कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २४ गते)

कात्तिक २४ गते २ हजार ५ सय ७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ९७ हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १२ हजार ३ सय ११ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १ लाख ५९ हजार ७ सय २४ जना निको भएका छन् । कात्तिक २४ गते १ हजार ७ सय ९८ जना निको भएका छन् भने निको हुनेको दर ८१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक २४ गतेसम्म १ हजार १ सय २६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ३६ हजार १ सय ७४ जनाको उपचार भइरहेको छ । २९ हजार ८ सय ३६ जना होम आइसोलेशनमा छन् भने ४ सय ११ जनाको उपचार आइसीयूमा र ८३ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।

प्रदेश २

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार लहान नपा—३ स्थित फ्रेन्ड्स मोडेल अस्पताल लहानका २८ र ३० वर्षीय दुई जना स्वास्थ्यकर्मीलाई कोभिड–१९ पोजेटिभ देखिएपछि कात्तिक २३ गतेदेखि उक्त अस्पताल सील गरिएको लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताउनु भयो । स्वास्थ्यकर्मीद्वयलाई कात्तिक २२ गते साँझ रिपोर्ट पोजेटिभ आएपछि अस्पताल सील गरिएको प्रमुख यादवले बताउनु भयो । इलाका प्रहरी कार्यलय लहानका डिएसपी शरतकुमार थापा क्षेत्री र लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवको उपस्तिथिमा अस्पताल सील गरिएको थियो ।

बागमती प्रदेश
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी कात्तिक २६ गतेबाट निषेधाज्ञा लागू हुने जनाएको छ । जिल्लामा कोभिड–१९ सङ्क्रमण बढिरहेकोले जोखिमको कारण देउसीभैलोलाई रोक लगाउनको लागि जिल्ला प्रशासन कार्यालयले कात्तिक २५ गते राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको जनाएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयपछि प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले कात्तिक २३ गते साँझ निषेधाज्ञको आदेश जारी गर्नु भएको हो । निषेधाज्ञाको आदेशमा देउसीभैलो, नाँचगान, मेला महोत्सव, सांस्कृतिक कार्यक्रम, मन्दिर, गुम्बा लगायत धार्मिक स्थलमा भेला हुन, सामूहिक भेला भएर गरिने जात्रा, पर्व सञ्चालनमा रोक लगाइएको छ ।
काभ्रे प्रतिनिधि हिरामान तामाङका अनुसार नमोबुद्ध नगरपालिकाका चार जना कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकाले कात्तिक २५ गतेदेखि मङ्सिर २ गतेसम्म सबै सेवा बन्द हुने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँले कात्तिक २४ गते सूचना जारी गर्दै मङ्सिर २ गतेसम्म सेवा स्थगन भएको जानकारी दिनुभएको छ । नगरपालिकासँगै सबै वडा कार्यालयहरूको समेत सेवा स्थगन गरिएको कारण वडाबाट प्रदान गरिने सामाजिक सुरक्षा भत्ता, सिफारिस, नाता प्रमाण तथा दर्ता लगायतका सेवा प्रभावित भएका छन् ।

गण्डकी प्रदेश
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार पैयुँ गाउँपालिकाले कोभिड सङ्क्रमण समूदायमा फैलिन नदिन भन्दै कात्तिक २३ गतेदेखि गाउँपालिका र मातहतका वडाका प्रशासनिक सेवा बन्द गरेको छ । कात्तिक २२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षणको क्रममा पैयुँ गाउँपालिका–४ हुवासका दुई जना पुरुषमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले अनिश्चितकालिन रुपमा गाउँपालिका तथा वडाका अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । सङ्क्रमितलाई गाउँपालिकाले बनाएको अस्थायी कोरोना अस्पतालमा राखिएको छ । गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीद्वारा जारी सूचनामा गाउँपालिका भित्रका बैङ्क तथा वित्तीय संस्था बन्द गर्ने, गाउँ कार्यपालिका र वडा कार्यालयको अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने, हातेमालो चोकलगायत मानिसहरूको भीड हुने ठाउँमा अनिवार्य मास्क लगाएर हिँड्न अनुरोध गर्ने निर्णय भएको उल्लेख छ । कोभिडको सङ्क्रमणलाई नियन्त्रण गर्न पैयुँ गाउँपालिकाले तिहारमा देउसीभैलो खेल्न पनि रोक लगाएको छ । यसअघि पर्वतका सात स्थानीय तहमध्ये कुश्मा नगरपालिका, मोदी गाउँपालिका र जलजला गाउँपालिकाले एक सातासम्म लकडाउन गरिसकेका छन् । मोदी गाउँपालिकाले सबै सेवा सञ्चालनमा ल्याएपनि जलजला र कुश्मा नगरपालिकाको लकडाउन यथावत रुपमा नै रहेको छ ।

