कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २९ गते)
असोज २९ गते ३ हजार ५ सय ६४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज २९ गतेसम्म ६ सय ९४ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । असोज २९ गते मात्रै १९ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८४ हजार ५ सय १८ जना निको भएका छन् । असोज २९ गते ३ हजार ५ सय ६४ जना निको भएका छन् भने निको हुनेको दर ६९.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ३६ हजार ५ सय ३३ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार २४ हजार १ सय ४८ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । ३ सय १४ जनाको उपचार आइसीयूमा र ६८ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कर्मचारीहरूमा कोभिड–१९ सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएको नयाँ नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण, हातहतियार दर्ता तथा नविकरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता तथा नविकरण, राहदानी वितरण, नाबालक परिचयपत्र वितरण तथा अन्य अत्यावश्यक नभएका सेवा अनिश्चितकालका लागि स्थगित गरिएको छ । कार्यालयका नौ जना कर्मचारीमा सङ्क्रमण पुष्टि भइसकेको र सेवाग्राहीको अत्यधिक भिडभाड हुन थालेकाले कार्यालयबाटै कोभिड–१९ को सङ्क्रमण फैलिन सक्ने उच्च जोखिम हुने हुँदा अर्को सूचना नभएसम्मका लागि उक्त सेवा स्थगित गरिएको प्रशासकीय अधिकृत किशोरकुमार रामले बताउनु भयो । कार्यालयमा हाल शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरीसम्बन्धी सेवा, मुद्दाको सुनुवाइसम्बन्धी सेवा र विपद् व्यवस्थापनसम्बन्धी सेवा मात्र प्रवाह हुने उहाँले बताउनु भयो ।
बागमती प्रदेश
रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुुसार कालिका गाउँपालिका पशु स्वास्थ्य शाखाका चार जना कर्मचारी र दुई जना एम्बुलेन्स चालक सहित ६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै नियमित सेवा बन्द गरिएको छ । असोज २५ गते ६० जनामा कोभिड–१९ सङ्क्रमणको परीक्षण गरिएकोमा ६ जनामा सङ्क्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश अधिकारीले सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङमा आएका सबै कर्मचारीसहित १ सय ४१ जनाको असोज २९ गते पीसीआर परीक्षण गरिएको बताउनु भयो । उहाँले सबै कर्मचारी क्वारेण्टिनमा रहेकोले पीसीआर परीक्षणको रिपोर्ट प्राप्त भएपछि अवस्था हेरेर अर्को सूचना प्रकाशन गरी सेवा सुरु गरिने जानकारी दिनु भयो । अधिकारीले बजार क्षेत्र पनि बन्द गर्न पनि सूचना प्रकाशन गरेको बताउनु भयो । जिल्लामा १ हजार ३ सय जनाको पीसीआर परीक्षण गरिएकोमा २८ जनामा कोभिड–१९ पुष्टि भएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताउनुभयो ।
गण्डकी प्रदेश
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार पोखरा महागनरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलाई कोभिड–१९ पुष्टि भएपछि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका अनुसार केही कर्मचारीमा कोभिड सङ्क्रमण देखिएको तथा अन्य केही कर्मचारी समेत स्वास्थ्य मापदण्डको कारणले कन्ट्याक्ट ट्रेसिङमा परेकाले असोज २९ गतेदेखि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको हो । उहाँले महानगरपालिकाको कार्यलय बन्द रहेपनि वडा कार्यलयहरुबाट दिइने सेवा भने यथावत् रहेको बताउनुभयो ।
