कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २० गते)
कात्तिक २० गते ३ हजार ५१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १३ हजार ६८ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १ लाख ४८ हजार ४ सय ८ जना निको भएका छन् । कात्तिक २० गते ३ हजार ४ सय ३० जना निको भएका छन् भने निको हुनेको दर ७९.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक २० गतेसम्म मृत्यु हुने कोभिड सङ्क्रमितको सङ्ख्या १ हजार ५२ पुगेको छ । कात्तिक २० गते मात्रै १८ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ३६ हजार ५ सय १४ जनाको उपचार भइरहेको छ । २९ हजार ५ सय ७४ जना होम आइसोलेशनमा छन् भने ४ सय २८ जनाको उपचार आइसीयूमा र ७४ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
प्रदेश १
उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि त्रियुगा नगरपालिकाको कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कात्तिक १९ गते आठ जना कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि कात्तिक २८ गतेसम्मका लागि सेवा बन्द गरिएको हो । नगरपालिकाले कात्तिक २० गते सूचना जारी गर्दै कार्यालय र मातहतका शाखाहरूबाट सम्पादन गरिने अत्यावश्यक सेवा (दमकल, फोहोरमैलाको गाडी, नगर प्रहरी, स्वास्थ्य सेवा) बाहेक दैनिक सञ्चालन हुने सेवा बन्द हुने जनाएको छ । सङ्क्रमण थप फैलन सक्ने खतरा रहेकाले नियन्त्रणका लागि कार्यालयका कामकाज बन्द गर्नु परेको सूचनामा उल्लेख छ । नगरपालिकाको निर्णयसँगै सदरमुकाम गाईघाट क्षेत्रमा रहेको वडानं ११ को कार्यालयसमेत बन्द गरिएको छ । कार्यवाहक वडाध्यक्ष सकुन्तला बिकद्वारा जारी सूचनामा नगरपालिकाको कार्यालयसँग जोडिएको वडा कार्यालय भएको र आवतजावत बाक्लो रहेकाले २८ गतेसम्म सेवा बन्द गरिएको जनाइएको छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार दमक नगरपालिका–५ की २२ वर्षीया युवतीले कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । कात्तिक १७ गते विराटनगरमा रहेको एक ल्याबमा गरिएको परीक्षणमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएपछि होम आइसोलेशनमा बसेकी २२ वर्षीया युवतीले कात्तिक १९ गते राति आत्महत्या गरेको इलाका प्रहरी कार्यालयका डिएसपी विजयराज पण्डितले बताउनु भयो ।
बागमती प्रदेश
सिन्धुली प्रतिनिधि विमला पाण्डेका अनुसार कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका कमलामाई नगरपालिका–५ का ४८ वर्षीय पुरुषको शव व्यवस्थापनमा क्रममा कात्तिक २० गते स्थानीयले अवरोध गरेका छन् । सिन्धुली अस्पतालमा उपचारका क्रममा सोही दिन बिहान मृत्यु भएका उनको शव सेनाले गडौली घाटमा खाल्डो खनी व्यवस्थापन गर्न लाग्दा स्थानीयले अवरोध गरेका हुन् । नेपाली सेनाले शव व्यवस्थापनमा परम्परागत घाटमा लगेको भए पनि स्थानीयले सङ्क्रमण फैलने भन्दै अवरोध गरेका थिए । गडौली घाटमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन गरी शव व्यवस्थापन गर्न खोज्दा समेत स्थानीयले नदिएपछि मृतकको शवलाई फिर्ता गरी कमलामाई नगरपालिका–५ को ढाक्रेवास खोलामा व्यवस्थापन गरिएको छ ।
यसअघि जिल्लामा कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएकी कमलामाई नगरपालिका–६ पानीट्याङ्कीकी ८४ वर्षीया महिलाको शव कमलामाई नगरपालिका–७ स्थित बुकाखोलामा व्यवस्थापन गरिएको थियो । सो समय बुका खोलामा शव व्यवस्थापन गरिए पनि विरोध आएपछि यसपल्ट गडौली घाटमा शव व्यवस्थापन गर्न खोजिएको थियो । सिन्धुली अस्पतालका कोभिड–१९ फोकल पर्सन डाक्टर प्रसन्नजङ्ग राजभण्डारीले विज्ञप्ति प्रकाशन गरी कात्तिक १९ गते अस्पताल भर्ना भएका पुरुषको २० गते मृत्यु भएको हो ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार