कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये ३२ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ३२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये १० प्रतिशत १९ वर्ष मुनीका व्यक्तिलाई कोभिड सङ्क्रमण देखिएको छ । यो साता प्रतिदिन १२ जना सङ्क्रमितको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । मन्त्रालयले एक सातामा ५५ हजार ९ सय १५ ओटा स्वाब परीक्षण गर्दा १७ हजार ९ सय ३१ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जनाएको छ । एक सातामा २ हजार ३ सय ९६ जना सङ्क्रमित निको भए भने ८५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनायो । नेपालमा कोभिड–१९ को दोस्रो लहर सुरू भएसँगै सङ्क्रमितको दर पनि ह्वात्तै बढेको छ । सरकारले स्वास्थ्य अनुशासनमा जोड दिँदै आएको छ । वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले वैशाख १३ गते साँझ छुट्टाछुट्टै आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गर्ने उल्लेख गरेका छन् ।
निषेधाज्ञामा केके खुल्ला र केके बन्दको आदेश छ ?
बन्द | खुला | समय |
सबैकिसिमका पसल | खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल | बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म |
सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना | । डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष | बिहान १० बजेदेखि साँझ ५ बजेसम्म |
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय | अनिवार्य रूपमा परिचयपत्र देखाएर मात्र आवतजावत गर्न पाइने | |
सार्वजनिक र निजी सवारी साधन | अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र पास लिएका सवारी | |
विवाह ब्रतबन्ध (स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रशासनको अनुमतिमा १५ जनासम्म), सरकारी कार्यालयका गाडी (सम्बन्धित विभागबाट अनुमति लिएर), विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका गाडी (सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा), अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रु (हवाई टिकट, पासपोर्ट, भिसा देखाएमा) |
एक साताको अवधिमा कोभिड परीक्षण, सङ्क्रमित, डिस्चार्ज र मृत्यु | ||||||||
विवरण | १३ गते | १२ गते | ११ गते | १० गते | ९ गते | ८ गते | ७ गते | जम्मा |
परीक्षण | १२४०० | ९२९२ | ७५२५ | ८७९८ | १००१ | ८८४४ | ८०५५ | 55915 |
सङ्क्रमित | ३४४२ | ३०३२ | २४८६ | २४४९ | २६३५ | २२२० | १६६७ | 17931 |
१९ वर्ष मुनीकालाई सङ्क्रमण | ३३६ | ३४० | २४० | २५३ | २३९ | २७६ | १९३ | 1877 |
डिस्चार्ज | ३७८ | ४५० | ३६८ | ४१० | २५२ | २८७ | २५१ | 2396 |
मृत्यु | १२ | २८ | १४ | ५ | ५ | १० | ११ | 85 |
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वैशाख ७ गतेदेखि वैशाख १३ गतेसम्मको अवधिमा झापामा ८७ जना पुरूष र ४९ जना महिला गरी १ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा १ सय १२ जना पुरूष र ५७ जना महिला गरी १ सय ६९ जना, मोरङमा ३ सय ३७ जना पुरूष र २ सय ३३ जना महिला गरी ५ सय ७० जना, पाँचथरमा सात जना पुरूष र एक जना महिला गरी आठ जना, संखुवासभामा १८ जना पुरूष र तीन जना महिला गरी २१ जना, उदयपुरमा १० जना पुरूष र ६ जना महिला गरी १६ जना, भोजपुरमा पाँच जना पुरूष र दुई जना महिला गरी सात जना, धनकुटामा ६ जना पुरूष र पाँच जना महिला गरी ११ जना, इलाममा पाँच जना पुरूष र ६ जना महिला गरी ११ जना, खोटाङमा सात जना पुरूष र एक जना महिला गरी आठ जना, ओखलढुङ्गामा १० जना पुरूष र १० जना महिला गरी २० जना, सोलुखुम्बमा नौ जना पुरूष र चार जना महिला गरी १३ जना, ताप्लेजुङमा आठ जना पुरूष र दुई जना महिला गरी १० जना र तेहृथुममा दुई जना पुरूष गरी १ हजार २ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला,मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला,नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा प्रदेश १ मा १ हजार २ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोभिड–१९ सङ्क्रमितको उपचार सेवा बन्द गर्दै विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका स्वास्थ्यकर्मी वैशाख १३ गतेदेखिको आन्दोलन स्थगन गर्दै काममा फर्किएका छन् । वैशाख १९ गतेको समयसीमा दिँदै वैशाख १३ गतेदेखि आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी वैशाख १३ गते साँझदेखि काममा फर्किएका हुन् । कोभिड–१९ को दोस्रो लहर सुरु भएर सङ्क्रमणले महामारीको रूप लिइरहेका बेला सङ्क्रमितको उपचार नै छाडेर चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीले आन्दोलनमा उत्रिएका थिए । सरकारले तोकेको न्यूनतम पारिश्रमिक र अन्य सुविधा नपाइएको भन्दै आन्दोलन थालेका उनीहरुले एक साताको समय दिँदै माग पूरा नभए पुन आन्दोलनमा फर्किने चेतावनी सामाजिक विकास मन्त्रालयलाई दिएका छन् । वैशाख १३ गते कोशी अस्पतालमा अक्सिजन ग्यासको अभाव भएपछि ६ घण्टा सेवा प्रभावित भएको छ । अस्पताल प्रशासनले दैनिक रूपमा मोरङ्गमा रहेका अक्सिजन प्लाण्टबाट सिलिण्डर ल्याएर प्रयोगमा ल्याएपनि वैशाख १३ गते एकैदिन एक सय ओटा सिलिण्डर खपत भएपछि ६ घण्टा अक्सिजन सेवा अवरूद्ध भएको अस्पतालका मेडिकल सुपरिडेन्टेण्ड डा.चुमनलाल दासले बताउनु भयो । कोशी अस्पतालसँग १ सय ५० ओटा सिलिण्डर मात्र भएको र भण्डारण गर्ने क्षमता नहुँदा अक्सिजनको अधिक खपत भएपछि समस्या उत्पन्न भएको मेसु दासले बताउनु भयो । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेर गएपछि प्रदेश १ सरकारले कोसी कोभिड–१९ अस्पताल पुरै सञ्चालनमा ल्याउने तयारी गरेको छ । वैशाख १२ गते सामाजिक विकास मन्त्रालयले निर्णय गर्दै अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको हो । अक्सिजन र ३० ओटा भेण्टिलेटरसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । निजी क्षेत्रले निर्माण गरेको नागरिक केयर सेण्टरको १ सय ८० वेड क्षमताको अस्पताल सञ्चालनमा ल्याउने तयारी प्रदेश सरकारले गरेको छ ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार सङ्घीय सरकारले गरेको निर्देशन विपरीत धरान उपमहानगरपालिकामा रहेका निजी तथा सामुदायिक विद्यालयले कक्षा ५ देखि कक्षा १० सम्मको परीक्षा वैशाख १८ गतेभित्र सक्ने गरी सञ्चालन गरेपछि स्थानीय प्रशासन र विद्यालयबीच विवाद उत्पन्न भएको छ । स्थानीय प्रशासनले सङ्घीय सरकारको निर्देशन पालना गर्दै वैशाख मसान्तभर विद्यालय र भौतिक उपस्थितीमा हुने परीक्षाका कार्यक्रम सञ्चालन नगर्न भनेपछि विवाद उत्पन्न भएको छ । धरान उपमहानगरपालिकाले विद्यालय सञ्चालकसँग वैशाख १३ गते छलफल गर्दै परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि अभिभावकले विरोध गरेका छन् । अभिभावकहरूले कुनै पनि बालबालिकामा कोभिड–१९ को सङ्क्रमण देखिए त्यसले समस्या सिर्जना हुने बताएका छन् ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार इन्स्टिच्यूट अफ हेल्थ साइन्सको एउटै कक्षाका १३ जना विद्यार्थीमा एकै दिन कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि कक्षा सञ्चालन बन्द गरिएको छ ।
बागमती प्रदेश
बागमती प्रदेशमा वैशाख १३ गते कोभिड–१९ सङ्क्रमितको सङ्ख्या जम्मा १ लाख ६६ हजार ४ सय ७९ जना पुगेको छ । अघिल्ला हप्ता १ लाख ५७ हजार ४ सय १९ जना कोभिड–१९ का सङ्क्रमित रहेकोमा यस हप्ता ९ हजार ६० जना सङ्क्रमित थपिएका छन् । यो हप्ता अघिल्लो हप्ता भन्दा ६ हजार २ सय ९७ जना बढीले कोभिड–१९ का सङ्क्रमित भएका हुन् । यस प्रदेशमा एक महिना अखिदेखि प्रत्येक हप्ता कोभिड–१९ सङ्क्रमितका दोब्बर भन्दा बढीको सङ्ख्यामा बढ्न थालेको छ । यस प्रदेशका कूल सङ्क्रमितमध्ये १ लाख ५५ हजार ४ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा ९ हजार ९ सय १ जना उपचाररत रहेका छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या ३ हजार ५२ जना रहेकोमा यो हप्ता ६ हजार ८ सय ४९ जना बढ्न गई ९ हजार ९ सय १ जना पुगेको हो ।
बागमती प्रदेशमा वैशाख १३ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने १ हजार ७४ जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा २५ जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर ०.६५ प्रतिशत रहेको छ । यस प्रदेशमा अघिल्लो साता ३९.६० प्रतिशत महिला र ६०.३५ प्रतिशत पुरुष सङ्क्रमित भएकोमा वैशाख १३ गते महिला ३४ र पुरुष ६६ प्रतिशत कायम भएको छ । यो हप्ता पुरुष सङ्क्रमितको सङ्ख्या बढेको छ । यस प्रदेशमा अघिल्लो हप्ता देशको कूल सङ्क्रमणको सङ्ख्या ५५ प्रतिशत रहेकोमा वैशाख १३ गते आइपुग्दा ५४.८४ प्रतिशत कायम भएको छ । प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ९७.४१ प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा वैशाख ६ गते आइपुग्दा यो सङ्ख्या ९३.