कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते ८ हजार ६४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ८० हजार ४ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ ५ गते परीक्षण गरिएकामध्ये ३८ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ ५ गते १९ वर्ष मुनीका ७ सय १८ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा २१ हजार १ सय ३९ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ३ लाख ६० हजार ४ सय ३ जना निको भएका छन् । जेठ ५ गते ७ हजार ९ सय ८९ जना निको भएका छन् भने निको हुनेको दर ७५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ ५ गतेसम्म ५ हजार ६ सय ५७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ ५ गते २ सय ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ लाख १४ हजार ३ सय ५८ देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी पश्चिम, सुर्खेत, सल्यान, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ ५ गते साँझसम्म ७४ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।
प्रदेश १
पाँचथर प्रतिनिधि मङ्गल बेघाका अनुसार निर्माण व्यवसायीले तोकिएको समयसीमाभित्र भवन निर्माण कार्य सम्पन्न नगर्दा भेण्टिलेर र आइसीयूसहितको ५० शैया सञ्चालन गर्न कठिनाई भएको छ । अघिल्लो साल नै निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौता भएपनि तोकिएको समयसीमा भित्र भवन निर्माण कार्य पूरा नहुँदा उपकरण खरिद तथा जनशक्ति माग एवम् व्यवस्थापन गर्न समस्या भएको जिल्ला समन्वय समितिका प्रमुख विमलप्रसाद सापकोटाले बताउनु भयो । जिल्लामा सुविधा सम्पन्न अस्पताल नभएपछि गम्भीर बिरामीलाई अन्यत्र लैजानु पर्ने बाध्यता छ ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार इटहरी उपमहानगरपालिका–३ को सुनौलो टोलका सबै जना बिरामी भएको सूचना आएपछि सो बस्ती सील गरिएको छ । उनीहरूमा कोभिड सङ्क्रमण देखिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभएको छ । आफूसहित स्वास्थ्यकर्मीको समूह टोल मै गएर एण्टिजेन परीक्षण गर्दा सङ्क्रमण देखिएको उपमेयर गौतमले बताउनुभयो । समुदायमा गएर नौ जनाको एण्टिजेन विधिबाट परीक्षण गर्दा सात जनाको रिपोर्ट पोजेटिभ आएको हो । एउटै टोलका २५ जना बिरामी परेका थिए । सात घरका २५ जनामा ज्वरो, खोकी, पखाला लाग्ने लगायतका लक्षण देखिएको स्थानीयले बताएका छन् । इनरुवा नगरपालिका–२ को मेहता टोललाई जेठ ५ गतेदेखि सील गरिएको छ । वडाका प्रायः सबै घर परिवारमा रुघाखोकी, ज्वरो लग्ने समस्या देखिएको र ३५ वर्षीय एक सङ्क्रमितको मृत्यु भएकाले इनरुवा नपा–२ सील गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । प्रशासनले नगरपालिकाको वडा नं २ को आग्रहमा सील गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटा र धनकुटा नगरपालिकाको सहकार्यमा नगरपालिकाका १० ओटै वडामा कोभिड सङ्क्रमितको समस्या बुझ्नका लागि जेठ ४ र ५ गते गएको टोलीसँग सङ्क्रमितहरूले आधारभुत स्वास्थ्य सामग्रीको माग गरेका छन् । उनीहरूले अझैपनि कोभिडले पार्ने असरबारे जनचेतनाको कमी रहेकोसमेत बताएका छन् । कोभिड रोकथामबारे टोलटोलमा सचेतामूलक अभियानलाई तीव्र पार्नुपर्ने उनीहरूको माग छ । ‘यति समस्या होला भनेर सोचेकै थिएन तर, मरेर बाँचेको छु ।’–धनकुटा नपा–७ का एक सङ्क्रमितले भने–‘जिम्मेवार निकायका केही सीमित व्यक्तिहरूको उपस्थितिमा सचेतना गराउन आवश्यक छ ।’ नगरपालिकाको सबै वडामा रहेका सङ्क्रमितहरूको अवस्था बुझ्न इन्सेक प्रतिनिधि ईश्वर थापासहित धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारी र स्वास्थ्यकर्मीहरू स्वास्थ्य सामग्रीसहित घरघर पुगेका हुन् । टोलीले नगरपालिकाको हिले, कागते, स्कुलडाँडा, छारागाउँ, भीमनारायण चोक, बीचबजार, हुलाक टोललगायतका ठाउँमा रहेका सङ्क्रमितहरूलाई परामर्श दिएको छ ।
