कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १४ गते)

मङ्सिर १४ गते १ हजार २ सय ५५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ८ हजार ८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख १२ हजार ५ सय ९० जना निको भएका छन् । मङ्सिर १४ गते १ हजार ४ सय ४ जना निको भएका छन् भने निको हुनेको दर ९१.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर १४ गतेसम्म १ हजार ४ सय ७९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । १७ हजार ९ सय ९ जनाको उपचार भइरहेको छ । १२ हजार २ सय ५९ जना होम आइसोलेशनमा छन् भने ३ सय ६१ जनाको उपचार आइसीयूमा र ५३ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङ र डोल्पामा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

सुदूरपश्चिम प्रदेश
कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार भीमदत्त नगरपालिकाका एक जना जनप्रतिनिधिलाई कोभिड सङ्क्रमण देखिएपछि मङ्सिर १४ गते सूचना निकाल्दै अर्को सूचना जारी नगरेसम्मका लागि वडा नं ७ बाट प्रदान गरिने सबै सेवा बन्द गरिएको वडाध्यक्ष शङ्कर कुँवरले बताउनुभयो । सङ्क्रमित जनप्रतिनिधिको उपचार कोभिड अस्पताल धनगढीमा भइरहेकोमा थप उपचारका लागि काठमाडौँ पठाएको वडाध्यक्ष शङ्कर कुँवरले बताउनुभयो ।


अनलाइन डेस्क