कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २६ गते)
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा वैशाख २६ गते आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालगञ्जमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनु भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा १६ वर्षीय बालकमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
कोभिड–१९ को माहामारीको सन्दर्भमा स्वास्थ्य क्षेत्रको आपतकालीन प्रतिकार्य योजना २०७७ तयार भएर स्वीकृत भएको छ । यो प्रतिकार्य योजनाको मुख्य उद्देश्य माहामारीले आमनागरिकमा पार्न सक्ने असरलाई न्यूनीकरण गर्नु हो । कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरे पनि विशेष सावधानी अपनाएर सङ्घीय संसदको बजेट अधिवेशन सुरु भएको छ ।
प्रदेश १
प्रदेश १ सरकारले कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि ‘थ्री टी’ को अवधारणा अनुसार कोरोना नियन्त्रण अभियान सञ्चालन गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनु भयो । ‘थ्री टी’ अर्थात ‘ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट’ (खोजी, जाँच र परीक्षण) को अवधारणका साथ काम गरिरहेको मन्त्री घिमिरेको भनाइ छ । सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताको नेतृत्वमा ट्रेसिङ (खोजी) टिम, जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवको नेतृत्वमा टेस्टिङ (जाँच) टिम, कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्टेण्ड डा.सङ्गीता मिश्राको नेतृत्वमा ट्रिटमेन्ट (परीक्षण) गर्ने टिम गठन गरिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत आठ जना वैशाख २६ गते डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केबाट ल्याइएका आठ जनालाई अस्पतालले डिस्चार्ज गरेको हो । डिस्चार्ज हुनेमा सात जना नेपाली र एक जना भारतीय नागरिक छन् । कोरोना सङ्क्रमण पुष्टी भएपछि गत वैशाख ८ र ९ गते विराटनगर ल्याइएका १५ जनामा गरिएको स्वाब परीक्षणमा आठ जनामा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेण्ट डा. सङ्गीता मिश्राले बताउनु भयो । डिस्चार्ज हुने आठ जनामा दुई पटकसम्म गरिएको स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आएको उहाँले बताउनु भयो ।
भोजपुरको हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका, रामप्रसादराई गाउँपालिका, पौवादुङ्मा गाउँपालिका, साल्पासिलिछो गाउँपालिकाका स्वास्थ्य संस्थामा कोरोना जाँच उपकरण अभाव भएपछि स्वास्थ्यकर्मीहरू नै बढी जोखिममा रहेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।
इस्लाम धर्मावलम्बीहरूको जारी रमजान पर्वलाई लक्षित गर्दै इस्लामिक सङ्घ नेपालले मोरङका २ सय ७५ परिवारलाई अफ्तारका लागि आवश्यक पर्ने खाद्यान्न वितरण सुरु गरेको छ । विराटनगर महानगरपालिका–१५ हडताली हाट क्षेत्रका १ सय मुस्लिम परिवारलाई खाद्यान्न वितरण गर्दै सङ्घले कार्यक्रम सुरु गरेको हो ।
प्रदेश २
