कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २ गते)
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ पुगेको छ । गत २४ घण्टामा नयाँ ५ सय ८४ जनाको परीक्षण भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख २ गते गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको पेप्सीकोलास्थित सनसिटी अपार्टमेण्टमा बस्ने ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलामा दोस्रोपटकको जाँचमा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ पुगेको जानकारी दिनुभयो । संक्रमितहरू चैत ५ गते बेलायतबाट आएका थिए ।
मन्त्रालयका अनुसार वैशाख २ गतेसम्मका १६ जना सङ्क्रमितमध्ये एकजना (पहिलो सङ्क्रमित) उपचारपछि निको भएर घर फर्केका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ हजार ८ सय १९ ओटा र गत २४ घण्टामा ३ सय ८७ ओटा परीक्षण भएका छन् । प्रयोगशालाभन्दा बाहिर १ हजार ४ सय ८० ओटा परीक्षण भएका छन् । आरडीटीबाट गरिने कोरोना परीक्षण ६ हजार ६ सय ७ ओटा र्यापीड डाइग्नोस्टिक किटको प्रयोग विधिबाट गरिएको छ । यसैबीच निःशुल्क फोन गरेर सेवा लिन सकिने मन्त्रालयका नम्बर ११३३ र १११५ मा गत २४ घण्टामा २ हजार ६ सय ८८ जनाले कल गरेर जानकारी लिएका छन् । मोबाइल एप हाम्रो स्वास्थ्यमा ४४ हजार भन्दा बढीले डाउनलोड गरेको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।
मन्त्रिपरिषद्को वैशाख २ गतेको बैठकले लकडाउनको समय वैशाख १५ गतेसम्मको लागि लम्ब्याउने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिनु भयो । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या धमाधम देखिन थालेपछि अन्य विकल्प नभएपछि सरकारले लकडाउनलाई नै निरन्तरता दिएको हो ।
प्रदेशगत विवरण
प्रदेश १ मा वैशाख २ गतेसम्म ४६ जना महिला र २ सय ५ जना पुरुषसहित २ सय ५१ जनाको स्वाब परीक्षण गरिएको छ । स्वाब परीक्षण गरिएका मध्ये ४० जना महिला र १ सय ९९ पुरुष गरी २ सय ३९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १२ जनाको रिपोर्ट आउन बाँकी छ । वैशाख २ गतेसम्म प्रदेश १ मा ५२ जना महिला र ४ सय ८६ जना पुरुषसहित ५ सय ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बसेका एक जना महिला र ५२ जना पुरुष गरी ५३ जना डिस्चार्ज भएका छन् । होम क्वारेन्टाइनमा ३ हजार ६ सय ८० जना बसेका छन् । प्रदेशभरि ६ सय २२ जना महिला र ३ हजार ५८ जना पुरुष होमक्वारेन्टाइनमा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेशमा वैशाख २ गतेसम्म ५६ जना महिला र ३ सय ४६ जना पुरुष गरी ४ सय २ जनाको र्यापीड डायग्नोष्टिक टेष्ट (आरडीटी) गरिएको छ । ४ सय २ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा वैशाख २ गतेसम्म ६ सय ६४ थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) वितरण गरिएको छ ।
प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन), प्रदेश समितिले कोरोना परीक्षणका लागि बुथ निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । १ लाख १ हजार ७५ रुपियाँको लगानीमा कोशी अस्पताल विराटनगरमा निर्माण गरिएको बुथ सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई वैशाख २ गते हस्तान्तरण गरिएको हो । एनसेल विराटनगर शाखाले प्रदेश १ का कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि पुग्ने गरी वैशाख २ गते सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई निःशुल्क सिम कार्ड उपलब्ध गराएको छ ।
