कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २७ गते)
वैशाख २७ गते ९ हजार २ सय ७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ५ हजार ७ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । वैशाख २७ गते परीक्षण गरिएकामध्ये ५३ प्रतिशतमा कोभिड पुष्टी भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १५.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । वैशाख २७ गते १९ वर्ष मुनीका ७ सय ४९ जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ । गत २४ घण्टामा १७ हजार ६ सय २३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ३ लाख ६ हजार ७ सय ९४ जना निको भएका छन् । वैशाख २७ गते ४ हजार ७ जना निको भएका छन् भने निको हुनेको दर ७६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख २७ गतेसम्म ३ हजार ८ सय ५९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख २७ गते १ सय ३९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ९३ हजार १ सय ४१ देखाइएको छ । मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, महोत्तरी, बारा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, नवलपरासी पूर्व, गोरखा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, सुर्खेत, कैलाली, कञ्चनपुर र बैतडीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार वैशाख २७ गते साँझसम्म ७० जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार बर्दिवास नगरपालिकाले वैशाख २८ गतेदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले वैशाख २७ गते सूचना जारी गर्दै वैशाख २८ गतेदेखि वैशाख ३१ गतेसम्मको लागि नगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा बन्द गरिने जनाएको हो । विश्वव्यापी रूपमा नयाँ भेरियन्ट सहितको कोभिडको सङ्क्रमण फैलिँदै आएपछि महोत्तरी जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको वैशाख १९ गते बसेको बैठकले वैशाख २१ गतेदेखि वैशाख ३१ गतेसम्म जिल्लाभर निषेध आदेश जारी गरेको छ ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार निजगढ नगरपालिका–९ मा सञ्चालनमा रहेको सामुदायिक अस्पतालमा उपचाररत ३२ वर्षीया महिलालाई अक्सिजनको अभावमा उपचारमा समस्या भएको छ । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रमेश लामाले निजगढ नगरालिकाको कार्यालयमा अक्सिजनको स्टक नभएको बताउनुभयो उपचाररत महिलाका परिवारले अक्सिजनको सिलिण्डर नपाएकाले उपचार गर्न नसकेको गुनासो नगरपालिकाको कार्यालय र सरकारी तथा गैर सरकारी निकायमा गरेपनि उपचार नभएको उल्लेख गरेको छ ।
सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालका अनुसार कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या बढ्दै आएकाले सङ्क्रमण समुदायसम्म फैलन नदिन भन्दै वैशाख २७ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेध आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । जिल्लामा रहेको डिसिसिएमसीको वैशाख २६ गते बसेको बैठकले जिल्लभर निषेध आदेश जारी गरी सङ्क्रमण रोग फैलन नदिने निर्णय भएको साहायक प्रमुख जिल्ला आधिकारी बावुराम खनालले बताउनु भयो । यसअघि जिल्लाका सात स्थानीय तहमा निषेध आदेश जारी गरिएको थियो ।
धादिङ प्रतिनिधि सिताराम अधिकारीका अनुसार कोभिड–१९ को महामारी बढेसँगै जिल्लाका धेरै स्वास्थ्य संस्थाहरूले बहिरङ्ग सेवा बन्द गराएको छ । त्रिपुरासुन्दरी गाउँपाकिलाले अर्को सूचना नभएसम्मका लागि बहिरङ्ग सेवा बन्द गराएको छ । कोभिडको महामारी बढेका कारण नागरिकको स्वास्थ्य सुरक्षाको ख्याल गर्दै सल्यानटार प्राथमिक स्वाथ्य केन्द्रमा सञ्चालित आपतकालिन बाहेकका स्वाथ्य सेवा बन्द गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र इटनीले बताउनु भएको छ । यसअघि गजुरी प्राथमिक स्वास्थ्य केन्द्र, धादिङ अस्पतालले पनि बहिरङ्ग सेवा बन्द गराएको थियो । बैरेनी स्वास्थ्य चौकी, नेत्रावती