कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ३० गते)
वैशाख ३० गते ८ हजार ९ सय ६० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । वैशाख ३० गते परीक्षण गरिएकामध्ये ४६ प्रतिशतमा कोभिड पुष्टी भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १५.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । वैशाख ३० गते १९ वर्ष मुनीका ८ सय ३३ जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ । गत २४ घण्टामा १९ हजार ४ सय ७४ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ३ लाख २१ हजार ५ सय १८ जना निको भएका छन् । वैशाख ३० गते ५ हजार ५५ जना निको भएका छन् भने निको हुनेको दर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख ३० गतेसम्म ४ हजार ४ सय ६६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख ३० गते २ सय १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ लाख ५ हजार २ सय ७ देखाइएको छ । मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, नवलपरासी पूर्व, गोरखा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, नवलपरासी पश्चिम, सुर्खेत, कैलाली, कञ्चनपुर, बैतडी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार वैशाख ३० गते साँझसम्म ७३ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढ्दै आएपछि जोखिम न्यूनीकरण तथा रोकथामका लागि चिचिला गाउँपालिकाले वैशाख ३० गतेदेखि जेठ २ गतेसम्म सबै प्रकारका सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ । वैशाख ३० गतेको बैठकले जेठ २ गतेसम्म गाउँपालिकाले प्रदान गर्दै आएका सबै प्रकारका सेवा बन्द गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत शुक्रादेवी राईले बताउनु भएको छ ।
खोटाङ प्रतिनिधि रामधन राईका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमित बढेपछि जोखिमलाई मध्यनजर गर्दै रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले वैशाख ३० गतेदेखि सीमा नाका सील गरेका छन् ।
पाँचथर प्रतिनिधि मङ्गल बेघाका अनुसार वैशाख ३० गतेबाट जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा प्रवाह नगर्ने जानकारी गराएको छ । कार्यालयमा हुने भीडभाडका कारण सङ्क्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने निर्णय भएको सहायक प्रमुख अधिकारी धननञ्जयकुमार शाहले जानकारी दिनु भयो ।
उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार कोभिड–१९ को दोस्रो महामारीले अक्सिजन अभावमा बिरामीको मृत्यु हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका आठ ओटै स्थानीय तहलाई वैशाख ३० गते अक्सिजनको व्यवस्थापनमा जुट्न परिपत्र गरेको छ । जिल्लामा जोखिमको अवस्थालाई मध्यनजर गरी अक्सिजनको व्यवस्थापनमा जुट्न परिपत्र गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले बताउनु भएको छ ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार अस्पतालहरू चहार्दैमा कञ्चनरूप नगरपालिकाका कोभिड–१९ सङ्क्रमितको वैशाख ३० गते मृत्यु भएको छ । अस्पतालहरू चहार्दैमा मृत्यु हुने एक जनासहित कञ्चनरूप नगरपालिकाका कोभिड सङ्क्रमित तीन जनाको वैशाख ३० गते मृत्यु भएको स्वास्थ्य शाखा कञ्चनरूपले जनाएको छ । होम आइसोलेशनमा रहेकी ६५ वर्षीया महिलाको स्वास्थ्य बिग्रिएपछि स्वास्थ्य शाखा, कञ्चनरूपले वैशाख २९ गते सुविधाजनक अस्पतालमा लैजान रेफर गरेको थियो । धरान, विराटनगर र राजबिराजको अस्पतालमा बेड भरिएर भर्ना हुन नपाउँदा सङ्क्रमितलाई पुनः फर्काएर घरमै ल्याइएकोमा वैशाख ३० गते बिहान मृत्यु भएको स्वास्थ्य शाखा, कञ्चनरूपका सहसंयोजक डम्बरप्रसाद गुप्ताले बताउनु भयो ।
