कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २३ गते)
जेठ २३ गते ३ हजार २४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ८८ हजार १ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ २३ गते परीक्षण गरिएकामध्ये २९ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ २३ गते १९ वर्ष मुनिका ३ सय ४८ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ४ सय ७१ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ४ लाख ९१ हजार ९ जना निको भएका छन् । जेठ २३ गते ६ हजार ६ सय ३६ जना निको भएका छन् भने निको हुनेको दर ८३.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ २३ गतेसम्म ७ हजार ८ सय ९८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ २३ गते ९९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ८९ हजार २ सय १७ देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, ओखलढुङ्गा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, लमजुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम, सुर्खेत, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ २३ गते बिहानसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।
प्रदेश १
ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्ला प्रशासन कार्यालयले सदरमुकामस्थित फुङलिङ नगरपालिकामा निषेध आदेशको अवधि थपेको छ । जेठ २४ गतेदेखि जेठ ३१ गतेसम्म निषेध आदेश अवधि थपिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो । वैशाख २० गतेदेखि जारी निषेध आदेश जेठ ३१ गतेसम्मका लागि लम्ब्याइएको हो । दैनिक उपभोग्य सामाग्री भएका पसल विहान ९ बजेसम्म खोल्ने र बैङहरु सिमित कर्मचारी राखेर भौतिक दुरी कायम गरि स्वास्थ्य सामाग्री व्यवस्थापनसहित संञ्चालन गर्ने निर्णय गरेको छ ।
गण्डकी प्रदेश
लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार जिल्ला अस्पताल लमजुङको भर्चुअल कार्यक्रम मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अक्सिजन प्लाण्टको उद्घाटन गर्नुभएको छ । जेठ १८ गतेबाट सञ्चालनमा आएको अक्सिजन प्लाण्टको औपचारिक उद्घाटन मुख्यमन्त्रीले जेठ २३ गते भर्चुअल कार्यक्रममार्फत गर्नुभएको जिल्ला अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्रीले २४ घण्टामा ५ हजार लिटर अक्सिजन उत्पादन क्षमता भएको अक्सिजन प्लाण्टले गर्दा जिल्लामा रहेका सेवाग्राहीलाई सहज हुने बताउनुभयो । अस्पतालमा छिट्टै आइसीयू र भेण्टिलेटरका लागि आवाश्यक दक्ष जनशक्ति प्रदेश सरकारले व्यवस्थापन गर्ने मुख्यमन्त्री गुरुङले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार कोभिड–१९ को सङ्क्रमणलाई थप फैलिन नदिन जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले जेठ २३ गते एक सूचना प्रकाशन गरी जेठ २४ गतेदेखि जेठ ३१ गतेसम्म निषेध आदेश थप भएको जानकारी दिनुभएको छ ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जिल्लामा निषेध आदेशको अवधि एक साता थप गरिएको छ । जेठ २१ गते जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले जेठ २२ गतेदेखि जेठ ३१ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको थियो । सो अवधिमा बैङ्क तथा वित्तीय संस्था एक चौथाई कर्मचारी खटाएर सातामा दुई दिन बिहान ७ बजेदेखि १० बजेसम्म खुल्ला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश
कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको जेठ २३ गते बसेको बैठकले जिल्लामा जेठ ३१ गते राति १२ बजेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको छ । निषेध आदेशको पालना नगर्नेलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ को दफा (४) र (५) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी, खेतीको समय भएको हुँदा जिल्ला प्रशासन कार्यालयले निषेध आदेशको अवधिमा एग्रोभेट बिउबिजनका पसलहरूलाई अत्यावश्यकीय कार्यको सूचीमा राखेर सञ्चालनमा ल्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनु भयो । जिल्लामा हालसम्म कोभिडबाट मृत्यु हुनेको सङ्ख्या १ सय ८७ पुगेको छ भने हाल जिल्लामा सक्रिय सङ्क्रमित ६ सय ८४ जना रहेका छन् ।