प्रदेश २ मा वैशाख २६ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ३ हजार १ सय ७३ जनाको स्वाब सङ्कलन गरिएको छ । जसमा २ हजार ३ सय ९३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो । ७ सय ५० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । त्यसैगरी, वैशाख २६ गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार ४ सय १६ जनाको गरिएकोमा ५ हजार ४ सय ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ कोशी व्यारेजस्थित कोशी विद्यालयमा आश्रय लिएर बसेका ९१ जना भारतीय मजदुरहरू मध्ये १९ जना वैशाख २५ गतेदेखि बेपत्ता भएका छन् । दुईदेखि तीन साताअघि नेपालगञ्जलगायत विभिन्न भागबाट भारतको पश्चिम बङ्गालसहित बिहार राज्यस्थित घर फर्कन पैदल आएका उनीहरूलाई प्रदेश १ को सरकारले कोशी ब्यारेज पारी प्रवेश नदिएपछि खुला आकाशमुनी अलपत्र परेको अवस्थामा हनुमाननगर कङ्कालिनी नगरपालिकाले खान, बस्न व्यवस्था गरेको स्वास्थ्य सहसंयोजक सिअहेव रामदेव यादवले बताउनु भयो । आश्रय लिएर बसेका ९१ जना भारतीयमध्ये १९ जना आफ्नो जुत्ता, चप्पल र झोलासहित समान विद्यालयमै छाडेर वैशाख २५ गतेदेखि बेपत्ता भएका छन् । उनीहरू रातको समयमा कोशीमा रहेको डुङ्गामार्फत भारततर्फ भागेको स्थानीयको आशंका छ । १९ जना बेपत्ता भएसँगै इलाका प्रहरी कार्यालय भारदहमा कार्यरत सई सागिर राइनसहित पाँच प्रहरीलाई आन्तरिक कारण दर्शाउँदै जिल्ला फिर्ता बोलाइएको छ ।
स्थानीय तह तथा विभिन्न सङ्घ÷संस्थाहरूले वैशाख २६ गते सिरहा, सर्लाही, रौतहट, महोत्तरी, लगायतका जिल्लाका स्थानीय तहमा गरिब, विपन्न, एकल महिला, मजदुर परिवारहरूलाई राहत वितरणको कार्य जारी राखेका छन् ।
बागमती प्रदेश
नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या १ सय २ जना पुगेको छ । बागमती प्रदेशमा आरडीटी विधिबाट यस प्रदेशमा हालसम्म ९ हजार १ सय ५ जनामा कोरोना परीक्षण गरिएको छ । जसमध्ये २० जनामा एण्टीबडी पोजेटिभ रिपोर्ट आएको थियो । देशभर हालसम्म क्वारेण्टाइनमा रहेकाको सङ्ख्या १५ हजार ६ सय २४ जना रहेकोमा यो प्रदेशमा २ सय ३ जना रहेका छन् । देशभर १ सय ३५ जना आइसोलेशनमा रहेकोमा यो प्रदेशमा २९ जना रहेका छन् । यस प्रदेशमा वैशाख २६ गतेसम्म ९ सय ६९ शैयाको आइसोलेशन तयारी अवस्थामा राखिएको छ । वैशाख २६ गतेसम्म यस प्रदेशमा २ हजार ३ सय ६ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशको विभिन्न जिल्लामा आरडीटी विधिबाट परीक्षण गर्दै आइएकोमा किटको अभावमा सिन्धुली, मकवानपुर, काभ्रे तथा चितवन जिल्लामा किटको अभाव भएपछि परीक्षण कार्य रोकिएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा वैशाख २६ गतेसम्म ६ सय ९० जनाको स्वाब परीक्षण गरिएको छ भने ६ सय ८५ जनाको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । तीन जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । गण्डकी प्रदेशमा वैशाख २६ गतेसम्म ६ हजार ३ सय ७७ जनाको ¥यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।
प्रदेश ५
दाङको घोराही उपमहानगरपालिकाले लकडाउनलाई प्रभावकारी बनाउन र शङ्कास्पद व्यक्तिहरूको निगरानी गर्न १९ ओटै वडामा निगरानी समूह गठन गर्ने निर्णय गरेको छ । वैशाख २६ गते बसेको विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्लामा रहेका क्वारेण्टाइनमा वैशाख २५ गते १ सय ६५ जना रहेकोमा उक्त सङ्ख्या बढेर वैशाख २६ गते १ सय ९३ पुगेको छ । सिमामा सशस्त्र प्रहरीलाई अस्थाई पोष्ट स्थापना गरेर परिचालन गरिए पनि खुला सिमानाका कारण लुकिछिपी नेपाल प्रवेश गर्नेहरूको सङ्ख्या बढेकाले क्वारेण्टाइनमा रहनेको सङ्ख्या बढेको हो ।