प्रदेश २
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कोभिड–१९को सङ्क्रमण बढेकाले जोखिम न्यूनीकरण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेध आदेशको समय थप गरेको छ । जेठ ७ गते बिहान ६ बजे निषेध आदेशको समय सकिने भएकाले पुनः समय थप गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो । यसअघि सञ्चालनमा रहेका बैङ्क तथा वित्तीय संस्था र अत्यावश्यक सेवा प्रवाह गर्ने पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्ने अनुमति दिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार लहान नपाले जेठ ५ गतेदेखि लहान नगरपालिकाका नागरिकका लागि निःशुल्क पीसिआर परीक्षणका लागि स्वाब सङ्कलन थालिएको स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले बताउनु भयो । नगर क्षेत्रभित्र स्वाब सङ्कलन गर्ने व्यवस्था नहुँदा सिरहा जानु पर्ने अवस्था रहेकोले लहान नपास्थित पशुपति आदर्श माविमा स्वाब सङ्कलन केन्द्र स्थापना गरी स्वाब सङ्कलन थालिएको उहाँको भनाइ छ । पशुपति आदर्श माविमा २५ बेडको आइशोलेसन स्थापना गरी सञ्चालनमा ल्याइएको पनि यादवले बताउनु भयो । कोभिड पोजेटिभ देखिएको र घरमा बस्ने व्यवस्था नभएका सङ्क्रमितका लागि आइसोलेशन तयार गरी स्वास्थ्यकर्मी समेतको व्यवस्था गरिएको छ ।
पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार कोभिड सङ्क्रमण जाँच्ने सामग्री एन्टिजेन किटको अभाव भएको छ । स्वास्थ्य कार्यालय पर्साले एन्टिजेन किटको अभावले कोभिड परीक्षणमा समस्या आएको जनाएको छ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाका लागि आवश्यक एन्टिजेन किट तीन दिनदेखि पर्सा जिल्लामा सकिएको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताउनु भयो । पर्साका गाउँगाउँमा अहिले कोभिड सङ्क्रमण समुदायस्तरमा पैmलिरहेको अवस्थामा करिब ५ हजार एन्टिजेन किट तत्काल आवश्यक रहेको उहाँको भनाई छ । प्रदेश २ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयसँग स्वास्थ्य कार्यालय पर्साले पत्राचार गरी जानकारी गराएको तर उपलब्ध नभएको स्वास्थ्य निरीक्षक ठाकुरले बताउनु भयो ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा जडान भए पनि जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको चार थान भेण्टिलेटर निजी अस्पताललाई दिने जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णय कार्यान्वयन हुन सकेन । सिडिओ फणिन्द्रमणी पोखरेलेको अध्यक्षतामा युनिक अस्पतालका डाक्टर सञ्जय सिंह र छिन्नमस्ता अस्पतालका सञ्चालक शैलेन्द्रमोहन झासमेतको उपस्थितिमा उक्त निर्णय भएपनि निजी अस्पतालका स्वास्थ्यकर्मीहरूले भेन्टिलेटर चलाउन नमानेकाले सो निर्णय कार्यान्वयन हुन नसकेको हो । युनिक अस्पतालका सञ्चालक जयप्रकाश ठाकुरले आवश्यक अक्सिजन र जनशक्ति उपलब्ध हुने शर्तमा मात्र भेण्टिलेटर सञ्चालन गर्न