भरतपुरस्थित कारागारमा एक जना कैदीमा कात्तिक १४ गते कोभिड–१९ पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ । दोस्रोपटक कात्तिक १९ गते जाँच गर्दा पनि पोजेटिभ नै रिपोर्ट आएपछि सङ्क्रमण पुष्टि पक्का गरिएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । कारागार कार्यालय पोखराबाट असोज २७ गते भरतपुर स्थानान्तरण गरिएका कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका ७२ वर्षीय पुरुषमा कोभिड सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि भएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेशन कक्षमा राखेर उपचार गरिरहेको प्रमुख काफ्लेले बताउनु भयो । कारागारमा ७ सय ९५ जना कैदीबन्दी छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले कोभिड फैलन सक्ने हुँदा उच्च सतर्कता बढाइएको उहाँको भनाइ छ । २ सय ५५ पुरुष र २५ महिला कैदीबन्दी राख्न सक्ने क्षमताको कारागारमा अहिले ६ सय ३७ पुरुष र ५८ महिला कैदीबन्दी रहेका छन् । कारागारमा उनीहरूसँगै तीन जना आश्रित बालबालिका समेत छन् ।
इन्सेक बागमती प्रदेश कार्यलयका संयोजक कृष्ण गौतमले हेटौँडाको गौरीटारमा रहेको आइसोलेशन सेन्टरको अनुगमन गर्नु भएको छ । हेटौँडा अस्पतालले सञ्चालन गरेको सो आइसोलेशन सेन्टरमा सात जना पुरुष र ६ जना महिलाको उपचार भइरहेको सेन्टरका इञ्चार्ज डाक्टर अर्जुन खड्काले जानकारी दिनु भयो । खड्काका अनुसार दुई महिना अघि १ सय १९ जनासम्म सङ्क्रमितलाई सेन्टरमा राखेर उपचार गरिएको भए पनि अहिले धेरैजसो सामान्य लक्षण भएका सङ्क्रमित होम आइसोलेशनमै बस्ने हुँदा चाप कम भएको हो । १० जना सङ्क्रमितलाई अक्सिजन सहितको १ सय २० जनालाई यस सेन्टरमा उपचार गर्न सकिने डाक्टर खड्काले अनुगमनका क्रममा जानकारी दिनु भयो । यहाँ आएका सङ्क्रमितको पीसीआर परीक्षण खर्च मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित हेटौँडा अस्पतालले व्यहोर्ने गरेको पनि डाक्टर खड्काले बताउनु भयो ।
गण्डकी प्रदेश
पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापाका अनुसार पर्वतको जलजला गाउँपालिकामा लकडाउनको घोषणा गरिएको छ । स्थानीय समुदायका कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएकाहरूबाट सङ्क्रमण थप फैलनसक्ने भन्दै गाउँपालिकाको सङ्कट व्यवस्थापन केन्द्रले सात दिनका लागि लकडाउनको घोषणा गरेको हो । गाउँपालिका अध्यक्ष यामबहादुर मल्लका अनुसार कात्तिक १९ गतेदेखि कात्तिक २५ गतेसम्म बैङ्किङ कारोबार तथा बजार बन्द गर्ने निर्णय भएको छ । यसअघि मोदी गाउँपालिकाले कात्तिक १८ गतेदेखि कात्तिक २२ गतेसम्म लकडाउनको घोषणा गरेको थियो । जिल्लास्तरीय सङ्कट व्यवस्थापन समितिले सदरमुकाम कुश्मा बजार आगामी २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिसकेको छ ।
नवलपरासी (वर्दाघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार कावासोती नगरपालिकामा कार्यरत चार जना कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएपछि कावासोती नगरपालिकाको कार्यालय सात दिनको लागि बन्द गरिएको छ । कात्तिक २० गतेदेखि कात्तिक २६ गतेसम्मका लागि नगरपालिकाको कार्यालय बन्द गरिएको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको कार्यालय बन्द रहेपनि वडा कार्यालयबाट हुने सेवा प्रवाह र स्वास्थ्य संस्थाबाट हुने सेवा भने बन्द हुने छैन ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशको निर्वाचन परिणाम
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशको १ गाउँपालिका अध्यक्ष र ७ वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा १ गाउँपालिका अध्यक्ष र ६ जना वडाध्यक्ष पदको परिणाम घोषणा भएको छ ।…
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…