झापास्थित काँकरभिट्टाको होटलहरूमा बेखर्ची भएका ६४ जना नेपालीलाई वैशाख २ गते घर पठाइएको छ । दुईवटा बसमार्फत उनीहरूलाई घर पठाइएको हो । ३४ जना बोकेको एउटा बस काठमाडौं र ३६ जना बोकेको अर्को बस धनगढीका लागि छुटेको छ । प्रदेश १ अन्तर्गतका जिल्लाहरूमा कोरोना भाइरस राहत कोषमा रकम जम्मा हुने क्रम जारी रहनुका साथै राहत वितरण भइरहेको छ ।
प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा वैशाख २ गते सम्पन्न प्रतिपक्षी दलका नेताहरू सहितको निर्देशक समितिको बैठकपछि कोरोना महामारी नियन्त्रणका लागि सीमामा सर्तकता र स्वास्थ्य परीक्षणमा तदारुकता देखाउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएको छ । मुख्यमन्त्री राउतले खुला सीमानाका कारण प्रदेशमा कोरोनाको त्रास बढेको हुँदा सीमा नाकामा थप कडाई गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिनु भयो ।
बैठकमा मुख्यमन्त्री राउतका अतिरिक्त मन्त्रीहरू, प्रतिपक्षी नेपाली कांग्रेसका नेता रामसरोज यादव, नेकपाका प्रदेश सभा सदस्य शत्रुधन महतो, प्रमुख सचिवलगायत सबै मन्त्रालयका सचिवहरू, स्वास्थ्य सल्लाहकार समूहका पदाधिकारीहरू, चार ओटै सुरक्षा निकायका प्रदेश प्रमुखहरू सहितको उपस्थिति रहेको थियो ।
पर्सा जिल्ला पकाहा मैनपुर गाउँपालिका–३ मैनपुर टोलवासीले गाउँपालिकाद्वारा वितरण गर्न लगिएको राहत लिन अस्वीकार गरेपछि राहत विरणको लागि गएको टोली फिर्ता भएको वाडध्यक्ष मदन साह कानुले बताउनु भयो । गाउँपालिकाले लकडाउमा प्रभावित परिवारको लागि प्रति परिवार १० किलो चमाल, आधा किलो दाल, १ किलो प्याज, २ किलो आलु, आधा किलो चना, आधा किलो सोयाबीन र आधा लिटर खाने तेल वितरण गर्न लगेको थिए । तर गाउँवासीले सरकारी मापदण्ड अनुसार नभएको भन्दै राहत लिन अस्वीकार गरेका हुन् ।
सर्लाही जिल्ला ईश्वरपुर नगरपालिकामा राहतको विषयलाई वैशाख २ गते दिउँसो राहतको विषयमा विवाद हुँदा ईश्वरपुर नगरपालिका–१५ गौरिशंकर, सुकनाहा बजारका स्थानीय बासिन्दाहरूको एक समूह तथा वडाध्यक्ष सहित जनप्रतिनिधिहरूबीच झडप भयो । प्रहरीले भिड नियन्त्रण गर्नको लागि तीन सेल आसुग्याँस प्रहार गरेको थियो । वडा कार्यालयमा १ सय ६० जनाको समूहले आफूहरूको नाम राहत पाउने लिष्टमा नभएको भन्दै वडाध्यक्ष सहित जनप्रतिनिधि र कर्मचारीहरूमाथि हातपात सहित विवाद गरेको ईश्वरपुर इलाकाका प्रहरीले जनाएको छ । प्रहरीले सम्झाई बुझाई गर्न खोज्दा सुरक्षाकर्मी माथि नै ढुङ्गामुढा गर्न थालेपछि भिड तितर बितर पार्नका लागि तीन सेल आसुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिनु भएको छ ।
प्रदेश २ अन्तर्गतका जिल्लाहरूमा कोरोना भाइरस राहत कोषमा रकम जम्मा हुने क्रम जारी रहेको छ । राहत वितरणका क्रममा कतिपय जिल्ला झडप पनि भएका छन् । प्रदेश २ का जिल्लाहरूमा ¥यापिड डाइग्नोस्टिक (द्रुत परीक्षण) किटबाट कोरोना भाइरसको परीक्षण भइरहेको छ । जिल्लाहरूमा क्यारेन्टाइनमा बस्ने र तोकिएको अवधि पूरा गरी घर फर्किने क्रम पनि जारी रहेको छ ।
प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