४१ प्रतिशतमा झरेको छ । कोभिड–१९ को विरुद्ध पहिलो र दोस्रो चरणको खोप कार्यक्रममा लक्ष्यको ६५.७८ प्रतिशत मात्र पुरा भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा चैत २५ गतेदेखि कोभिड–१९ विरुद्धको दोस्रो डोज खोप लगाउन सुरु भएकोमा वैशाख १३ गतेसम्म १ लाख १९ हजार ३ सय ७६ जनाले दोस्रो डोजको खोप लिइ सकेका छन् ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा वैशाख ७ गतेबाट वैशाख १३ गतेसम्म थप ८ सय ७४ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये ५ सय ४१ जना पुरुष र ३ सय ३३ जना महिला रहेका छन् । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या २० हजार २ सय ८० रहेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वैशाख १३ गतेको तथ्याङक अनुसार गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये १ हजार १ सय ७३ जना होम आइसोलेशनमा रहेका छन् भने १ सय ७ जना संस्थागत आइसोलेशन, पाँच जना आइ.सि.यू र एक जना भेन्टिलेटरमा रहेका छन् ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा कोभिड सङक्रमण बढ्दै गएको छ । यस साता महिला १ हजार ६ सय ८३ जना र पुरुष २ हजार ३ सय ३७ जना गरी ४ हजार २० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस साता सबै भन्दा बढी बाँके जिल्लामा ९ सय २६ महिला र १ हजार २ सय ११ जना पुरुष गरी २ हजार १ सय ३७ जनामा सङ्क्रण पुष्टि भयो भने सबै भन्दा कम रुकुम पुर्व जिल्लामा चार जना महिला र सात जना पुरुष गरी ११ जना सङ्क्रमित भए । यसैगरी, अर्घाखाँचीमा ५१ जना, बर्दियामा २ सय १३ जना, दाङमा ४ सय ८५ जना , गुल्मीमा ७२ जना , कपिलवस्तुमा १ सय ४८ जना, पाल्पामा १ सय ६७ जना, प्यूठानमा ३४ जना, रोल्पामा १७ जना, रुपन्देहीमा १ हजार १ सय ४७ जना र नवलपरासी पश्चिममा ८२ जनामा सङ्क्रमण पुष्टि भयो ।
पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार २ सय १७ जनामा गरिएको परीक्षणमा ४ सय ९० जनामा कोभिड पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले जनाएको छ । लुम्बिनी प्रदेशमा ५ हजार ८६ जना होम आइसोलेशन, ५ सय २ जना संस्थागत आइसोलेशन, ७५ जना आइसियु र २३ जना भेन्टिलेटरमा रहेका छन् । प्रदेशमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित बाँके, दाङ र रुपन्देहीमा रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय, बुटवलका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा ६ जनाको मृत्यु भएको छ भने हालसम्म उपचारका लागि बाहिरी जिल्लाबाट आउने समेत गरी ४ सय ९२ जनाको मृत्यु भएको छ । यसैगरी, बाँके जिल्लामा वैशाख १२ गतेको डिसिएमसीसीको बैठकले वैशाख १३ गते एक साताका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनु भयो । प्रजिअ गेलालका अनअुसार निषेधाज्ञा अवधिभर अतिआवश्यक कामबाहेक घरबाट निस्कन पाइदैन । एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूले मात्रै सवारी साधन प्रयोग गर्न पाउने आदेशमा उल्लेख छ । उक्त आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउनेलाई सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने पनि उल्लेख छ । सङ्क्रण बढ्दै गएपछि बर्दिया जिल्लामा पनि वैशाख १३ गतेदेखि निषेधज्ञा जारी गरिएको छ ।
सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा २०७८ वैशाख ७ गतेदेखि २०७८ वैशाख १३ गतेसम्म २ सय २० जना महिला सहित ६ सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ । वैशाख १३ गते मात्रै सुदूरपश्चिमका अछाम जिल्लामा एक महिला सहित दुई जना, बैतडीमा सात महिला सहित ३२ जना, बझाङमा एक पुरुष, डडेल्धुरामा चार महिला सहित १८ जना, डोटीमा तीन महिला सहित १४ जना, कैलालीमा सात महिला सहित २८ जना, बाजुरामा एक पुरुष र बझाङमा एक पुरुष गरी १ सय ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो साता चार जना पुरुषको मृत्यु भएसँगै यस सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । नेपाल सरकारले सञ्चालन गरेको पहिलो र दोस्रो चरणको कोभिड १९ विरुद्धको खोप अभियानमा सुदूरपश्चिम प्रदेशमा चैत १५ गतेसम्म २ लाख २ हजार ८ सय ८ जनाले खोप लिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लाहान नपा-१० स्थायी घर भई चौतारा साँगाचोकगढी नपा-५ स्थित स्वावलम्बन लघुवित्त कार्यालय चौताराका शाखा प्रमुख ४६ वर्षीय दिपक भूजेललाई असोज…
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…