाई ३ हजार किलो चामल उपलब्ध गराएको नगर प्रमुख मुरारीप्रसाद खतिवडाले बताउनु भयो । सेभेन समिट ट्रेक एण्ड ट्राभल्सका अध्यक्ष शेर्पाले नगरपालिका मार्फत राहत उपलब्ध गराएको नेपाल शेर्पा संघ, सङ्खुवासभाका कार्यवाहक अध्यक्ष वाङ्छे शेर्पाले बताउनु भयो ।
प्रदेश २
प्रदेश २ मा वैशाख ३० गते पर्सा जिल्लामा ३९ जना र बारा जिल्लामा एक जना गरी ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय टेकु, काठमाडौँले जनाएको छ । वैशाख २६ र २७ गते बीरगञ्ज महानगरपालिका तथा पर्सा जिल्लाका विभिन्न स्थानमा सङ्कलन गरिएको स्वाबलाई वैशाख २८ गते बिहान नेपाली सेनाको सहयोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पु¥याइएको थियो । उक्त स्वाबको रिपोर्ट आउने क्रममा पर्सा जिल्लामा ३९ जना र बारा जिल्लामा एक जना गरी ४० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरले जानकारी दिनु भयो ।
वैशाख ३० गते प्राप्त रिपोर्ट अनुसार पर्सा जिल्लास्थित बीरगञ्ज महानगरपालिकाका २५ जना व्यक्तिहरूमा कोरोना भाइरस पुष्टि भएको छ भने छिपरमाई गाउँपालिकाको नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये गत वैशाख २४ गते १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रभावित क्षेत्रमा सम्भावित व्यक्तिहरूको कन्ट्रयाक्ट ट्रेसिङ गरिएका २१ जना व्यक्तिहरूको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनु भयो ।
पर्साको बीरगञ्ज महानगरपालिका अन्तर्गत वैशाख ३० गते पोजेटिभ रिपोर्ट देखिएका व्यक्तिहरू क्रमश २, ३, ४, १६, १७ र १८ नं. वडाका रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँका अनुसार ४० जना कोरोना सङ्क्रमित सबै नै पुरुषहरू रहेका छन् । उमेरगत हिसाबले प्राप्त विवरण अनुसार १२ वर्षदेखि ५३ वर्ष उमेर समूहका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उमेरगत रुपमा ४० वर्ष उमेरसमूहका पाँच जना र अन्य अधिकाँश युवा उमेर समूहका व्यक्तिहरू रहेका छन् । त्यसैगरी बारा जिल्ला बिश्रामपुर गाउँपालिकाका १४ वर्षीय बालकमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका सचिव घिमिरेका अनुसार ती बालकलाई पर्साको बीरगञ्ज महानगरपालिका–२ छपकैयामा ट्रेसिङ गरिएको थियो ।
प्रदेश २ मा वैशाख ३० गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ३ हजार ९ सय ३६ जनाको स्वाब सङ्कलन गरिएको छ । जसमा २ हजार ६ सय ५६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ७२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव घिमिरेले जानकारी दिनु भयो । १ हजार २ सय ८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । त्यसैगरी, वैशाख ३० गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार ४ सय ६५ जनाको गरिएकोमा ५ हजार ४ सय ५५ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १० जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेशमा विभिन्न जिल्लामा निर्माण गरिएको ४ हजार १ सय ५८ बेड क्षमताको १ सय ७९ ओटा क्वारेन्टाइनमा १ हजार ४ सय ६८ जना व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव घिमिरेले जानकारी दिनु भयो । उहाँका अनुसार प्रदेश भरिमा हालसम्म ४ हजार ५ सय २२ जना व्यक्तिहरू होमक्वारेन्टाइनमा रहेका छन् भने ३ सय २ बेड क्षमताको आइसोलेसनमा ४० जना उपचारार्थ छन् ।
कोरोना भाइरस (कोभिड–१९) रोगथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय, बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले वैशाख ३० गते स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ अनुसार निषेधाज्ञा जारी गरिएको बताउनु भयो । रोगको प्रकोप बढ्दै गएकाले रोग नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञा उल्लङ्घन भएमा कडा कारबाही हुने जानकारी दिनु भयो । अत्यावश्यक काम बाहेक कुनै पनि नागरिक घर बाहिर ननिस्कन अनुरोध गरिएको छ ।