सकिने बताउनु भयो । भेण्टिलेटर चलाउन खोज्दा पाँच जना नर्सले नै अस्पतालबाट राजिनामा दिएको र केही डाक्टरले समेत राजिनामा दिई सकेकाले नयाँ भर्नाका लागि जेठ ५ गते विज्ञापन गर्नु परेको ठाकुरले जानकारी दिनुभयो । छिन्नमस्ता अस्पतालका केही चिकित्सक र स्वास्थ्यकर्मीले समेत राजिनामा दिएका छन् । छिन्नमस्ता अस्पतालको आइसोलेशन वार्ड गजेन्द्रनारायण सिंह अस्पतालकै स्वास्थ्यकर्मीहरूले सञ्चालन गरिरहेको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले बताउनु भयो ।
बागमती प्रदेश
रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार रसुवामा थप १० दिनका लागि निषेध आदेश जारी गरिएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकको निर्णयपछि प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकालले पुनः १० दिनका लागि निषेध आदेश जारी गर्नुभएको हो । यसअघि वैशाख २७ गते राति १२ बजेदेखि जेठ ३ गते राति १२ बजेसम्मका लागि निषेध आदेश जारी गरिएको थियो । निषेध आदेशको समयमा खाद्य वस्तु तथा पशुपंछीका दाना, खाना पकाउने ग्यास, तरकारी, फलफुल, दुग्ध डेरीजन्य, माछा, मासु, पानी, निर्माण सामग्रीलगायतका अत्यावश्यक पसल व्यवसाय बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र संचालन गर्न दिइएको छ । औषधि एवम स्वास्थ्य सामाग्रीका पसलहरू भने २४ सै घण्टा खुल्ला रहेका छन् ।
सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालका अनुसार बलेफी गाउँपालिका–१ मा रहेको जलवीरे बजार क्षेत्र जेठ ५ गते बिहान १० बजेदेखि १२ गतेसम्मका लागि सील गरिएको बलेफी गाउँपालिका–१ का वडा अध्यक्षद्वारा जारी सूचनामा उललेख छ । जलवीरे बजारका ३० जनामा कोभिड परीक्षण गरिएकोमा एकैदिन १८ जनामा सङ्क्रमण देखिएकोले जेठ ५ गते बिहान बसेको सर्वदलीय बैठकले बजार क्षेत्र सील गर्ने निर्णय गरेको वडा अध्यक्ष मधुबहादुर थापाले बताउनु भयो । सील गरिएको स्थलमा कुनै पनि किसिमका भेला, मानिसहरू भेला हुने सामुदायिक कार्यहरु नगर्न र नगराउन साथै हिँडडुल नगर्न वडा अध्यक्ष थापाले सूचना जारी गरी सर्वसाधारणमा अनुरोध गरिएको छ ।
भक्तपुर प्रतिनिधि रमेश गिरीका अनुसार कोभिड–१९ सङ्क्रमितको उपचार गर्दै आएको चाँगुनारायण नगर अस्पतालमा उपकरण अभावले सङ्क्रमितको उपचारमा समस्या आएपछि नगरपालिकाले सहयोगको आह्वान गरेको छ । १० दिनदेखि कोरोना अस्पतालमा रुपान्तरण भएपछि कोभिड सङ्क्रमितको चाप बढेकाले अस्पतालका लागि अत्यावश्यक उपकरण जुटाइदिन सार्वजनिक रूपमा नै आह्वान गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । नगरपालिकाले स्वास्थ्य मन्त्रालयसँग रेडियोग्राफी, मेडिकल अक्सिजन प्लाण्ट, कम्तीमा पाँच आइसीयू शैया, भेण्टिलेटर, ल्याब बिस्तार र जनशक्तिको व्यवस्थापनको माग गर्दै पत्राचार गरेपनि जबाफ नआएको अस्पतालले जनाएको छ । नगरपालिकाले ५० ओटा अक्सिजन सिलिण्डरको जोहो गरी वडा नं. ३ र ४ का वडाध्यक्षहरूले आलोपालो गर्दै रातभरी लाइन बसेर अक्सिजन ल्याउने गरेका पनि जनाएको छ । नगरपालिकाले नागरिकका लागि नेपाल इन्जिनियरिङ कलेजमा १ सय शैयाको आइसोलेशन सञ्चालनमा ल्याएको छ ।
गण्डकी प्रदेश