कञ्चनरुप नगरपालिकामा कोभिड–१९ को सङ्क्रमण समुदायमा फैलिएको भन्दै नगरपालिकाले स्वास्थ्यका अति आवश्यक बाहेक सेवाहरू वैशाख ३१ गतेदेखि जेठ ६ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले वैशाख ३० गते एक सूचना जारी गर्दै कञ्चनरुप नगरपालिकाको समुदाय स्तरमा व्यापक रूपमा सङ्क्रमण फैलिरहेकाले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि एक हप्ता सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार वैशाख ३० गते बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकको सिफारिस तथा जिल्ला सुरक्षा समितिको निर्णय समतेको आधारमा वैशाख ३१ गते राति १२ बजेसम्म लागु गरेको निषेध आदेशको अवधि जेठ १० गते राति १२ बजेसम्मको लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । वैशाख ३० गते प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले एक सूचना जारी गर्दै जिल्लामा अगामी जेठ १० गतेसम्मको लागि निषेध आदेश थप गरिएको जानकारी गराउनु भएको हो । कोभिडको दोस्रो लहर सुरू भएपछि वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जारी गरिएको निषेध आदेश १० दिनका लागि थप गरिएको हो ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार प्रादेशिक अस्पताल जनकपुरमा भेण्टिलेटर अभावमा ४५ वर्षीय पुरुषको वैशाख ३० गते मृत्यु भएको छ । बिरामीलाई लिएर वैशाख ३० गते साँझ ५ बजे नै प्रादेशिक अस्पतालको इमरजेन्सी कक्षमा भर्ना गराउन लगिएको भएपनि भेण्टिलेटर अभावले राति ८ बजेसम्म अस्पतालले भेण्टिलेटर उपलब्ध नगराउन नसक्दा आफ्नो बुबाको मृत्यु भएको मृतकका छोराले बताए । बिरामीलाई अस्पताल पु¥याउँदा उनको शरीरमा अक्सिजनको मात्रा ५२ मात्रै रहेको अस्पतालले जनाएको मृतकका छोराले बताए ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार डिसिसिएमसिको वैशाख ३० गते बसेको बैठकले वैशाख ३१ गते राति १२ बजेदेखि लागु हुने गरी जेठ २१ गतेसम्मको लागि जिल्लामा पुर्ण निषेध आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताउनु भयो । बैठकले यस अवधिमा औषधि, पानी, दुध डेरी र पेट्रोलियम पदार्थ निर्वाध रूपमा सञ्चालन हुन दिने निर्णय गरेको छ ।
रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार यसअघि सिमित क्षेत्रमा लगाईँदै आएको निषेध आदेश ०७८ वैशाख ३० गतेबाट रामेछाप जिल्लाभर लागु गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले वैशाख ३० गते राति १२ बजेदेखि जेठ ९ गते राति १२ बजेसम्मको लागि जिल्लाभर यस्तो आदेश जारी गरेको हो । वैशाख २९ गते बसेको जिल्ला विपत् व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णय अनुसार निषेध आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजूले बताउनुभयो ।
मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार चार स्थानीय तहमा वैशाख ३१ गते सम्मका लागि जारी निषेध आदेश जेठ १३ गते सम्म लम्ब्याइएको । वैशाख ३० गते जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसीएमसी) ले सो निर्णय गरेको हो । निषेध आदेश थप कडा बनाइने छ ।
स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार जिल्लामा कोभिड १९ सङ्क्रमितको सङ्ख्या तीव्र रूपमा बढेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले निषेध आदेशलाई थप गरेर जेठ १५ गतेसम्म पुर्याएको छ । वैशाख ३० गते बसेको कोभिड–ं१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकको सिफरिस तथा जिल्ला सुरक्षा समितिले गरेको निर्णय अनुसार वैशाख ३१ गते सकिने निषेध आदेशलाई बढाएर जेठ १५ गतेसम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनुभयो । सङक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुरुप जिल्लाभर १५ दिने निषेध आदेश थप गरिएको हो । यसअघि वैशाख २१ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजे सम्मका लागि निषेध आदेश जारी गरिएको थियो ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार कोभिड–१९को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै हिमालपारीको जिल्ला मुस्ताङका तीन ओटा स्थानीय तहमा एक हप्ताको लागि निषेध आदेश जारी भएको छ । थासाङ गाउँपालिका, घरपझोङ गाउँपालिका र बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका क्षेत्रभर स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताउनुभयो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को वैशाख २९ गते बसेको बैठकले वैशाख ३० गते राति १२ बजेदेखि जेठ ६ गतेसम्मका लागि निषेध आदेश जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चर्चित धार्मिकस्थल मुक्तिनाथ मन्दिर भने जेठ १५ गतेसम्म भक्तजनका लागि प्रवेश निषेध गरिने छ ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लामा कोभिड–१९ को सङ्क्रमित बढिरहेको कारण जिल्लामा यसअघि जारी गरेको निषेध आदेश थप भएको छ । वैशाख १३ गतेबाट लगाइएको निषेध आदेश जेठ ७ गतेसम्म थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले वैशाख २९ गते सूचना जारी गरेर जानकारी दिनुभयो ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गोरखामा वैशाख ३१ गते राति १२ बजेबाट जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेध आदेश थप भएको छ । वैशाख ३० गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको सिफारिसमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले थप दुई साता निषेध आदेश जारी गर्नुभएको हो । सङ्क्रमण दर बढेकाले रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि निषेध आदेशको अवधि बढाइएको पौडेलले बताउनुभयो । हालको निषेध आदेश भन्दा थप कडाइ गरिएको उहाँको भनाइ छ । गोरखा नगरपालिका क्षेत्रका बैङ्कबाट आकस्मिक बाहेकका सेवा बन्द हुने छन् भने लघुवित्त, वित्तीय संस्था, सहकारी र इन्स्यूरेन्सको सेवा पूर्ण रूपमा बन्द हुने प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले बताउनुभयो ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जोखिमलाई ध्यानमा राख्दै बागलुङ जिल्लामा १५ दिन निषेध आदेश थप गरिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले जारी गरेको १० दिनको निषेध आदेशको समयसीमा वैशाख ३१ गते सकिँदैछ । कोभिड सङ्कट नियन्त्रण तथा व्यवस्थापन समितिको वैशाख ३० गते बसेको बैठकले आगामी जेठ १५ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । अहिलेको निषेध आदेशमा बैङ्क वित्तीय संस्थालाई सुरुवातमा खुल्ला र केही दिनयता आलोपालोमा खुल्ला गरिएको थियो । तर, अब हुने १५ दिनको निषेध आदेशमा बैङ्क, वित्तीय संस्था पनि पूर्ण रूपमा बन्द रहने उहाँको भनाई छ ।
रुपन्देही प्रतिनिधि रिमा बिसीका अनुसार कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या बढेपछि शव व्यवस्थापनमा समस्या हुन थालेको छ । जिल्लामा हालसम्म कोभिडका कारण ३ सय ९ जनाको मृत्यु भएको छ । नयाँ कोभिड निर्देशिकामा स्वास्थ्य मापदण्ड अपनाएर मृतकका आफन्तले शव व्यवस्थापन गर्नसक्ने भएपनि अहिलेसम्म दुई जनाको शव मात्र मृतकका आफन्तले व्यवस्थापन गरेका छन् । नेपाली सेनाको दुई ओटा टोलीले शव व्यवस्थापन गर्दै आएको छ । प्रत्येक दिन मृतकको सङ्ख्या बढ्दै गएपछि व्यवस्थापनलाई सहज बनाउन थप टोली बढाउन थालेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनु भयो । कोभिड सङ्क्रमणको जोखिम बढदै आएपछि सम्मरीमाई गाउँपालिकाकाले प्रत्येक घरलाई सेनिटाइज गर्ने अभियान थालेको छ । जिल्लाको सबैभन्दा कम सङ्क्रमित भएको सम्मरीमाई गाउँपालिकाका सातै ओटा वडाका ७ हजार ६ सय घरधुरीमा सोडियम हाइपोक्लोराइड पाँच प्रतिशत स्प्रे गर्नका लागि ४२ जनाको टोली खटाएको गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । उक्त टोलीले कोभिडबाट जोगिन विभिन्न सचेतनामूलक सन्देश पनि प्रवाह गरिरहेको शुक्लाले बताउनु भयो । उहाँले प्रत्येक १५ दिनमा स्प्रेको क्रमलाई दोहोर्याउने बताउनु भयो ।
कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार डिसिसिएसीको वैशाख २९ गतेको बैठकले निषेध आदेशको अवधि १० दिनको लागि थप गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हाल अनुमति लिएका बाहेकका सवारी साधनमा रोक लगाउने निर्णय गरिएको छ । यसैगरी होम आइसोलेशनमा रहेका सङ्क्रमितहरूको निगरानीका लागि वडा कार्यालयबाट स्वास्थ्यकर्मी खटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी नै सङ्क्रमित भएपछि कनकासुन्दरी, गुठीचौर र तातोपानी गाउँपालिका सील गरिएको छ । वैशाख ३० गतेदेखि जेठ ४ गतेसम्म कनकासुन्दरी गाउँपालिका सील गरिएको छ । त्यसैगरी वैशाख २९ गतेदेखि गुठीचौर र तातोपानी गाउँपालिका एक साताका लागि सील गरिएको छ । कनकासुन्दरी गाउँपालिकाका २९ जना कोभिड सङ्क्रमितमध्ये १५ जनालाई हाँडसिंजा स्वास्थ्य चौकीको आइसोलेशनमा राखिएको स्वास्थ्य चौकी इञ्चार्ज वीरेन्द्र उपाध्यायले बताउनुभयो । ‘यहाँ पाँच बेडको अस्थायी कोभिड अस्पताल पनि छ । तर, अक्सिजन नभएका कारण समस्या भइरहेको छ । पीपीइको पनि अभाव छ ।’
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार गौरीफन्टा नाकालगायत सुदूरपश्चिम प्रदेशका सीमा नाकाहरूबाट भारतबाट फर्किने नेपालीहरूको सङ्ख्या दिनप्रतिदिन बढिरहेको भएपनि एन्टिजेन कीटको अभावमा भारतबाट फर्किएका नेपालीहरूमध्ये निकै थोरै सङ्ख्यामा मात्रा कोभिड परीक्षण हुने गरेको छ । गौरीफन्टा नाका भएर दैनिक १ हजार २ सय जनाको हाराहारीमा भित्रिरहेका भएपनि औसत २ सयभन्दा पनि कमको सङ्ख्यामा मात्र कोभिड परीक्षण हुने गरेको गौरीफन्टा नाकामा राखिएको हेल्थ डेष्कका इञ्चार्ज गणेश साउदले बताउनु भयो । भारतबाट फर्किनेका सङ्ख्या अनुसार कीट प्राप्त हुन नसकेका कारण आफूहरूलाई उपलब्ध गराइएको २ सय कीट भित्रै रहेर परीक्षण गर्नु परेकोले अन्य व्यक्तिहरूको परीक्षण गर्न नसकिएको साउदले बताउनु भयो । नाकामा परीक्षण गरिएकाहरू मध्ये कोभिड सङ्क्रमित देखिएकाहरूलाई धनगढीस्थित कनरीमा स्थापना गरिएको आइसोलेशनमा पठाउने गरिएको छ भने परीक्षण नगरिएका र नेगेटिभ आएकाहरू सिधै गन्तव्यतर्फ लाग्ने गरेका कारण गाउँघरमा कोभिड सङ्क्रमणको जोखिम उच्च रहेको साउदको भनाई छ ।
बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्लामा कोभिड सङ्क्रमण दिनानुदिन बढदै आाएको भन्दै जेठ ७ गतेसम्म निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको छ । वैशाख ३० गते कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठक बसेर निषेध आदेशको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनु भयो । जिल्लामा वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म निषेध आदेश जारी गरिएको थियो । कोभिड माहामारी बढदै आएकाले यसको रोकथाम तथा नियन्त्रण कार्य प्रभावकारी रुपमा सञ्चालन तथा व्यवस्थापन गर्न सङ्क्रमण रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को ६(३) बमोजिम निषेध आदेश जारी गरिएको अधिकारीले बताउनु भयो ।
कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार कोभिड माहामारीको नियन्त्रण तथा रोकथाम हुन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले सूचना जारी गर्दै वैैशाख ३१ गते राति १२ बजेदेखि जेठ ७ गते राति १२ बजेसम्म एक हप्ताका लागि निषेध आदेश थप गरिएको जनाएको छ । कोभिड–१९ को सङ्क्रमण दर उच्च रहँदै आएपछि वैशाख ३० गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयको आधारमा निषेध आदेश थप गरिएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताउनु भयो ।