नवलपरासी पश्चिम प्रतिनिधि नारायण पराजुलीका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको जेठ २२ गते बसेको बैठकको निर्णय अनुसार जेठ ३१ गते राति १२ बजेसम्मका लागि निषेध आदेश थप गरेको छ । बैंक तथा वित्तीय संस्थाले भौतिक दूरी कायम गर्ने लगायतका जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आधा कर्मचारीबाट बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताउनु भयो ।
कर्णाली प्रदेश
जाजरकोट प्रतिनिधि दिनेशकुमार श्रेष्ठका अनुसार ठेक्का अवधि सकिएपनि जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन नसक्दा जटिल अवस्थाका कोभिड सङ्क्रमितलाई जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता छ । जेठ १५ गतेभित्र जडान गर्ने गरी काठमाडौँको नेपटेक मेडिकल सप्लायर्सले ४० लाख रूपियाँमा लिएको ठेक्का सम्झौता कार्यान्वयन नहुँदा अक्सिजनका सिलिण्डर भर्न नेपालगञ्ज पठाउनु पर्ने बाध्यता भएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टिकाराम जैसीले बताउनु भयो । ‘ठेक्का सम्झौता बमोजिम तोकेको समयभित्र काम नगर्ने ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेर धरौटी जफत गरी सम्झौता तोड्ने प्रक्रिया सुरू गरेका छौँ ।’-उहाँले भन्नुभयो-‘हामीले पटक–पटक ताकेता गरे पनि ठेकेदार कम्पनीले बेवास्ता गरिरहेको छ ।’ निर्धारित समयभित्र काम सम्पन्न हुन नसके बढीमा पाँच दिनसम्म समय थप गर्न सकिने व्यवस्था रहेको बताउँदै उहाँले एकपटक थपिएको समय गुज्रिसकेकोले नेपटेकले थप समयको माग गरेको बताउनु भयो । नेपटेकले कोभिड महामारी र लकडाउनका कारण प्लान्ट जडान गर्न नसकिएको भन्दै १५ दिनको थप समय माग गरेकोमा कार्यालयले पाँच दिनको समय मात्र थप गरेको व्यवस्थापक जैसीले बताउनु भयो । नेपटेकका प्रोप्राइटर नरबहादुर लिम्बूले जेठ मसान्तभित्र अक्सिजन प्लान्ट जडान गरिने बताउनु भयो । थपिएको समय पनि सकिएकाले ठेकेदारलाई कस्तो कारबाही गर्ने भन्नेबारे सरोकारवालासँग परामर्श भइरहेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।
मुगु प्रतिनिधि जीवन सेजुवालका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समिति मुगुको जेठ २२ गते बसेको बैठकले जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या बढ्दै जान थालेको र दुई जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले जेठ २३ गते देखि ३१ गते सम्म निषेध आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले बताउनु भयो । उहाँका अनुसार यसअवधिमा स्वास्थ्य, शान्ति–सुरक्षा, विद्युत्, सञ्चार, खानेपानी, फोहोर मैला व्यवस्थापन, तरकारी, खाद्य तथा दुग्धजन्य पदार्थ, औषधि पसल लगायत भने सञ्चालन हुने भएका छन् ।
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार जुम्ला कारागारमा रहेका १५ जना कैदी/बन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । दुई महिला र १ सय २१ पुरुष गरी १ सय २३ जना कैदी/बन्दी मध्ये १५ जना पुरुषलाई सङ्क्रमण देखिएको जेलर गयाप्रसाद पाण्डेले बताउनु भयो । उहाँले भन्नुभयो- ‘सङ्क्रमति १५ जना मध्ये एक जना ७७ वर्षीय पुरुषको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा उपचार भइरहेको छ ।’ अन्य लक्षण नदेखिएका सङ्क्रमितलाई कारागारभित्रै छुट्टै आइसोलेट गरिएको कारागार कार्यालय जुम्लाले जनाएको छ ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ २३ गतेसम्म २ हजार ९ सय १२ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ २३ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…