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार जिल्ला प्रशासन कार्यालय तनहुँले सरकारी बाहेकका अन्य निर्माण कार्य स्थगित गर्न आदेश दिएको छ । जेठ ४ गते सूचना प्रकाशन गरी प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कोभिड सङ्क्रमण झन् बढेकाले केही समय सरकारी बाहेकका अन्य सबै निर्माण कार्य रोक्न आदेश दिनुभएको हो । जेठ १५ गतेसम्म तनहुँ जिल्लाभर निषेध आदेश जारी गरिएको हुँदा सोही समयसम्म सरकारी तर्फबाट सञ्चालित योजना तथा आयोजना बाहेक अन्य निर्माण कार्य रोक्न आदेश दिइएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
नवलपरासी बर्दाघाट सुस्ता पूर्व तिर्थराज डुम्रेका अनुसार मध्यविन्दु नगरपालिकामा रहेको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा ओपिडि (बहिरङ्ग सेवा) जेठ ५ गतेदेखि बन्द गरिएको छ । कोभिड–१९ सङ्क्रमितको उपचारका लागि आवश्यक व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार बहिरङ्ग सेवा जेठ ५ गतेदेखि अर्को सूचना नहुँदासम्मका लागि बन्द गरिएको मध्यबिन्दु नपा–७ का वडा अध्यक्ष एवम् चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष अमृत ज्ञवालीले बताउनुभयो । स्वास्थ्य केन्द्रमा बहिरङ्ग सेवा बन्द गरिए पनि आकस्मिक र प्रसूति सेवा भने बन्द नगरिने उहाँले बताउनुभयो । हाल चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सहितको आइसोलेशन वार्ड तयार गरी कोभिड सङ्क्रमितको उपचार भइरहेको छ । स्वास्थ्य केन्द्रमा १० बेडको आइसोलेशन तयार छ । हाल स्वास्थ्य केन्द्रमा ६ जना कोभिड–१९ सङ्क्रमित उपचाररत छन् ।
स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्दै आँधिखोला गाउँपालिकाको रङ्गेठाँटी बजार क्षेत्रमा चार किल्ला तोकेर जेठ ५ गतेदेखि जेठ १२ गतेसम्म सो स्थान भित्र–बाहिर आउन–जान, व्यापार व्यवसाय लगायतको क्रियाकलाप पूर्ण रूपमा बन्देज गरिएको र यस अवधिमा अत्यावश्यक कार्य बाहेक बाहिर ननिस्कन अनुरोध गरिएको आँधिखोला गाउँपालिकाका प्रमुख प्रशाासकीय अधिकृत शेषकान्त पौडेलले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।
लुम्बिनी प्रदेश
बाँके जिल्लामा अक्सिजन अभाव भएपछि अस्पतालहरूले नयाँ बिरामी भर्ना लिन नसकिने सूचना सार्वजनिक भइरहेको अवस्थामा भेरी अस्पताल, नेपालगञ्जले अस्पताल परिसरमा बनाइएको ट्याङ्कमा लिक्विड अक्सिजन खन्याइएको छ । लिक्विड अक्सिजनलाई ग्याँस बनाएर सेन्ट्रल पाइपलाइनबाट बिरामीको बेडसम्म पुर्याइने भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले बताउनु भयो । थापाका अनुसार बढीमा पाँच दिनमा पाइपलाइनबाट बिरामीको बेडमा अक्सिजन पुग्ने छ । भेरी अस्पतालले अहिलेसम्म सिलिण्डरबाट काम चलाइरहेको छ । अस्पतालमा दैनिक करिब ४ सय सिलिण्डर खपत हुने गर्दछ ।
रुपन्देही प्रतिनिधि रिमा बिसीका अनुसार कोभिड सङ्क्रमितको चाप बढ्दै जाँदा तिलोत्तमा नगरपालिकाले वडा नम्बर–९ केवलानीस्थित नगरपालिकाको सभाहलमा कोभिड अस्थायी अस्पताल निर्माण गरेको छ । शंकरनगरमा रहेको आइसोलेशन सेन्टरले बिरामीको चाप थेग्न नसक्ने देखिएपछि थप आइसोलेशन सेन्टर निर्माण गरिएको मेयर बासुदेव घिमिरेले बताउनु भयो । नगरपालिकाले अस्थायी अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि उपमेयर जागेश्वरी चौधरीको संयोजकत्वमा समिति गठन गरेको छ ।
सुदूरपश्चिम प्रदेश