नवलपरासी (बर्दाघाट सुस्ता पूर्व ) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार हुप्सेकोट गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्यापनरत तीन जना शिक्षकलाई कोभिड–१९ सङक्रमण पुष्टि भएपछि गाउँपालिका भित्रका शैक्षिक संस्थाहरू बन्द गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको वैकल्पिक सिकाइका लागि निर्धारण गरिएको सम्पूर्ण सिकाइ केन्द्रहरू अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख माधव गौतमले बताउनुभयो ।
लुम्बिनी प्रदेश
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ) प्रतिनिधि नरायण पराजुलीका अनुसार क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी रहेको जिल्ला कारागारमा दुई जना कैदीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि जोखिम बढेको छ । रामग्राम नगरपालिकाका–६६ र ४२ वर्षीय पुरुष कैदीमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित मध्ये एक जना प्यारालाइसिसका बिरामी र अर्कामा फोक्सोसम्बन्धी समस्या रहेको छ । प्यारालाईसिसका बिरामीलाई एक जनाको सहारामा शौचालय लैजानु पर्ने बाध्यता छ । जसका कारण थप समस्या भएको जेलर जगत बस्नेतले बताउनु भयो । हाल उनीहरूलाई छुट्टै कोठामा राखिएको छ । १ सय ७५ जना कैदबन्दी राख्ने क्षमता भएको कारागारमा अहिले ३ सय ८७ पुरुष, ६१ महिला र १ जना बच्चा गरी ४ सय ४० जना रहेको जेलर बस्नेतले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश
डोटी प्रतिनिधि बाशुदेव जोशीका अनुसार दिपायलसिलगडी नगरपालिका–६ का १० जना स्थानीयमा असोज २८ गते कोभिड सङ्क्रमण पुष्टि भएपछि स्थानीय स्तरमा थप सङ्क्रमण फैलिन नदिनका लागि असोज २८ गते राति १२ बजेदेखि कात्तिक ३ गते राति १२ बजेसम्मका लागि सदरमुकाम सिलगढी बजारभर लागु हुने गरी लकडाउन गरिएको छ । जिल्ला सदरमुकाम सिलगढी बजारका स्थानीहरूमा नै कोभिड सङ्क्रमण पुष्टि भएपछि असोज २८ गते जिल्ला प्रशासन कार्यालय, डोटी दिपायल सिलगढी नगरपालिका र दिपायल सिलगढी नगरपालिका–६ को वडा कार्यालयको संयुक्त बैठकले वडा नम्बर ६, सिलगढी बजारमा लकडाउन गर्ने निर्णय गरेको र सो अवधिभरी अत्यावश्यक बाहेकका सबै सेवा तथा कार्य बन्द रहने वडा अध्यक्ष सन्तोष बोहराले बताउनु भयो ।
दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार २५ जना पुरुष र १५ जना महिला कैदीबन्दी क्षमता भएको जिल्ला कारागार, दार्चुलामा दुई जना कैदीबन्दीमा असोज २९ गते कोभिड सङ्क्रमण पुष्टि भएपछि कारागार भित्र कोभिड सङ्क्रमणको जोखिम बढेको छ । एउटै कोठामा बस्दै आएका साथीहरूमा कोभिड सङ्क्रमण पुष्टि भएपछि जोखिम भएको जिल्ला कारागार, दार्चुलामा रहेका कैदी जीवनसिंह ठगुन्नाले गुनासो गर्नु भयो । ४० जना क्षमता रहेको जिल्ला कारागारमा हाल तीन जना महिलासहित ६२ जना कैदीबन्दी रहेकामा कारागारमा दुई ओटा मात्रै शौचालय रहेको, भौतिक दुरी बनाउन पर्याप्त ठाउँ नभएको र एउटै बेडमा सुत्नु पर्ने बाध्यता रहेकोले कोभिड सङ्क्रमणको जोखिम उच्च रहेको कैदी ठगुन्नाले बताउनु भयो । कैदी ललित पन्तले अदालतले कसुर ठहर गरेका व्यक्तिहरूको कोभिड परीक्षण नगरिकन कारागारमा पठाउँदा जोखिम बढेको बताउनु भयो । नयाँ आउने कैदीबन्दीहरूको पीसीआर परीक्षण गरेर मात्रै कारागारमा राखिनु पर्ने पन्तले बताउनु भयो । क्षमता भन्दा बढि कैदीबन्दी रहेका जिल्ला कारागारका ५१ वर्षीय एक जना थुनुवा र ३७ वर्षीय एक जना कैदीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि कारागार व्यवस्थापन गर्नै समस्या परेको निमित्त जेलर मानबहादुर खडायतले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…