कपिलवस्तुको मायादेवी गाउँपालिका–२ का १६ वर्षीय र २२ वर्षीय युवकलाई वैशाख २५ गते कोरोना देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको स्वाब परीक्षणबाट सङ्क्रमण पुष्टी भएपछि बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताउनु भएको छ । सङ्क्रमित दाजुभाइ वैशाख २३ गते भारतको मुम्बइबाट लुकिछिपी नेपाल आएका थिए । दुवै जना भारतबाट आएको स्थानीयले थाहा पाए लगत्तै स्थानीयको पहलमा उनीहरूलाई मायादेवी गाउँपालिका–१ पकडीस्थित छत्रपाली तीर्थदेवी माविको क्वारेण्टाइनमा राखिएको थियो ।
कर्णाली प्रदेश
डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–७ कस्तुरी निमाविमा रहेको क्वारेण्टाइनमा रहेका ३६ जनाको आरडीटी परीक्षण गर्दा एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । पोजेटिभ देखा परेका युवक नेपालगञ्जबाट आएर क्वारेण्टाइनमा बसेको पहाडा स्वास्थ्य इञ्चार्ज जगबर बुढाले बताउनु भयो ।
रुकुम (पश्चिम) जिल्लाको चौरजहारी नगरपालिकामा १५ शैयाको कोरोना अस्पतालको निर्माण कार्य सम्पन्न भएको छ । कोरोना भाइरस सङ्क्रमण भए/नभएको पत्ता लगाउन पीसीआर परीक्षणका लागि आवश्यक पर्ने भिटिएम किट र दु्रत परीक्षण (आरडीटी) किट अभाव भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–८ स्थित जनप्रभात मावि सेरावाडामा निर्माण गरिएको क्वारेण्टाइनमा इन्सेक प्रतिनिधिलगायत मानव अधिकारकर्मी, पत्रकारहरूको संयुक्त टोलीले वैशाख २६ गते अनुगमन गरेको छ ।
हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाको श्रीनगर स्वास्थ्य चौकीमा वैशाख २६ गतेदेखि लकडाउन अवधिभरि क्वारेण्टाइनमा बसेका र अन्य बिरामीहरूको लागि दुई जना निरन्तर खट्ने गरी रात्री सेवा सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिनु भयो । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाले जिल्ला बाहिरबाट आई क्वारेन्टाइनमा बसेका १ सय ६७ जनामध्ये आधाभन्दा बढी नागरिकलाई आरडीटी किटको अभावका कारण एक हप्ता मात्र क्वारेण्टाइन राखेर परीक्षण बिना घर पठाइएको छ ।
सुदूरपश्चिम प्रदेश
३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५ की ३४ वर्षीय महिलाको ६ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पुनः दुई पटकको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले बताउनु भएको छ ।
बैतडीको शैल्यशिखर नगरपालिकामा दरबन्दीका चिकित्सक विदामा बसेको र करार सेवाका चिकित्सकको म्याद सकिएको हुनाले विशेष कार्यदलले कोरोना सङ्क्रमणको समयमा चिकित्सक अभाव हुन नदिन विशेष पहल गरिदिन जिल्ला सङ्कट व्यवस्थापन केन्द्र दार्चुलालाई आग्रह गर्ने निर्णय गरिएको समितिका सदस्य जगदीश भट्टले जानकारी दिनु भयो । र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) किटको अभावमा अछाम जिल्लामा कोरोना सङ्क्रमण परीक्षण रोकिएको छ । बझाङ जिल्लास्थित क्वारेण्टाइन स्थल र त्यहाँ रहेका मानिसहरूको अवस्थाबारे वैशाख २५ गते मानव अधिकार तथा सञ्चारर्मीद्वारा अनुगमन गरेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लाहान नपा-१० स्थायी घर भई चौतारा साँगाचोकगढी नपा-५ स्थित स्वावलम्बन लघुवित्त कार्यालय चौताराका शाखा प्रमुख ४६ वर्षीय दिपक भूजेललाई असोज…
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…