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार कोभिड बिरामीहरूको उपचारका लागि अक्सिजनको अभाव भएपछि सेती प्रादेशिक अस्पतालमा ३३ ओटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ । कोभिड सङ्क्रमितको उपचारमा सहजता ल्याउन सङ्घीय सरकारबाट प्राप्त भएका २४, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दिएका ६ र धनगढीका हार्डवयर व्यवसायी सुरेन्द्र राँठीले हस्तान्तरण गरेका तीन ओटा गरी ३३ ओटा अक्सिजन कन्सन्ट्रेटर सेती प्रादेशिक अस्पतालमा जडान गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनु भयो । अक्सिजन कन्सन्ट्रेटरबाट सङ्क्रमितको बेडसम्म सोझै पाइप जोडेर अक्सिजन दिन थालिएकाले सङ्क्रमितको उपचारमा सहज भएको श्रेष्ठको भनाइ छ ।
बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार गौमुल गाउँपालिकाले अक्सिजन सहित १५ बेडको कोभिड अस्पताल स्थापना गरेको छ । गाउँपालिकामा कोभिडको सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितहरूको उपचारका लागि चिकित्सक र अक्सिजन सहित १५ बेडको अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका उपाध्यक्ष सिता थापाले बताउनु भयो । सञ्चालनमा ल्याइएको कोभिड अस्पतालमा अक्सिजन र एउटा विद्युतीय कन्सन्ट्रेटर सहित डाक्टर रुपेश बोगटीको नेतृत्वका स्वास्थ्यकर्मी रहेकाले कोभिड सङ्क्रमितहरूको उपचारमा समस्या नहुने अध्यक्ष हरिबहादुर रोकायले बताउनु भयो । गाउँपालिकाको कार्यालय घटमुनामा कोभिड अस्थायी अस्पताल सञ्चालन गरेसँगै ओपिडि सेवा, ल्याब र एक्सरे लगायतका सेवा सञ्चालन गरेदेखि दैनिक ३५ जना भन्दा बढी बिरामी आउने गरेको डाक्टर रुपेश बोगटीले बताउनु भयो । यसैगरी, जगन्नाथ गाउँपालिकामा कोभिड सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि गाउँपालिकामै कार्यरत डाक्टर जस्मिता बलमपाकी सहित स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर सङ्क्रमितलाई भेटेर उपचार तथा परामर्श सेवा सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद गैरेले बताउनु भयो । गाउँपालिकाको वडा नम्बर ३ मनिकाँडा गाउँमा कोभिड सङ्क्रमित भई होम आइसोलेशनमा रहेका २० जनालाई भेटेर डाक्टर बलमपाकी सहितको टोलीले उपचार तथा परामर्श दिइरहेको वडाध्यक्ष डम्बरबहादुर शाहीले बताउनु भयो ।
दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार व्याँस गाउँपालिकाको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको जेठ ४ गते बसेको बैठकले कोभिडका बिरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको छ । कोभिड सङ्क्रमणका कारण स्वास्थ्य समस्या देखिएका बिरामीहरूलाई स्वास्थ्य संस्थामा पुर्याउन तथा थप उपचारका लागि जिल्ला अस्पतालसम्म पुर्याउन गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिह कुँवरले बताउनु भयो । गाउँपालिकामा कोभिड सङ्क्रमितहरू दिनप्रतिदिन बढ्दै गएपछि अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द समेत गरिएको प्रशासकीय अधिकृत कुँवरले बताउनु भयो । गाउँपालिकामा १६ जना कोभिड सङ्क्रमित रहेका छन् । जिल्ला अस्पताल, दार्चुलाबाट रेफर गरिएका तीन सहित जिल्लामा जेठ ५ गतेसम्म नौ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ ।
यसैगरी, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको २० लाख रुपियाँ बजेटबाट महाकाली नगरपालिका–४ खलंगास्थित महेन्द्र नमुना माविमा ५० बेडको आइसोलेशन सेन्टर निर्माण गरिएको छ । कोभिड सङ्क्रमित बिरामीको सहजता तथा उपचारका लागि ५० बेडको आइसोलेशन सेन्टर निर्माण गरिएको स्वास्थ्य शाखा संयोजक मोहन महराले बताउनु भयो । बेड जडानको काम सम्पन्न भएको र अक्सिजन जडान गर्ने कार्य भइरहेकोले जिल्ला अस्पतालसँगको सहकार्यमा अक्सिजन सहितको आइसोलेशन सेन्टर चाँडै सञ्चालनमा ल्याइने महराले बताउनु भयो ।
