कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक ४ गते)

कात्तिक ४ गते ३ हजार ९३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ३९ हजार १ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १३ हजार ८ सय ६१ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार कात्तिक ४ गतेसम्म ७ सय ६५ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ९६ हजार ६ सय ९ जना निको भएका छन् । कात्तिक ४ गते २ हजार १ सय ८ जना निको भएका छन् भने निको हुनेको दर ६९.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ४१ हजार ७ सय ५५ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार २८ हजार १ सय ९६ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । २ सय ७३ जनाको उपचार आइसीयूमा र ७८ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।

प्रदेश १
उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार कटारी नगरपालिकाका चार जना जनप्रतिनिधिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाको सेवा प्रवाह प्रभावित भएको छ । कात्तिक ४ गते नगरपालिकाले सूचना टाँस गरी कार्यालय र मातहतका कार्यालयका शाखाहरूबाट सम्पादन गरिने अत्यावश्यक सेवा (दमकल, फोहोरमैलाको गाडी, नगर प्रहरी, स्वास्थ्य सेवा) बाहेक दैनिक सञ्चालन हुने सेवाहरू कात्तिक १५ गतेसम्म बन्द हुने जनाएको छ । सङ्क्रमण थप फैलन सक्ने खतरा रहेकाले नियन्त्रणका लागि अत्यावश्यक बाहेक अन्य सेवा प्रवाह बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

प्रदेश २
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार कर्मचारीमा कोभिड–१९ सङ्क्रमणको मिल्दोजुल्दो लक्षण देखिएकाले जिल्ला प्रशासन कार्यालय, मालपोत, भूमिसुधार र नापी कार्यालयका कामकाज कात्तिक ४ गतेदेखि कात्तिक १५ गतेसम्मका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनु भएको छ । यस अवधिमा ती कार्यालयबाट हुने आकस्मिक र आन्तरिक कामबाहेक अन्य कुनै सेवा प्रवाह नहुने उहाँले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयमा ठाडो निवेदन तथा उजुरी, मुद्दा, शान्ति सुरक्षा, विपद् व्यवस्थापन र हातहतियार नविकरणसम्बन्धी सेवा बाहेकका सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिनु भयो ।
दशैँ, दीपावली तथा छठ जस्ता चाडपर्वको समयमा मानिसहरुको आवागमन तथा जमघटका कारण कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्नसक्ने भन्दै जिल्लामा निषेधाज्ञा लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले कात्तिक ३ गते जनाएको छ । दशैँमा घटस्थापनादेखि नवमी तिथिसम्म जिल्लाका विभिन्न शक्तिपिठ तथा मन्दिरहरुको पण्डालमा सर्वसाधारणको भीड अत्यधिक हुने भएकोले सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनु भयो । शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पूजा बाहेक दर्शनका लागि जमघट नगर्न सर्वसाधारणलाई प्रमुख जिल्ला अधिकारी कटुवालले आग्रह गर्नु भएको छ ।

बागमती प्रदेश
दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार सरकारले एक महिना पहिले निर्णय गरी स्थानीय तहहरूलाई कोभिड अस्पताल सञ्चालन गर्न बजेट उपलब्ध गराए पनि अझै सञ्चालन हुन सकेको छैन । सङ्घीय सरकारले एक महिना अगाडि स्थानीय तहहरूलाई तत्काल पाँच बेडको कोभिड अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउन निर्देशनसहित १० लाख रुपियाँ अनुदान उपलब्ध गराएको थियो । तर, स्थानीय तहहरूले आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको समयमै व्यवस्थापन गर्न नसक्दा कोभिड अस्पताल दशैँअघि सञ्चालनमा नआउने भएको हो । जिरी नगरपालिका र विगु गाउँपालिका बाहेक अन्य सात ओटा स्थानीय तहहरूलाई कोभिड अस्पताल स्थापना गरी सञ्चालनका लागि नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट निर्देशन आएको लामो समय बितिक्सदा पनि अस्पताल सञ्चालनमा आउन सकेका छैनन् । विगु गाउँपालिकाको केन्द्र रहेको सिंगटी बजारमा घर भाडामा लिएर पाँच बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको स्वास्थ्य शाखा प्रमुख ईश्वर खड्काले जानकारी दिनु भयो ।

लुम्बिनी प्रदेश
प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार स्वर्गद्वारी नपा–३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, भिङग्रीका स्वास्थ्यकर्मी र कर्मचारीलाई कात्तिक ३ गते कोभिड सङ्क्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको कात्तिक ३ गते बसेको आकस्मिक बैठकले स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक बाहेकका सेवा अर्को सूचना नआउञ्जेलसम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगर स्वास्थ्य संयोजक दलबहादुर केसीले बताउनु भयो । हालसम्म जिल्लामा कोभिड सङ्क्रमितको सङ्ख्या ७ सय ३४ पुगेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधि नारायण पराजुलीका अनुसार बर्दघाट नगरपालिकास्थित चिसापानी अस्पतालका दुई जना कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि बहिरङ्ग सेवा बन्द गरिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गर्नु परेको अस्पतालका डाक्टर शान्ति केसीले बताउनु भयो । त्यसैगरी रामग्राम नगरपालिका–८ मा रहेको स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोभिड पुष्टि भएपछि स्वास्थ्य चौकी सील गरिएको छ । जिल्लामा सङ्क्रमितको सङ्ख्या ८ सय २६ जना पुगेको छ । हालसम्म १० जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ ।

कर्णाली प्रदेश
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार जिल्ला प्रशासन कार्यालय जुम्लाले मठमन्दिर तथा शक्तिपिठमा जमघट तथा भिडभाड नियन्त्रण गर्न कात्तिक ४ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । मठमन्दिर, शक्तिपिठ, गुम्बामा नित्य पुजाआजा बाहेक दर्शनका लागि मन्दिरमा गई जमघट तथा भिडभाड नगर्न सर्वसाधारणका लागि अर्काे सूचना नहँुदासम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो । ‘सबै नागरिकलाई आफ्नो घरमा मात्र पूजापाठ लगायतका गतिविधि सञ्चालन गर्न अनुरोध गरेका छौँ ।’–प्रजिअ अधिकारीले भन्नुभयो ।


अनलाइन डेस्क