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार समुदायमा कोभिड–१९ सङ्क्रमण देखिन थालेपछि बागलुङ नगरपालिका–८ सिगानाले लकडाउन गरेको छ । कोरोना सङ्क्रमण पुष्टि भएर होम आइसोलेशनमा बसेका व्यक्ति गाउँ डुलेको सूचना प्राप्त भएपछि सङ्क्रमणको जोखिम बढेको भन्दै सरुवा रोग ऐन २०२० अनुसार सवारी साधन, पसल, विद्यालय तथा मानिसहरू जम्मा नहुन र एक अर्काको घरमा समेत नजान आग्रह गर्दै बागलुङ नगरपालिका–८ का वडा अध्यक्ष जीतबहादुर क्षेत्रीले सूचना जारी गर्नु भएको छ ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार कोभिड–१९ सङ्क्रमण बढेको भन्दै पोखरा महानगरपालिका–२२ को कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा कात्तिक २४ गतेदेखि बन्द गरिएको छ । वडा नम्बर २२ मा कोभिड सङ्क्रमण फैलिँदै आएको साथै छिमेकी वडामा सङ्क्रमण तिव्र गतिमा फैलिएको भन्दै कात्तिक २८ गतेसम्म वडा कार्यालय बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष मित्रलाल बरालले जानकारी दिनुभयो । छिमेकी वडामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको र सङ्क्रमित कर्मचारीको कार्य क्षेत्र वडा नम्बर २२ समेत रहेको भन्दै सम्भावित रुपमा हुन सक्ने सङ्क्रमणलाई ध्यानमा राखेर वडा कार्यालय बन्द गर्नुपरेको उहाँको भनाइ छ ।

लुम्बिनी प्रदेश
कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार शिवराज नगरपालिका कार्यालयका सात जना कर्मचारी र स्वास्थ्यकर्मीलाई कात्तिक २३ गते कोभिड सङ्क्रमण पुष्टि भएपछि कात्तिक २४ गतेदेखि चार दिनसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकराज पन्थीले बताउनु भयो । कात्तिक २८ गतेसम्मका लागि नगरपालिका र मातहतका वडा कार्यालयहरूबाट प्रदान गरिने सेवा प्रवाह बन्द गरिएको नगरपालिकाका मेयर नेत्रराज अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । यसैगरी नगरपालिकमा भइरहेको प्रत्यक्ष सिकाइ सहजीकरणका कार्यक्रमहरू पनि बन्द भएको नगरपालिकाले सूचनामार्फत जनाएको छ ।

कर्णाली प्रदेश
सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीका अनुसार कोभिड–१९ रोकथामका लागि शारदा नगरपालिकासील भएपछि वडा नम्बर १ शितलपाटीमा रहेको शिवजन माविले सञ्चालन गरेको उच्च माध्यामिक विद्यालयको वार्षिक परीक्षा स्थगित गरेको छ । कात्तिक २१ गतेदेखि सुरू भएको कक्षा ११ को परीक्षा दुई दिन सञ्चालन भइसकेको भएपनि अर्को सूचना प्रकाशन नहुँदासम्म स्थगित गरिएको प्रधानध्यापक हिरालाल नेपालीले बताउनुभयो । परीक्षमा नियमिततर्पm २ सय ८२ जना र आंशिकतर्पm २ सय ७२ जना विद्यार्थी सहभागी भइरहेका थिए । परीक्षासँगै विद्यालयमा सुचारू भइरहेको पढाइ पनि बन्द गरिएको विद्यालयले एक सूचना जारी गरेर जानकारी दिएको छ ।


अनलाइन डेस्क