बैतडी प्रतिनिधि नरी बडुका अनुसार कोभिड सङ्क्रमणका कारण जारी गरिएको निषेध आदेशको समयमा जिल्लाका विभिन्न बजारहरूमा दैनिक उपभोग्य सामग्रीको मूल्य अत्याधिक वृद्धि भएपछि थप समस्या उत्पन्न भएको स्थानीयहरूको गुनासो रहेको छ । केहीदिन अगाडी प्रतिकेजि ३८ रुपियाँमा पाउने मोटो चामल स्थानीय बजारमा अहिले ५३ रुपियाँ पुगेको मेलौली नगरपालिका–३ का स्थानीय शिक्षक मिनबहादुर चन्दले बताउनु भयो । यसैगरी प्रतिकेजि ८० रुपियाँमा पाउने चिनीको मूल्य अहिले १ सय ३० रुपियाँमा किन्न बाध्य हुनु परेको चन्दले गुनासो गर्नु भयो । उहाँले भन्नुभयो–‘जिल्लामा निषेध आदेश जारी भएपछि दैनिक उपभोग्य बस्तुको मूल्य आकासिएको छ । उपभोक्ताहरू मारमा छन् । बजार अनुगमन समेत हुन सकेको छैन ।’ निषेध आदेश जारी भएको समयमा मजदुरी समेत गर्न नपाउदा र यसै समयमा उपभोग्य सामग्रीको बजार मूल्य अत्याधिक वृद्धि भएपछि दैनिक जिवन धान्नै मुस्किल भएको दशरथचन्द नगरपालिका–१ का खेम लोहारले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो– ‘काम दाम केही छैन् । बजारमा रासनको भाउ आकासियो । हातमुख जोड्ने कसरी ?’ यता व्यापारीहरूले भने सामानको खरिद मूल्य नै बढेर आएकाले महङ्गोमा सामान बेच्नु परेको बताएका छन् । आफूहरूले थोक मूल्यमा सामान खरिद गर्दा नै निर्धारित मूल्य भन्दा बढी पर्ने गरेको सुर्नया गाउँपालिका–३ का व्यापारी बिरेन्द्रप्रसाद भट्टको भनाइ छ । बजार अनुगमनका क्रममा खरिद मूल्य नै बढी भएकोले उपभोग्य वस्तुको मूल्यमा वृद्धि गरिएको व्यपारीहरूले बताउँदै आएका सुर्नया गाउँपालिका–३ का वडाध्यक्ष दिलाराम भट्टको भनाइ छ ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ ५ गतेसम्म ३ सय ७५ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ ५ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
जातीय विभेद घटनाका कसुरदार गिरफ्तार
सिंजा गाउँपालिका–६ का २९ वर्षीय विवेन्द्र नेपालीलाई जातीय विभेद गरेको कसुरमा सोही ठाउँका ३२ वर्षीय नवीन बुढालाई प्रहरीले ०८१ भदौ ३१ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदीलाल…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बबई गाउँपालिका–१ का १९ वर्षीय यामबहादुर पुनलाई प्रहरीले ०८१ असोज २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २२ गते बलात्कार गरेको…
स्थानीय तह उपनिर्वाचनका लागि आयोगद्वारा कार्यतालिका सार्वजनिक
विभिन्न कारणले रिक्त भएका स्थानीय तहमा उपनिर्वाचनको लागि सरकारले मिति तय गरेपछि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि राजनीतिक…
कारागारमा थुनुवा मृत्यु घटनाको अनुसन्धान गर्न अधिकारकर्मीहरुको माग !
जिल्ला कारागार शाखा, कैलालीमा पुर्पक्षका लागि थुनामा राखिएका घोडाघोडी नगरपालिका–४ जनकपुरका २२ वर्षीय दिपक विकको ०८१ भदौ ३१ गते मृत्यु भएको घटनामा सुदूरपश्चिम प्रदेशमा कार्यरत बिभिन्न संघसस्थाहरुले ०८१ भदौ २ …
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हुम्ला जिल्ला ताँजाकोट गाउँपालिका–४ स्थायी घर भई चौतारा साँगाचोकगढी नपा–५ स्थित बहुप्राविधिक विद्यालयमा अध्ययनरत १८ वर्षीय वीरेन्द्र शाहीलाई असोज २ गते गिरफ्तार गरेको…