कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २१ गते)
जेठ २१ गते ४ हजार ६ सय २४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ २१ गते परीक्षण गरिएकामध्ये ३३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ २१ गते १९ वर्ष मुनिका ५ सय ८० जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा १४ हजार १ सय ८२ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ४ लाख ७६ हजार १ सय ३० जना निको भएका छन् । जेठ २१ गते ८ हजार ६ सय ६३ जना निको भएका छन् भने निको हुनेको दर ८१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ २१ गतेसम्म ७ हजार ६ सय ३० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ २१ गते १ सय १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ लाख १ हजार ८ सय ३९ देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, ओखलढुङ्गा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम, सुर्खेत, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ २१ गते बिहानसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।
प्रदेश १
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गते राति १२ बजेसम्मको लागि निषेध आदेश थप गरेको एक सूचना जारी गरी जानकारी दिएको छ । यसअघि थपिएको निषेध आदेशको अवधि जेठ २२ गते राति १२ बजे सकिन लागेपछि जिल्लाको डिसिसिएमसीको जेठ २१ गते बसेको बैठकले थप एक साताको लागि निषेध आदेश अवधि बढाउने निर्णय गरेको हो । धानको बिउ रोप्ने समय भएकाले जिल्लामा सञ्चालित साझा तथा सहकारी संस्थाहरूबाट बिउ बिजन खरिदका लागि किसानहरूलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी आवतजावत गर्न दिइने सूचनामा उल्लेख छ ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार महालक्ष्मी नगरपालिकाले जेठ २१ गतेदेखि जेठ २६ गतेसम्म नगरपालिकाको वडा नं. ७ सील गर्ने निर्णय गरेको छ । वडा नं. ७ को जीतपुर बजारमा सङ्क्रमितको सङ्ख्या अत्यधिक बढेकाले जेठ २१ गते बसेको नगरस्तरीय सिसिएमसीको बैठकले वडा नं. ७ लाई सील गर्ने निर्णय गरेको नगर प्रमुख पर्शुराम नेपालले बताउनु भयो । उहाँका अनुसार सील गरिएको क्षेत्रमा कुनैपनि पसल खोल्न र मानिसको आवागमनमा रोक लगाइएको छ ।
प्रदेश २
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालयले जेठ २२ गते राति १२ बजेदेखि जेठ ३० गते राति १२ बजेसम्म बारा जिल्ला भर लागु हुने गरी निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको जेठ २१ गते बसेको बैठकले निषेध आदेश थप गर्ने निर्णय गरेको हो ।
बागमती प्रदेश
धादिङ प्रतिनिधि सिताराम अधिकारीका अनुसार कोभिड व्यवस्थापन समितिको बैठकले निषेध आदेशको अवधि जेठ ३१ गतेसम्मका लागि थप गरिएको छ । कोभिड–१९ को सङ्क्रमण नियन्त्रण र रोकथामका लागि जेठ २१ गते बसेको कोभिड व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गते राति १२ बजेसम्म निषेध आदेश कायम राख्ने निर्णय गरेको हो । गत वैशाख २१ गतेबाट धादिङमा निषेध आदेश जारी छ ।
काभ्रे प्रतिनिधि हिरामान लामाका अनुसार काभ्रेमा जेठ ३१ गते राति १२ बजेसम्म निषेध आदेशको अवधि थपिएको छ । कोभिड सङ्क्रमण तीव्र रुपमा बृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले जेठ २२ गते राति १२ बजेदेखि लागु हुने गरी निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो ।
रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार कोभिड–१९ सङ्क्रमण गाउँतहमा बढेकाले रसुवामा थप एक साता निषेध आदेश जारी भएको छ । सङ्क्रमित दैनिक रूपमा बढेकाले निषेध आदेशलाई आगामी जेठ ३इ गतेसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले निषेध आदेशको समय ब९ाउन सिफारिस गरेको हो । सोही सिफरिसका आधारमा एक साता निषेध आदेश लम्ब्याउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकालले बताउनुभयो ।
सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालका अनुसार कोभिड सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि सङ्क्रमण रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जेठ २१ गते राति १२ बजेदेखि जेठ ३१ गते राति १२ बजेसम्म निषेध आदेशको अवधि थप गर्नु भएको हो ।
रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार रामेछाप नगरपालिका–८ लामागाउँमा एकै पटक ४० जनामा कोभिड सङ्क्रमण देखिएपछि गाउँलाई सील गरिएको छ । रामेछाप बजारसँगै जोडिएको लामागाउँमा जेठ २१ गते एकैपटक ४० जनामा सङ्क्रमण पुष्टि भएको रामेछाप नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विष्णुबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार अब १० दिनसम्म लामागाउँका कोही पनि व्यक्ति गाउँबाट बाहिर निसक्न पाउने छैनन् । अन्य मानिसलाई पनि गाउँमा जान प्रतिबन्ध लगाइएको छ । सङ्क्रमित सबैलाई होम आइसोलेशनमै राखिएको समस्या परेमा अस्पताल आउन भनिएको कार्कीले बताउनुभयो ।
गण्डकी प्रदेश
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार महाशिला गाउँपालिकामा जेठ २० गते लक्षण देखिएका व्यक्तिहरूको कोभिड परीक्षण गर्ने क्रममा आठ जना व्यक्तिहरूको एण्टिजेन परीक्षणमा कोभिड पुष्टि भएको पाइएपछि तीन बस्ती पूर्ण रुपमा सील गरिएको छ । महाशिला गाउँपालिकाका प्रवक्ता जीवन ठकुरीले दिनु भएको जानकारी अनुसार गाउँपालिकाको वडा नम्बर ५ स्थित लुङ्खुदेउरालीका आहाले, ठूला स्वाँरा र मुलाबारी बस्तीलाई पूर्ण रूपमा सील गरिएको हो । उहाँका अनुसार उक्त क्षेत्रमा जेठ २० गतेदेखि नै अत्यावश्यक बाहेक आवातजावत बन्द गरिएको छ ।
स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार कोभिड सङ्क्रमण बढेपछि विरुवा गाउँपालिकाका सबै वडा क्षेत्र तथा बस्तीहरू सील गरिएको छ । विरुवा गाउँपालिकाले जेठ २१ गते सूचना प्रकाशन गरी जेठ २१ गतेदेखि जेठ २९ गतेसम्म सो क्षेत्रमा कुनैपनि पसल खोल्न र आवतजावत गर्न पूर्ण रुपमा निषेध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले जानकारी दिनुभएको छ ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार जिल्लामा जारी निषेध आदेश जेठ ३१ गतेसम्म लम्बिएको छ । जेठ २१ गते बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गते राति १२ बजेसम्म जिल्लाभर निषेध आदेश लम्ब्याउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । निर्णय बमोजिम प्रमुख जिल्ला अधिकारी सागर आचार्यले निषेध आदेशको सूचना जारी गर्नुभएको हो । यसअघि वैशाख २२ गतेबाट जारी निषेध आदेश पहिलोपटक वैशाख ३१ गते, दोस्रोपटक जेठ १५ गते र तेस्रोपटक जेठ २२ गतेसम्मको लागि थपिएको थियो । बैठकले सरकारले कोभिड नियन्त्रणको लागि अध्यादेश समेत जारी सकेको हँुदा उक्त अध्यादेशको पूर्ण पालना गर्न जिल्लाबासीलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो । निषेध आदेश तथा अध्यादेशमा उल्लेखित मापदण्ड तथा कानुनहरूको उल्लङ्घन गरेमा कानुन बमोजिम कारवाही गरिने उहाँले बताउनुभयो ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार पालुङटार नगरपालिका–६ का विभिन्न वस्तीमा समुदाय स्तरमा कोभिड फैलिएपछि भोटकाटे र लामबगैँचा क्षेत्र सील गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाबाट जारी गरिएको निषेध आदेशलाई नागरिकले गरेको अवज्ञाले जोखिम बढेपछि जेठ २१ गते राति ११ बजेबाट जेठ २८ गते राति १२ बजेसम्म लागु हुने गरी सो क्षेत्र सील गरिएको वडा सचिव धनेन्द्र श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । सील गरिएको क्षेत्रमा अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरिएको र आवागमनमा कडाइ गरिएको छ ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मुस्ताङका तल्लो भेगका तीन ओटा स्थानीय तहमा आगामी जेठ ३१ गतेसम्मका लागि निषेध आदेशको अवधि थप गरिएको छ । यसअघि जेठ २२ गते सम्मका लागि जारी गरिएको निषेध आदेश जेठ २१ गते थप्ने निर्णय भएको हो । मुस्ताङको थासाङ गाउँपालिका, घरपझोङ गाउँपालिका र बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका क्षेत्रभर स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गत वैशाख ३० गतेदेखि जारी निषेध आदेश जेठ २१ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताउनुभयो । उहाँले मुस्ताङ जिल्लामा आइसीयू र भेण्टिलेटर सेवा नभएको तथा स्वास्थ्यसम्बन्धी साधन स्रोत सीमित मात्रमा रहेको सन्दर्भमा कोभिड सङ्क्रमण बढे सङ्क्रमितको उपचारमा समस्या हुने भएकोले सो निर्णय गरिएको बताउनुभयो ।
लुम्बिनी प्रदेश