डडेल्धुरा प्रतिनिधि भूपेन्द्र बिष्टका अनुसार स्थानीय तहले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि आसाइसोलेशन तथा क्वारेण्टिनको निर्माण गर्ने कार्य गर्दै आएका भएपनि स्वास्थ्य उपकरण तथा दक्ष जनशक्ति अभावका कारण समस्या झेल्दै आएका छन् । आलिताल गाउँपालिकाले १५ शैयाको आइसोलेशन वार्ड तयार गरेको भएपनि जनशक्ति अभावका कारण आइसोलेशन कक्ष सञ्चालनमा आउन नसकेको गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताउनु भयो । आइसोलेशन निर्माण गरेको भएपनि दक्ष जनशक्ति र आवश्यक उपकरणहरू प्रदेश तथा सङ्घीय सरकारले उपलब्ध गराएमा सङ्क्रमितहरूको उपचारमा सहजता हुने अध्यक्ष गुरुङको भनाई छ । परशुराम नगरपालिकाले पनि कोभिड सङ्क्रमितहरूको उपचारका लागि २५ शैयाको आइसोलेशन बेड तयार गरेको छ तर दक्ष जनशक्तिका साथै सङ्क्रमितहरूका लागि अक्सिजन नभएका कारण उपचारमा समस्या भएको स्वास्थ्य शाखा प्रमुख गणेशबहादुर सिंहले बताउनु भयो । उहाँका अनुसार सरकारले आइसोलेशन वार्ड तयार गर्न निर्देशन दिए अनुरुप काम गरिएको भएपनि चाहिने उपकरण र जनशक्ति अभावमा कोभिड सङ्क्रमितहरूको उपचारमा समस्या भएको छ ।
बैतडी प्रतिनिधि नरी बडुका अनुसार जिल्लामा स्थापना भएका अस्थायी कोभिड अस्पतालमा डाक्टर पाउनै मुस्किल भएको छ । गाउँपालिकाको अस्थायी कोभिड अस्पतालका लागि पटकपटक डाक्टरको दरखास्त आह्वान गर्दा पनि कसैले आवेदन नदिने गरेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनु भयो । उहाँले भन्नु भयो–‘सिगास गाउँपालिकाले अस्थायी कोभिड अस्पतालमा डाक्टरका लागि तीन पटक आवेदन आह्वान ग¥यो । तर, एक जना पनि चिकित्सक पाउन सकेन ।’ कोभिडका सङ्क्रमितको उपचारका लागि स्थापना भएको अस्थायी अस्पतालमा अहिले एक जना स्टाफ नर्स कार्यरत छिन् । मेलौली नगरपालिकाले पनि अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि तीन पटकसम्म जनशक्ति माग गर्दा समेत डाक्टर नपाएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताउनु भयो । उहाँले भन्नु भयो–‘हामीले धेरै प्रयास ग¥यौँ । तर, डाक्टर पाएनौँं ।’ सुर्नया गाउँपालिकाले बासुलिंग स्वास्थ्य चौकीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । तर, जनशक्ति अभावका कारण कोभिड पोजेटिभहरूको उपचारमा समस्या हुने गरेको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताउनु भयो । उहाँले भन्नु भयो–‘अस्थायी कोभिड अस्पतालका लागि खोलेको विज्ञापनमा एक जना मात्रै स्टाफ नर्स आएका छन् । अरुको आवेदन नै परेन ।’ शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाले पनि अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि तयारी गरेको भएपनि आवश्यक जनशक्ति नपाएकै कारण सेव प्रवाह गर्न नसकेको जनाएका छन् । सङ्घीय सरकारले गत माघमै स्थानीय तहहरूमा अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि बजेट पठाए पनि पुर्चौंडी नगरपालिका, पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिका बाहेकका स्थानीय तहहरूले मेडिकल अधिकृत पाउन सकेका छैनन् ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ वैशाख ३० गते सम्म १ सय ९१ जनामा कोभिड-१९ पुष्टि भएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ वैशाख ३० गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लाहान नपा-१० स्थायी घर भई चौतारा साँगाचोकगढी नपा-५ स्थित स्वावलम्बन लघुवित्त कार्यालय चौताराका शाखा प्रमुख ४६ वर्षीय दिपक भूजेललाई असोज…
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…