कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १८ गते)
असोज १८ गते २ हजार २ सय ५३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८६ हजार ८ सय २३ पुगेको छ । गत २४ घण्टामा १२ हजार ७ सय ८४ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज १८ गतेसम्म कोभिड–१९ सङ्क्रमणका कारण ५ सय ३५ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ६४ हजार ६९ जना निको भएका छन् । असोज १८ गते १ हजार ३ सय २९ जना निको भएका छन् भने निको दर ७३.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । २२ हजार २ सय १९ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार ११ हजार ८ सय ३९ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । २ सय २६ जनाको उपचार आइसीयूमा र ३४ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
काठमाडौँ उपत्यकामा मात्रै एक सातामा ८ हजार १० जना सङ्क्रमित थपिएका छन् । एक साताको तथ्याङ्कलाई हेर्दा औसतमा प्रतिदिन काठमाडौँ उपत्यकामा मात्रै १ हजार १ सय ४४ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो एक सातामा काठमाडौँ उपत्यकामा ४ हजार ५ सय १२ जना निको भएका छन् । औसत दैनिक ६ सय ४४ जना निको भएका छन् । एक सातामा उपत्यकाका २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
प्रदेश १
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार इटहरी उपमहानगरपालिकाका कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि असोज १८ गतेदेखि २१ गतेसम्म इटहरी उपमहानगरपालिका र वडा कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गरेको उपमहानगरपालिकाले सूचना जारी गरी जनाएको छ ।
बागमती प्रदेश
यस प्रदेशमा असोज १८ गते काठमाडौँमा १ हजार ३ सय ७३, ललितपुरमा १ सय ८७, भक्तपुरमा ३९, चितवनमा ५२, मकवानपुरमा २२, नुवकोटमा १४, काभ्रेपलाञ्चोकमा १०, धादिङ र सिन्धुपाल्चोकमा आठ/आठ, रामेछाप, रसुवा र दोलखामा दुई/दुई जना गरी १ हजा ७ सय १९ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ३५ हजार ५ सय १५ जना पुगेको छ । जसमध्ये २० हाजर ४ सय ९३ जना उपचारपछि निको भएका छन् भने १४ हजार ८ सय १५ जनाको उपचार विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा भइरहेको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या २ सय ७ जना पुगेको छ ।
काभ्रे प्रतिनिधि हिरामान तामाङका अनुसार धुलिखेल अस्पतालमा असोज १८ गते दुई जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचारको क्रममा बनेपा नगरपालिका–१३ का ४६ वर्षीय र काठमाडौँ महानरपालिका–९ का ७६ वर्षीय गरी दुई पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । डाक्टर झाका अनुसार योसँगै जिल्लामा कोभिड–१९ सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । जसमध्ये पाँच जना बाहिरी जिल्लाका हुन् । जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या ७ सय २७ जना पुगेको र ४ सय ४७ जना उपचारपछि निको भएका समेत डाक्टर झाले बताउनुभयो ।
गण्डकी प्रदेश
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार सर्वसाधारणमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि भिमाद नगरपालिकाले वडा नम्बर ६ र ७ मा लकडाउन गरेको छ । नगरपालिकाले असोज १८ गतेदेखि लागु हुने गरी असोज २३ गतेसम्म लकडाउन गरेको हो । वडा नम्बर ६ र ७ का व्यक्तिमा कोभिड सङ्क्रमण देखिएको र उक्त दुई वडामा बजार क्षेत्र रहेको कारण बढी भिडभाड हुने कारणले सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब परीक्षणको रिपोर्ट नआउँदासम्म उक्त दुई वडाका स्वास्थ्य सेवा बाहेकका अन्य सबै सेवा र बजारहरु बन्द गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले बताउनुभयो ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार असोज १८ गते विनयी त्रिवेणी गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरूमा कोभिड सङ्क्रमण पुष्टि भएपछि पाँच दिनका लागि गाउँपालिकाको कार्यालयबाट हुने सेवा प्रवाह बन्द गरिएको छ । गाउँपालिकाको कार्यालयमा कार्यरत तीन जना कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि असोज १८ गते बसेको गाउँपालिकाको बैठकले गाउँपालिकाबाट सम्पादन हुने अत्यावश्यक बाहेकका सबै काम असोज १८ गतेदेखि असोज २२ गतेसम्म बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्योति अर्यालले बताउनुभयो ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार राष्ट्रिय मानव अधिकार आयोगको एक टोलीले कोभिड–१९ ले पारेको प्रभाव र त्यसका कारण कारागारका कैदी बन्दीहरूमा के कस्तो प्रभाव परेको छ भन्ने विषयमा कारागारको निरीक्षण गरेको छ । आयोगका सदस्य सुदीप पाठकलगायतको टोलीले बेनीमा रहेको म्याग्दी कारागारको निरीक्षण गरेको हो । उक्त टोलीसँगको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्लाको समग्र अवस्थाको बारेमा जानकारी गराउनु भएको छ । जेलर राजेन्द्र शर्माले कारागारको अवस्थाका बारेमा जानकारी गराउँदै कारागारमा रहेको कारखानालाई कम गरेर अहिले क्वारेण्टाइन बनाइएको र पीसीआर परीक्षणपछि मात्र कैदीबन्दीलाई भित्र राख्ने गरेको बताउनुभयो । शर्माले आफू जेलर भएर आएपछि इन्सेक बाहेक अन्य मानव अधिकारका सङ्घसंस्थाले कारागार अनुगमन नगरेको बताउनु भएको छ ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार नेपाल राष्ट्रिय मानव अधिकार आयोगको एक टोलीले पर्वत कारागारमा रहेका कैदीबन्दीको अवस्थाबारे अनुगमन गरेको छ । अनुगमनका क्रममा कैदीबन्दीहरूले आफन्तहरूलाई भेट्न नपाएको गुनासो गरेका थिए । कैदी जीवन बिताइरहेका खिलप्रसाद पौडेलले आफन्तहरू भेट्न आउँदा पनि सहज रूपमा भेट्न नपाइएको गुनासो गरेका थिए । त्यस्तै अनुगमनकै क्रममा आयोजित अन्तरक्रिया कार्यक्रममा इन्सेक प्रतिनिधि सन्तोष थापाले कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई समस्या भएको कुरा आयोगका सदस्य सुदिप पाठकसमक्ष जानकारी गराउनु भएको थियो ।
सुदूरपश्चिम प्रदेश
कञ्चनपुर प्रतिनिधि कोमल निरञ्जन भाटका अनुसार पुनर्वास नगरपालिका–२ की २९ वर्षीया कोभिड सङ्क्रमित महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा असोज १८ गते मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय, कञ्चनपरले जनाएको छ । मृतक महिलाले असोज १४ गते सेती प्रादेशिक अस्पतालमा एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । मृतक महिलाको स्वास्थ्यमा समस्या देखिएपछि असोज १४ गते कोभिड–१९ परीक्षण गर्दा उनलाई कोरना पुष्टि भएको थियो ।
भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचाररत बिरामीमा कोभिड सङ्क्रमण देखिएपछि असोज १८ गते आकस्मिक बाहेकका सेवा एक दिनका लागि बन्द गरिएको छ । अस्पतालको आइसीयूमा उपचाररत बिरामीमा कोभिड पुष्टि भएपछि एक दिन आकस्मिक बाहेकका सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हरिकुमार श्रेष्ठले अस्पताल हाताभित्र स्यानिटाइजेसन गर्नुपर्ने भएकाले एक दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको बताउनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…