कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २१ गते)

पुस २१ गते ५ सय २२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार ५ सय ५१ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ५५ हजार ६ सय ६६ जना निको भएका छन् । पुस २१ गते ५ सय ७८ जना निको भएका छन् भने निको हुनेको दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस २१ गतेसम्म १ हजार ८ सय ९३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ५ हजार २ सय २५ जना सक्रिय सङ्क्रमित रहेकामा १ हजार ७ सय १४ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये २ सय ३ जनाको उपचार आइसीयूमा र ४४ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार सोलुखुम्बु र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

सुदूरपश्चिम प्रदेश

कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार शुक्लाफाँटा नगरपालिकाका केही कर्मचारीहरुमा कोभिड–१९ को सङ्क्रमण देखिएको भन्दै थप सङ्क्रमण फैलिन नदिन पुस २० गतेदेखि ६ दिनका लागि नगरपालिका र नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ । शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले कार्यालयका सम्पुर्ण कर्मचारीको कोभिड–१९ परीक्षण गर्न नगरपालिका बन्द गरेको बताउनु भयो ।


अनलाइन डेस्क