पर्सा जिल्लामा पत्रकार सहित ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले वैशाख ३० गते राति ८ बजेबाट जेठ ५ गते राति १२ बजेसम्म लागु हुने गरी जिल्लामा निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा कार्यान्वयनका लागि सेना समेत परिचालन गर्ने निर्णय गरेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरूबीचको छलफलपछि निषेधाज्ञा जारी भएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीले जानकारी दिनु भयो । अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन गर्न नपाइने र पर्साबासीलाई घरबाट बाहिर ननिस्कन समेत उहाँले आग्रह गर्नु भएको छ ।
बागमती प्रदेश
कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमितको आशङ्कामा आरडीटी प्रविधिबाट यस प्रदेशमा वैशाख ३० गतेसम्म ९ हजार ३ सय ६३ जनामा परीक्षण गरिएको छ । यसैगरी २ हजार ५ सय ५२ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशमा वैशाख ३० गतेसम्म क्वारेण्टाइनको सङ्ख्या ४ हजार ४ सय ६१ रहेकोमा २ सय तीन जना बसेका छन् । यस प्रदेशमा ३० जना बिरामी आइसोलेशनमा रहेका छन् । वैशाख ३० गतेसम्म ९ सय ७५ शैयाको आइसोलेशन तयारी अवस्थामा राखिएको छ ।
लडकडाउनको समयमा रामेछापमा सुरक्षा सतर्कता कमजोर देखिएको छ । जिल्ला भित्रने सिमा कडा गरिएको भए पनि बजार केन्द्रमा सामाजिक दुरी कायम हुन नसक्दा संक्रमण फैलने खतरा बढेको छ ।
जिल्लाको सदरमुकम मन्थली बजार लगायतका बजार क्षेत्रहरुमा सवारी तथा पैदलयत्रीहरुको आवागमन बढेको छ । कान्ति लोकपथबाट ललितपुरबाट मकवानपुरतर्फ र मकवानपुरबाट ललितपुरतर्र्पफ आहोरदोहोर गर्न कडा गरिएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा वैशाख ३० गतेसम्म कुल ७ सय ३४ जनाको स्वाब परीक्षण गरिएको छ भने ७ सय २७ जनाको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । पाँच जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशमा वैशाख ३० गतेसम्म कुल ६ हजार ५ सय २६ जनाको ¥यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।
कास्की जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले अनुगमनका क्रममा पोखराका बैङ्क तथा वित्तीय संस्थाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ । अनुगनपछि जिल्ला प्रशासन कार्यलय कास्कीले सूचना जारी गरी अब उप्रान्त अनिवार्यरूपमा मापदण्डको पालना नगर्ने सेवा वा व्यवसाय बन्द गराई सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही गर्ने जनाएको छ ।
तनहुँको आवुँखैरेनी गाउँपालिका–४ को मुग्लिङ हुँदै तनहुँसहित गण्डकी प्रदेशका सबै जिल्ला भित्रिने सवारी साधनलाई वैशाख ३० गते साँझबाट नै थप कडाई गर्न निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताउनु भएको छ ।
प्रदेश ५
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश ५ मा हालसम्म ७ हजार २ सय २१ जनाको आरडीटी परीक्षण गरिएको छ । ५ हजार ४ सय ४२ जना क्वारेण्टाइनमा रहेका छन् । ९८ जना आइसोलेशनमा रहेका छन् । जसमध्ये २८ जना शङ्कास्पद र ७० जनामा कोरोना भाइरस पुष्टी भएको छ । वैशाख ३० गते कपिलवस्तुमा आठ जना र रुपन्देहीमा नौ जनामा कोरोना भाइरस पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित लुम्बिनी बौद्ध विश्व विद्यालयको क्वारेण्टाइनमा रहेका नौ जना पुरुषमा वैशाख ३० गते कोरोनाको सङ्क्रमण पुष्टी भएको छ । सो सँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १८ पुगेको छ । वैशाख ३० गते कोरोना पोजेटिभ देखिएका सबै जना भारतको मुम्बाइबाट वैशाख २४ गते लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।
बर्दियाको राजापुर नगरपालिकाले वडा नं ५ खल्लाजयपुरलाई पूर्ण निषेधित क्षेत्र घोषणा गरेको छ । राजापुर नगरपालिका–५ खल्लाजयपुरकी ११ वर्षीया बालिकामा कोरोना सङ्क्रमण पुष्टी भएसँगै गाउँलाई पूर्ण रूपमा लक गरिएको छ । बर्दियाको राजापुर नगरपालिका–५ की सङ्क्रमित बालिका वैशाख ३० गते ४ बजेसम्म पनि क्वारेण्टाइनमा रहेकी छिन् ।
कपिलवस्तुमा वैशाख ३० गते आठ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको छ । योसँगै कपिलवस्तुमा सङ्क्रमितको सङ्ख्या २९ पुगेको हो । प्यूठान नपा– २ का दुई जनामा वैशाख २७ गते आरडीटी परीक्षणमा कोरना देखिएपनि पीसीआर परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाही, सामाजिक विकासमन्त्री दल रावल, प्रदेश सरकारका प्रमुख सचिव टेकनारायण पाण्डेलगायत वैशाख २९ गते कालीकोट पुगेको टोलीले जिल्ला सदरमुकाम मान्ममा रहेको एकीकृत भवनमा ५० बेडको कोभिड अस्पताल निर्माण कार्यलाई तिब्रता दिने निर्णय गरेको छ ।
