कोरोना कहरः सङ्क्रमणको जोखिम बढ्दै !

कोभिड–१९ को सङ्क्रमणका कारण नेपालले लकडाउन गरेको एक वर्ष पुगेको छ । ०७६ चैत ११ गतेबाट लगाइएको लकडाउन पटकपटक थप गरी ०७७ साउन ७ गते अन्त्य गरिएको थियो ।

लकडाउन हटेपछि बजार पसल खुले । दशैँतिहार सकिएसँग शैक्षिक संस्था पुरानै लयमा खुलाइयो । सबै क्षेत्रमा चहलपहल बढ्यो । कोभिडको त्रास पनि घट्दै आयो । पछिल्लो समय सङ्क्रमण दर घट्दै आयो ।

तर, भारतसहित विश्वका विभिन्न देशमा कोभिडको दोस्रो लहर फैलिएसँगै नेपाल फेरि एक वर्ष अगाडिकै अवस्थामा जाने हो कि भन्ने त्रास बढ्न थालेको । कोभिड–१९ को दोस्रो लहर तीव्र गतिमा फैलिएपछि भारतका केही ठाउँमा लकडाउन लागू गरिएको छ ।

corona_1_year_data

भारतसँगको खुला सिमानाका कारण पनि नेपालमा कोरोना सङ्क्रमणको जोखिम रहेको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व प्रमुख डाक्टर बाबुराम मरासिनीले बताउनुभयो ।

उहाँले भन्नु भयो–‘विश्वका जुनसुकै देशबाट आउने व्यक्ति भएपनि पिसिआर रिपोर्टलाई अनिवार्य गर्नुपर्छ । स्वास्थ्य मापदण्डलाई अनिकार्य पालना गर्नुपर्छ । कुनै पनि मूल्यमा यि कामबाट हामी चुक्नु हुँदैन ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र काम नगर्न भनेको छ ।

सरुवारोग विशेषज्ञ डाक्टर मरासिनीले स्वास्थ्य सतर्कतालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने सुझाव दिनु भएको छ ।

एक वर्षको अवधिमा भएका गतिविधिबिाट निकै सिकाइ भएकाले आगामी दिनमा योजना बनाएर अघि बढ्नु पर्ने डाक्टर मरासिनीको भनाइ छ ।


अनलाइन डेस्क