काभ्रेमा गरिएको र्यापीड टेष्टमा दुई जनालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा गरिएको र्यापीड टेष्टमा कोरोना भाइरसको सङ्क्रमित भेटिएका हो । बेथानचोक गाउँपालिका–५ का २८ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण पाइएको बेथानचोक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम तिमल्सिनाले बताउनु भयो । तिमल्सिनाका अनुसार उनी भारतबाट चैत ९ गते घर फर्किएका थिए ।
मण्डनदेउपुर नगरपालिका–३ नयाँगाउँका २१ वर्षीय पुरुषलाई पनि कोरोना भाइरसको सङ्क्रमण भेटिएको वडा अध्यक्ष दिलबहादुर तामाङले बताउनुभयो । उनी दुबईबाट घर फर्किएका थिए । मण्डनदेउपुरमा वैशाख २ गते १७ जनामा र्यापीड टेष्ट गरिएको स्वास्थ्य शाखा संयोजक सुशीला कठायतले जानकारी दिनुभयो । उनीहरू दुवैको थप परिक्षणपछि मात्रै कारोना पुष्टि हुने स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
धादिङ ज्वालामुखी गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ । ज्वालामुखी–३, अमराई निवासी ती युवक गत फागुन २० गते दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए । विदेशबाट फर्किएका सबैलाई द्रुत परीक्षण गर्ने योजनाअनुसार परीक्षण गर्दा पोजिटिभ देखिएको ज्वालामुखीका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले बताउनुभयो । ती युवक हाल परिवारका अन्य तीन सदस्यसँग घरमा बसोबास गर्दै आएका थिए । सदरमुकाममा पसल गरी बस्ने बाबुआमाहरू पनि लकडाउन पछि घरै गएका छन् ।
बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
इन्सेक गण्डकी प्रदेशका जिल्ला जिल्लामा विदेशबाट आएका व्यक्तिहरूको पहिचान गरी स्वाब सङ्कलन गर्ने तथा कोरोना परीक्षण गर्ने क्रम तीब्र पारिएको छ । पछिल्लो समय द्रुत परीक्षण गर्दा केहीको पोजेटिभ देखाउने र दोहो¥याएर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट देखाएका कारण द्रुत परीक्षण विधिमा नागरिकले शङ्का गर्न थालेका छन् । गण्डकी प्रदेशमा हालसम्म द्रुत परीक्षण विधिबाट २ हजार ११ जनाको कोरोना परीक्षण गरिएको छ । वैशाख २ गते साँझसम्म बागलुङका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसबिचमा सबै जिल्लामा अति विपन्न परिवार तथा दैनिक ज्याला मजदुरी गरी खाने व्यक्ति तथा परिवारको पहिचान गरी राहत सामग्री उपलब्ध गराउने कार्यमा स्थानीय सरकार क्रियाशील छन् । कोरोना टेष्ट किटको अभाव र अग्रपङ्क्तिमा बसेर काम गर्नेहरूका लागि मास्क, सेनिटाइजर र पीपीइको अभाव रहेको जिल्लाहरूबाट विवरणमा उल्लेख छ ।
गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
प्रदेश ५ का जिल्लाहरूमा क्वारेण्टाइनमा राखिएका र १४ दिन पूरा भएका व्यक्तिहरूको आरडीटी परीक्षण पश्चात रिपोर्ट नेगेटिभ आएकाहरूलाई होम क्वारेण्टाइन बस्ने परामर्श दिएर फिर्ता पठाउन थालिएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्लामा भारतको नयाँदिल्लीको धार्मिक सभाबाट फर्केका दुई जनालाई वैशाख १ गते राति चोर बाटो प्रयोग गरी जिल्ला प्रवेश गर्न लागेको अवस्थामा सशस्त्र प्रहरीले गिरफ्तार गरी भारतीय सुरक्षा सुरक्षाकर्मीको जिम्मा लगाएको छ । भारतसँग सिमाना जोडिएका प्रदेश ५ जिल्लाहरूमा लुकेर नेपाल प्रवेश गर्ने गरेको पाइए पछि सिमा नाकामा सुरक्षा पोष्ट र सुरक्षाकर्मी सङ्ख्या बढाएर निगरानी बढाएको छ । दाङ जिल्लाको घोराही नपामा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै आफ्नो फेसबुकमा भ्रामक सूचना फैलाएको आरोपमा प्रहरीले घोराही उपमनपाा–१५ का २८ वर्षीय दीपक न्यौपानेलाई वैशाख २ गते गिरफ्तार गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीको अध्यक्षतामा वैशाख २ गते बसेको बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धमा प्रदेश सरकारProvince Crisis Management Centre ले लकडाउनको पालनाका लागि केही निर्णय गरेको छ । बढी प्रयोग हुने बाहेकका सीमित जनशक्तिबाट नियन्त्रितरूपमा मेसिनऔजारको प्रयोग गरी सञ्चालन हुने विकास निर्माणका कार्यहरूलाई सञ्चालन हुन दिने, अर्को प्रदेशबाट यस प्रदेशमा दुध र दूग्धजन्य पदार्थ, तरकारी तथा फलफूल, पशुपंक्षीजन्य उत्पादन भित्र्याउन अर्को व्यवस्था नहुँदासम्म पूर्णरूपमा रोक लगाउने, अहिलेको समयमा गाउँघरमा मौसमी बाली भित्र्याउने तथा बाली लगाउने समय भएकोले खेताला तथा श्रमिक प्रयोग नगरी गर्न सकिने बाली भित्र्याउने तथा बाली लगाउने कार्यहरू गर्न दिने जस्ता निर्णय भएका छन् । हुम्ला जिल्ला सदरमुकाम सिमकोटस्थित रानीवनमा निर्माण गरिएको क्वारेन्टाइनमा रहेको १३ जनालाई १४ दिनको अवधि नपुग्दै घर फर्काइएको रानीवन क्वारेन्टाइन स्थलका सूचना अधिकारी बोहराले बताउनु भयो । जुम्ला जिल्लाका ३ सय २४ जनाको कोरोना परीक्षणका लागि स्वाब काठमाडौँ पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाका निर्देशक डा. मङ्गल रावलले बताउनु भयो । कोरोना भाइरस रोकथामका लागि सरकारले लागु गरेको लकडाउन पूर्णरूपले कार्यान्वयन गर्न मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयबासीले एक गाउँदेखि अर्को गाउँ आवतजावत गरे १० हजार जरिवाना भराउने निर्णय गरेको छ ।
कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
सुदूरपश्चिम प्रदेशमा कोरोना सचेतनाका लागि र सतर्कताका लागि तीनै तहका सरकार सक्रिय भएका छन् । दार्चुलाको महाकाली नगरपालिका–८ का स्थानीय दलित परिवारका व्यक्तिहरूले आफूलाई निःशुल्करूपमा राहतबापत खाद्यान्न उपलब्ध गराउनुपर्ने मागसहित वडा कार्यालयमा धर्ना दिएका छन् । भारत पिथौरागढ जिल्लाको भागेश्वरमा मजदुरी गर्न गएका नौगाड गाउँपालिकाका चार जना महाकाली नदी पौडिएर सोमबार महाकाली नगरपालिका–५ को मसिनबालुवा भन्ने ठाउँबाट नेपाल भित्रिएको महाकाली नगरपालिका विपद् व्यवस्थापन शाखा संयोजक भुवन जोशीले जानकारी दिनु भयो ।
नयाँ वर्षको अवसरमा नौगाड गाउँपालिकाले गाउँपालिकाभित्रका अतिगरिब, अतिविपिन्न, दैनिक ज्यालादारीमा काम गर्ने मजदुर परिवारका लागि खाद्य सुरक्षा राहत प्याकेज घोषणा गरिएको अध्यक्ष प्रेमसिंह धामीले बताउनु भयो । प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीले दिएको जानकारी अनुसार आज सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पीसीआर प्रविधि थप गरी दुई सय २५ जनाको नमूना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…
थाइरोड जाँच गर्ने उपकरण बिग्रदा सेवाग्राहीहरू मर्कामा
सिरहा जिल्लाको एक मात्र सरकारी अस्पताल लहानमा अवस्थित रामकुमार सारदा उमा प्रसाद मुरारका अस्पतालमा एक हफ्ता देखि थाइरोड जाँच गर्ने उपकरण बिग्रिएको हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । अस्पतालमा दैनिक…
अपरिचित व्यक्तिहरूको समूहबाट पत्रकारमाथि कुटपिट
पत्रकार कमलबहादुर बोहरामाथि चार-पाँच जना अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरेको पीडित पत्रकारले आरोप लगाउनु भएको छ । बोहरा पालिका समय डटकमको अध्यक्ष तथा कार्यकारी सम्पादकसमेत हुनुहुन्छ । माघ २१ गते…