हुम्ला जिल्लाका तीन ओटा गाउँपालिकामा कोरोना सङ्क्रमण परीक्षण किटको अभाव भएको छ । विभिन्न ठाउँबाट आएका सैयौँ हुम्ला बासीहरू क्वारेन्टाइनमा रहेका र क्वारेन्टाइन अवधि पनि सकिन लागेकाले किट अभावका कारण अन्यौल सृजना भएको सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक दानबहादुर बोहराले बताउनु भयो ।
रुकुम (पश्चिम) जिल्लाको मुसीकोट नगरपालिका–१ ले दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने र भारतबाट फर्किएका राहत पाउनबाट छुटेका ३ सय १५ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको वडाअध्यक्ष वीरबल केसीले बताउनु भयो ।
लकडाउनका समयमा सल्यान जिल्लाका स्थानीय तहले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित र बालपोषण भत्ता घरमै पुगेर १५ हजार ५ सय ४० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् ।
वैशाख २८ देखि ३० गतेसम्म सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका ३ सय १८ जनालाई घर पठाइएको र ३० जना बाँकी रहेको सुर्खेत नगर प्रमुख हस्तबहादुर पुनले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश
भारतको झुलाघाटबाट वैशाख १८ गते आएका बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकाका एक जनामा दुई पटक आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ । भारतमा ४५ दिन क्वारेण्टाइनमा बसेका २ सय ४२ जनामध्ये वैशाख २८ गते ७५ जना र २९ गते १ सय ६७ जनालाई भारतीय पक्षसित समन्वय गरी स्वदेश फिर्ता ल्याइएको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दार्चुला जिल्लाको मार्मा गाउँ कार्यपालिकामा अध्यक्ष जमनसिंह धामीको अध्यक्षतामा वैशाख २७ गते बसेको बैठकले ६ ओटै वडामा कोभिड–१९ को बेला अहोरात्र प्रचारप्रसारमा खटिएका स्वास्थ्य स्वयम्सेविकाहरूलाई ५ हजार रुपियाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।
अछाम अस्पतालमा रहेर कोरोना सङ्क्रमणको उपचार र व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले अछाम र बाजुरा जिल्ला रहने गरी ६ जना विशेषज्ञ डाक्टरहरू डाक्टर शरचन्द्र बराल, डाक्टर मोहन नाथ, डाक्टर धर्मराज रेग्मी, डाक्टर मिलन सिलवाल, डाक्टर क्षितिज सापकोटा र विष्णु खतिवडालाई पठाएकोमा एक महिनापछि वैशाख ३० गते काठमाडाँै फर्किएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले लामो समयदेखि भारतीय सीमा नाकामा अलपत्र र असुरक्षित अवस्थामा रहेका हजारौँ नेपाली नागरिकहरूलाई उद्धार गरी स्वदेश फर्काउन वैशाख ३० गते विज्ञप्ति जारी गरी सरकारलाई निर्देशन दिएको छ ।
अनाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका–१३ झरुवाराशी का २६ वर्षीय आशिष पुर्कुटीलाई भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २५ गते बलात्कार गरेको…
पहिरोले सडक बगाउँदा जनजीवन कष्टकर
भोजपुरको पाँचधारे-चखेवा सडक पहिरोले बगाएपछि सडक अवरूद्ध भएको छ । पाँचधारे-चखेवा सडक खण्डको रूमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो । टेम्केमैयुङ गाउँपालिका-९ रूमाथुम्की क्षेत्रको घुर्विसेमा क्षेत्रमा पहिरो…
झुटो सिफारिस दिएको आरोपमा जनप्रतिनिधि गिरफ्तार
मृतक व्यक्तिलाई जीवित र जीवित व्यक्तिलाई मृतक भनि सिफारिस दिएको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका-७ का वडाध्यक्ष सूर्यनारायण यादवलाई भदौ २६ गते गिरफ्तार गरेको छ । देवानगञ्ज गाउँपालिका-७ को वडा कार्यालयमा…
मौसम परिवर्तनका कारण अस्पतालमा बिरामीको चाप बढ्दै ! (फोटो फिचर)
मौसम परिवर्तनका कारण नेपालगञ्जस्थित भेरी अस्पतालमा बिरामीको चाप बढेको छ । मौसम परिवर्तनका कारण डेङ्गीका साथै भाइरल ज्वरो, टाइफाइड, झाडापखाला वान्ता, बेहोस हुने लगायतका बिरामी बढ्न थालेका हुन् । भेरी…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखिपुर नगरपालिका-४ का ३५ वर्षीय बब्लु यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ भदौ २६ गते उजुरी दिनुभएकाे छ । आरोपितले बालिकालाई ०८१…