डबजोङ गाउँपालिकाका स्वास्थ्य चौकीहरूले आपतकालिन बाहेकका सेवा बन्द गराइसकेका छन् । जिल्लामा कोभिडको महामारी बढेका कारण अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन जिल्ला बासीलाई आग्रह गर्दै वैशाख २१ गतेदेखि जिल्लाभर निषेध आदेश समेत जारी गरिएको छ ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार कोभिड–१९ को सङ्क्रमण जिल्लाभरी बढ्दै गएपछि वैशाख २८ गते देखि जेठ ७ गतेसम्म पर्वत जिल्लामा निषेध आदेश जारी गर्ने निर्णय गरिएको छ । जिल्लाका गाउँगाउँमा सङ्क्रमण फैलदै गएपछि पूर्ण रुपमा निषेध आदेश जारी गरिएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको वैशाख २७ गते बसेको बैठकले वैशाख २८ गते राति १२ बजदेखि जेठ ७ गते राति १२ बजेसम्म सो आदेश जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या झण्डै २ सय ५० पुगेकाले जिल्लाभरिनै लकडाउन गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । यसअघि कुश्मा नगरपालिकाका चार र जलजला गाउँपालिकाका चार ओटा वडामा मात्र त्यस्तो आदेश जारी गरिएको थियो ।
लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार कोभिड–१९ सङ्क्रमणको जोखिम उच्च हुन थालेपछि जिल्लाभर वैशाख २८ गते राति १२ बजेदेखि जेठ २ गते सम्मका लागि निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताउनुभयो । सो अवधिभर अत्यावश्यक स्वास्थ्य, खाद्यान्न, सञ्चारकर्मी र सुरक्षाकर्मीको यातायात साधन बाहेकका यातायातका साधन आवातजावातमा रोक लगाइएको जानकारी दिनुभयो ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार सात बेड क्षमताको आइसोलेशन कक्ष भरिएपछि गोरखा अस्पतालमा वैशाख २७ गते टेण्ट र अस्पतालको आँगनमा रहेको बेञ्चमा राखेर बिरामीको उपचार गरिएको छ । सिरानचोक गाउँपालिकाकी एक कोभिड–१९ सङ्क्रमित महिलालाई टेण्टमा राखेर उपचार गरिएको छ । त्यस्तै छातीको समस्याको उपचार गराउन आउनुभएका गोरखा नगरपालिकाकाका ६० वर्षीय पुरुषको भने अस्पतालको आँगनमा रहेको बेञ्चमा राखेर उपचार गरिएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताउनुभयो । ‘सात बेडको आइसोलेशन छ । कोभिड सङ्क्रमित आठ जना हुनुहुन्छ ।’–उहाँले भन्नुभयो–‘एक जना सुत्केरी महिलालाई टेण्टमा राखेर उपचार गर्यौँ । एक जना पुरुषको भने पिसिआर परीक्षण नहुँदा बेञ्चमै राखेर उपचार गर्नुपर्यो ।’ ०७२ वैशाख १२ को भूकम्पले भत्काएको गोरखा अस्पतालको भवन निर्माणाधिन छ । हाल अस्पताल कर्मचारी अवास गृह भवनबाट सञ्चालित छ । अस्पताल भवन निर्माण पुरा नहुँदा समस्या भएको उहाँले बताउनुभयो । उहाँले वैशाख २७ गते नै पाँच बेड व्यवस्थापन गरिएपछि टेण्ट र बेञ्चमा उपचाररत बिरामीलाई सारिएको उहाँले बताउनुभयो ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार अन्नपुर्ण गाउँपालिकामा गाउँ कार्यपालिकाको सिफारिसमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको निर्णय समेतका आधारमा वैशाख २७ गते राति १२ बजेबाट वैशाख ३१ गते राति १२ बजे सम्मका लागि निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभएको छ ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार जिल्ला प्रशासन कार्यालय तनहँुले ऋषिङ र घिरिङ गाउँपालिकामा निषेध आदेश जारी गरेको छ । यसअघि वैशाख २२ गतेबाट जारी गरिएको निषेध आदेशमा ऋषिङ गाउँपालिका–१ बाहेकको क्षेत्र र घिरिङ गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेध आदेश थिएन । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसीसी) तनहुँको वैशाख २१ गतेको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी सागर आचार्यले उक्त दुई स्थानीय तहमा पनि वैशाख २७ गते राति १२ बजेदेखि निषेध आदेश जारी गर्नुभएको हो । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हुँदा जिल्ला भर नै निषेध आदेश लगाउनु परेको र निषेध आदेशलाई थप कडाइ र प्रभावकारी बनाउने निर्णय अनुसार ती स्थानीय तहमा पनि निषेध आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङत बरालले बताउनुभयो ।
गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार जिल्ला प्रशासन कार्यालयले जेठ ४ गतेसम्म निशेध आदेश थप गरेको छ । दैनिक उपभोग्य बस्तुको मूल्य बढेको जनगुनासो आएपछि प्रशासकीय अधिकृत उद्धव पन्थीको नेतृत्वमा इन्सेक प्रतिनिधि टोपलाल अर्यालसहितको टोलीले बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा बजारमा मुल्यमा एकरुपता नभएको र म्याद नाघेको बस्तुहरू भेट्टिएको छ । प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माको नेतृत्वको टोलीले मेडिकल फर्म र मेटल वर्कशपहरूमा अक्सिजनको अवस्थाका बारेमा अनुगमन गरेको छ । यसैबिच रेसुङ्गा नगरपालिकाले २० बेडको आइसोलेशन, नेपाल पत्रकार महासङ्घले पाँच बेड र रेसुङ्गा अस्पतालले ३० बेडको आइसोलेशन निर्माण गरेका छन् ।
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार स्थानीय तहले सञ्चालनमा ल्याएका आइसोलेशनहरूमा अक्सिजन र दक्ष जनशक्तिको अभाव देखिएको छ । स्थानीय तहले २५ देखि ५० शैयासम्मको आइसोलेशन सञ्चालनमा ल्याएपनि अक्सिजन र चिकित्सकको अभावमा सबै आइसोलेशनहरूमा रहेका कोभिड सङ्क्रमितहरूले उपचार पाउन सकेका छैनन् । कोभिडको दोस्रो लहर सुरू भएसँगै स्थानीय तहहरूले आइसोलेशन सञ्चालनमा ल्याएपनि हालसम्म दक्ष जनशक्ति र अक्सिजनको जोहो गर्न नसकिएको चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताउनुभयो । आइसोलेशन सञ्चालनमा ल्याइएपनि अक्सिजन र जनशक्ति नहुँदा आइसोलेशनमा कोभिड सङ्क्रमितहरू आउन छोडेको लेकवेशी नगरपालिकाका प्रमुख गगनसिं सुनारले बताउनुभयो । आफूहरूले सञ्चालनमा ल्याएका आइसोलेशनहरूमा पर्याप्त मात्रामा अक्सिजन र जनशक्ति पठाउन सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय भइरहेपनि हालसम्म उपलब्ध भने हुन नसकेको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले बताउनुभयो । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रविन खडकाले जिल्लामै अक्सिजनको अभाव रहेको र अन्यत्रबाट समेत आपुर्ति नभएकोले अक्सिजन पठाउन नसकिएको बताउनुभयो । जनशक्तिको हकमा स्थानीय तहहरूले नै व्यवस्थापन गर्ने अधिकार भएको हुँदा चिकित्सक बाहेकका अन्य स्वास्थ्यकर्मीहरूलाई परिचालन गर्नुको विकल्प नभएको जानकारी दिनुभयो ।
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार तातोपानी गाउँपालिमा कार्यरत एक कर्मचारीलाई कोभिड सङ्क्रमण देखिएपछि गाउँपालिकाको कार्यालय सील गरिएको छ । गाउँपालिकाबाट प्रदान गरिने अति आवश्यक काम बाहेक दैनिक प्रशासनिक सेवा वैशाख २८ गतेदेखि वैशाख ३१ गतेसम्म बन्द गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार टीकापुर अस्पतालमा एनेस्थेसिया र फिजिसियनको अभावमा सात ओटा भेण्टिलेटरसहितका आइसियु सेवा प्रयोगविहीन बनेको छ । कोभिड सङ्क्रमितलाई उपचार गर्ने भन्दै टीकापुर अस्पतालमा स्थापना भएको आइसियु सेवा प्रयोग विहीन बनेको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर रमेशप्रसाद उपाध्यायले बताउनु भयो । अस्पतालले हाल २० शैयाको एचडियु (उच्च उपचार कक्ष) स्थापना गरेर कोभिड सङ्क्रमितको उपचार गर्दै आएको छ । अस्पतालले लामो समयदेखि एनेस्थेसिया र फिजिसियनको माग गर्दै आएको भएपनि त्यसको व्यवस्था हुन नसक्दा आइसियूमा भर्ना गरेर उपचार गर्नु पर्ने कोभिड सङ्क्रमितहरूको उपचार गर्न नसकिएको डाक्टर उपाध्यायको भनाई छ । टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक रावलले आइसियू सञ्चालनमा आउन नसक्दा कोभिड सङ्क्रमितलाई थप उपचारका लागि धनगढी र नेपालगञ्ज पठाउनु पर्ने बाध्यता रहेको बताउनु भयो ।
बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार कोभिड माहामारी दिनानुदिन बढिरहेको समयमा जिल्लामा सङ्क्रमितहरूलाई बोक्नका लागि एम्बुलेन्स सेवा समेत पाउन समस्या भएको स्थानीयहरूले गुनासो गरेका छन् । जिल्ला सदरमुकाममै बिरामी बोक्ने एम्बुलेन्स नहुँदा सङ्क्रमितहरूले थप समस्या झेल्नु परेको छ । कोभिड सङ्क्रमतिले घरबाट जिल्ला अस्पतालमा उपचारका लागि जान र तथा अस्पतालले थप उपचारका लागि जिल्ला बाहिर पठाउने गरेको भएपनि एम्बुलेन्स सेवा नभएका कारण जिल्लाका सङ्क्रमितहरू थप जोखिममा परेका छन् । बडिमालिका नगरपालिका–८ का एक जना कोभिड सङ्क्रमितले जिल्ला अस्पतालमा उपचारका लागि जान गाडी नपाउँदा एक दिन लगाएर मात्रै जिल्ला अस्पताल, बाजुरा पुगेको गुनासो गरे । जिल्ला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष निमेन्द्र शाहीेले सङ्घीय, प्रादेशिक र स्थानीय गरी तीन तहको सरकार भएपनि नागरिकले एम्बुलेन्स सेवा समेत नपाउनु र यसको व्यवस्थापन गर्न नसक्नुले सरकार नागरिकप्रति जबाफदेही नभएको आरोप लगाउनु भयो ।
बैतडी प्रतिनिधि नरी बडुका अनुसार कोभिड सङ्क्रमितको मृत्यु भएपछि मैलौली नगरपालिका वडा नम्बर २ लाई पूर्ण रुपमा सील गरिएको छ । वडाका अधिकांश व्यक्तिमा रुघाखोकी र ज्वरो आउने समस्या देखिएपछि वडालाई जेठ २ गतेसम्म पूर्ण रुपमा सील गरिएको वडाध्यक्ष महेन्द्रबहादुर चन्दले बताउनु भयो । वडाको सेली र लिखोडा टोलमा कोभिड सङ्क्रमितहरू देखिएकाले एक टोलबाट अर्कोे टोलमा जान समेत रोक लगाइएको वडाध्यक्ष चन्दले बताउनु भयो । जिल्लाका अधिकांश ग्रामीण बस्तीहरूमा कोभिड–१९ को सङ्क्रमण फैलिएको भएपनि उनीहरूको स्वास्थ्य परीक्षण हुन नसकेको चन्दको भनाई छ ।
डोटी प्रतिनिधि बाशुदेव जोशीका अनुसार जिल्ला अस्पताल, डोटीमा दक्ष स्वास्थ्यकर्मीहरू नभएकै कारण जिल्ला अस्पताल डोटीमा रहेको भेण्टिलेटर मेसिन प्रयोगविहीन भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले गएको कात्तिकमा अस्पताललाई दुई ओटा भेण्टिलेटर र आइसियू बेड हस्तान्तरण गरेको भएपनि जनशक्ति अभावका कारण प्रयोगविहीन बनेको हो । जिल्ला अस्पताल, डोटीमा भेण्टिलेटर भएपनि प्रयोगमा आउन नसक्दा कोभिड–१९ का बिरामीले ज्यान गुमाउनु परेको छ । कोभिडका गम्भीर बिरामीलाई भेण्टिलेटर आवश्यक परेपछि जिल्ला बाहिर रिफर गर्ने गरिएको छ । वैशाख २४ गते मात्रै भेण्टिलेटर आवश्यक परेपछि जिल्ला अस्पतालबाट रिफर गरिएका ३२ वर्षीय पुरुषको बाटोमै मृत्यु भएको थियो । मेसिन जडान भएको ६ महिना भइसकेको भएपनि दक्ष जनशक्ति अभावका कारण भेण्टिलेटर सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल, डोटीका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर कृष्णराज जोशीले बताउनु भयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ वैशाख २७ गते सम्म १ सय ९ जनामा कोभिड-१९ पुष्टि भएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ वैशाख २७ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
जिल्लामा बालविवाह कायमै हुँदा किशोरीहरूको स्वास्थ्यमा जोखिम
जिल्लामा बालविवाह कायमै हुँदा युवती तथा किशोरीहरूको स्वास्थ्यमा जोखिम हुँदै गएको छ । जिल्लामा २० वर्ष मुनिका किशोर किशोरीले विवाह गर्न नमिल्ने कानुनी प्रावधान भए पनि मुगुमा बालविवाह कायमै रहेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिवन नगरपालिका-४ का ३७ वर्षीय श्याम कुमार महरा चमारलाई ०८१ भदौ १८ गते इलाका प्रहरी कार्यालय हरिवनले गिरफ्तार गरेको छ । आरोपित महराले…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लालबन्दी नगरपालिका-१६ का २८ वर्षीय दिलबहादुर घलानविरुद्ध पीडित पक्षले ०८१ भदौ १७ गते इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिनुभएको छ । घरमा कोही नभएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामग्राम नगरपालिका-२ का ३७ वर्षीय कृष्ण धोवीलाई प्रहरीले ०८१ भदौ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १९ गते बलात्कार गरेको…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका–२ का लक्ष्मीकान्त पनेरूलाई ०८१ भदौ २० गते गिरफ्तार गरेको छ । बालिकालाई ०८० चैत १२ गते बलात्कार गरी फरार…