अर्घाखाँची प्रतिनिधि नारायण भुसालका अनुसार कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समिति र सर्वपक्षीय बैठकको जेठ २० गतेको निर्णय अनुसार जेठ ३१ गतेसम्मका लागि निषेध आदेश थप गरिएको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना मार्फत जनाएको छ । जिल्लामा हाल ३ सय ९२ जना सङ्क्रमितको उपचार भइरहेको छ भने हालसम्म जिल्लामा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ ।
कर्णाली प्रदेश
दैलेख प्रतिनिधि अमर सुनारका अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जिल्लामा निषेध आदेशको निर्णय गरेसँगै तरकारी आयातमा रोक लगाएको कारण सदरमुकाममा तरकारी अभाव भएको छ । दैलेख भएर माथिल्लो कर्णालीका जिल्लामा तरकारी लैजान दिए पनि सदरमुकाममा मात्र रोकिएकोप्रति व्यापारी र उपभोक्ताहरूले असन्तुष्टी जनाएका छन् । जिल्लाकै उत्पादनले पुगिहाल्छ होला भनेर तरकारी आयातमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनु भयो । कोभिड सङ्कट व्यवस्थापन केन्द्रले तरकारी जस्तो अत्यावश्यक वस्तु आपूर्ति रोक्ने निर्णय गर्नु गलत भएको सदरमुकामका व्यापारी कृष्णा देवकोटाको टिप्पणी छ । देवकोटाका अनुसार सदरमुकाममा पहिले ५० रुपियाँमा पाइने आलु ६० रुपियाँ, ६० रुपियाँमा पाइँदै आएको प्याज र टमाटर प्रति केजी ८० रुपियाँ पुगेको छ ।
त्यसैगरी, जेठ २१ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले जेठ २२ गतेदेखि जिल्लाभर थप १० दिन निषेध आदेश थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताउनु भयो । थपिएको निषेध आदेशमा पनि जिल्लाका सात गाउँपालिका र चार नगरपालिका क्षेत्रमा बिहान ६ बजेदेखि साढे ८ बजेसम्म दैनिक २ घण्टा ३० मिनेट मात्र खाद्यवस्तु तथा अत्यावश्यक बस्तु किनमेल गर्न दिने गरी पसलहरू खोल्न दिने निर्णय गरेको उहाँले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश
कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोभिडको सङ्क्रमण दर नघटेको भन्दै जेठ ३१ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताउनु भयो । निषेध आदेशको अवधिमा सबै बैङ्क तथा वित्तीय संस्थाहरू आइतबार र बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म जनस्वास्थ्यका मापदण्डहरूको पालना गरी सञ्चालन गर्न सकिने र तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु पसल, खानेपानी, ग्याँस पसलहरू, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) प्रत्येक आइतबार र बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुला गर्न पाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी महतोले बताउनु भयो ।
डोटी प्रतिनिधि वाशुदेव जोशीका अनुसार कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको जेठ २० गते बसेको बैठकले कोभिड भाइरस सङ्क्रमण नियन्त्रण गर्न जारी गरिएको निषेध आदेश जेठ ३१ गतेसम्मका लागि थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनु भयो । कोभिड सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेध आदेशका क्रममा जिल्लामा दैनिक उपभोग्य वस्तुहरूको मूल्य व्यवसायीहरूले आफूखुशी वृद्धी गरेको जनगुनासो पश्चात् जिल्ला प्रशासन कार्यालय, डोटीको नेतृत्व तथ पत्रकार, वकिल, नगरपालिकाका कर्मचारी, नागरिक समाज र उद्योग बाणिज्य सङ्घ, डोटीका पदाधिकारीहरूको सहभागितामा बजार अनुगमन पनि सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ २१ गतेसम्म २ हजार ३ सय जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ २१ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका-६ का २० वर्षीय सन्तराम थारुलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २६ गते बलात्कार गरेको…
रिम्नागाउँमा खानेपानीको समस्या
भेरी नगरपालिका–१, रिम्नामा खानेपानीको समस्या भएको छ । जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि रिम्नागाउँमा खानेपानीको समस्या भएको हो । रिम्नाका करिव ३ सय ५०…
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…
कोशी प्रदेशमा रहेका अधिकांश बर्थिङ्ग सेण्टर प्रभावकारी छैनन्
बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ । तर, कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका बर्थिङ्ग सेण्टर सुविधा सम्पन्न र प्रभावकारी नभएको…