कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २७ गते)
असोज २७ गते ३ हजार ५ सय ५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १५ हजार ५ सय ७७ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज २७ गतेसम्म ६ सय ६३ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । असोज २७ गते मात्रै १८ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७८ हजार ७ सय ८० जना निको भएका छन् । असोज २७ गते १ हजार ५ सय ३ जना निको भएका छन् भने निको हुनेको दर ६८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ३५ हजार ९ सय १५ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार २० हजार ८ सय ६७ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । २ सय ९३ जनाको उपचार आइसीयूमा र ५५ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
प्रदेश १
उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार डाक्टरलाई कोभिड–१९ को सङ्क्रमण देखिएपछि चौदण्डीगढी नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारले असोज २७ गतेदेखि अत्यावश्यक र प्रसूति सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ । असोज २६ गते प्रदेश जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा स्वास्थ्य केन्द्रका २६ वर्षीय रेडियोग्राफी चिकित्सकलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि अस्पतालले असोज २७ गते सार्वजनिक सूचना टाँस गरी सेवा बन्द रहने जनाएको हो ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिकाका केही जनप्रतिनिधि, कर्मचारी र स्थानीयमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि सीमावर्ती कोशी गाउँपालिकाले समेत जोखिम भएको भन्दै गाउँपालिकासहित आठ ओटै वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरेको छ । सो गाउँपालिकाका वडाध्यक्षलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि अति आवश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो । कोशी गाउँपालिकाले सूचना जारी गर्दै गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय र शाखामा अत्यावश्यक बाहेकका सम्पूर्ण कार्य बन्द गरेको जनाएको छ । कात्तिक ३ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको गाँउपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रदेश २
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कोल्हवी नगरपालिका क्षेत्रमा कोभिड–१९ सङ्क्रमण बढ्दै आएकाले नगरपालिकाको कार्यालयको असोज २७ गतेको निर्णय अनुसार नगर क्षेत्रका सबै विद्यालय असोज २७ गतेदेखि अनिश्चितकालका लागि बन्द गर्ने नगरपालिकाका शिक्षा अधिकृत गणेश जोशीले सूचनामार्फत अनुरोध गर्नु भएको छ । विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका २०७७ लागु गर्न नागपालिकाको कार्यालयले असोज २० गते निर्णय गरेपनि लागु गर्न नसकेको अधिकृत जोशीले बताउनु भयो ।
बागमती प्रदेश
सिन्धुपाल्चोक प्रतिनिधि नातिबावु धितालका अनुसार जुगल गााउँपालिका कार्यालयमा कार्यरत एक जना स्वास्थ्यकर्मी सहित दुई जना कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि गाउँपालिकाबाट प्रदान गरिँदै आएको अत्यावश्यक सेवा बाहेक अन्य सेवा असोज २७ गतेबाट कात्तिक २ गतेसम्मका लागि बन्द गरिएको गाउँपालिकाका योजना सल्लाहकार रामबावु नेपालले बताउनु भयो । गाउँपालिका जनप्रतिनिधि समेतलाई कोभिड–१९ सङ्क्रमण भई होम आइसोलेशनमा रहेको अवस्थामा कोभिड सङ्क्रमण बढ्दो क्रममा रहेकाले गाउँपालिका भित्र रहेका सबै वडा कार्यालयहरू समेत असोज २६ गतेबाट अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको सल्लाहकार नेपालले बताउनु भयो ।
काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार कोभिड–१९ सङ्क्रमणको बढ्दो अवस्थालाई ध्यानमा राखेर सरकारले असोज २६ गते काठमाडौँ उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रूपमा परिणत गर्ने निर्णय गरेको छ । काठमाडौँमा लक्षणसहितका सङ्क्रमित बढ्न थालेपछि सरकारले थप कोभिड अस्पतालको व्यवस्था गरेको हो । स्वास्थ्य मन्त्रालयको सङ्कट व्यवस्थापन केन्द्रले अस्पताल र स्वास्थ्य सेवामा देखिएको सङ्कट व्यवस्थापनका लागि उक्त निर्णय गरेको जनाएको छ । साथै मन्त्रालयले उपत्यकाका अस्पताललाई हाल आकस्मिक बाहेकका नियमित शल्यक्रिया नगर्न निर्देशनसमेत दिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीका अनुसार ‘हाललाई स्वास्थ्यसेवा विभागसँग रहेका आइसीयू, भेण्टिलेटर, अक्सिजन आदि उपचारमा आवश्यक सामग्री उपत्यकाका अस्पतालहरूमा केन्द्रित भएर व्यवस्थापन गरिनेछ ।’ यसअघि सरकारले तोकेका डेडिकेटेड अस्पतालमा मात्रै कोभिड–१९ सङ्क्रमितका लागि आइसोलेशन र भेण्टिलेटरसहितको व्यवस्था थियो । अब भने सबै सरकारी अस्पतालले कोरोना सङ्क्रमितको उपचारका लागि काम गर्नुपर्ने छ । नियमित उपचार सेवा पनि जारी राखेर अस्पतालहरूले कोभिड उपचारका लागि छुट्टै व्यवस्थापन गर्नुपर्ने आधिकारीले जानकारी दिनुभयो । मन्त्रालयले कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र दहचोकस्थित मनमोहन अस्पताललाई लक्षण भएका कोरोनाका बिरामी राख्ने गरी स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ । हाल दुवै अस्पताल आइसोलेशन केन्द्र छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा कार्यरत चारजना कर्मचारीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने सेवा बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार चारजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि असोज २७ गतेबाट लागु हुने गरी शान्ति सुरक्षा, ठाडो निवेदन, उजुरी, मुद्दाको सुनुवाइ र विपद् व्यवस्थापन बाहेकका सेवा अर्को सूचना जारी नहुँदासम्म बन्द गरिएको हो ।
गण्डकी प्रदेश
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार जलजला गाउँपालिकाका जनप्रतिनिधिलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाबाट प्रदान गरिने सेवा बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले विज्ञप्ति प्रकाशन गर्दै कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट नआएसम्मका लागि गाउँपालिकाले दिने सबै सेवा बन्द गरिएको जानकारी दिनुभएको छ । विज्ञप्तिमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सम्पर्कमा आएका सबैलाई सुरक्षित रूपमा होम आइसोलेशनमा बस्न शर्माले आग्रह गर्नुभएको छ ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार व्यास नगरपालिकाले कोभिड–१९ को जोखिम बढ्दै जान थालेपछि हाल सञ्चालनमा आएका सम्पुर्ण विद्यालय आगामी कात्तिक १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले असोज २७ गते सूचना प्रकाशन गरी नगर क्षेत्रको दमौली बजार र वरपर सङ्क्रमण थप भयावह हुने अवस्था आएको भन्दै सङक्रमणको अवस्था हेरेर कात्तिक १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताउनु भयो । नगरपालिकाले गत असोज १ गते देखि विद्यालय सञ्चालन गरेको थियो । कोभिड १९ को जोखिमबाट सबैभन्दा पहिला बालबालिका नै पर्ने हुँदा परिस्थिति राम्रो भएमा कात्तिक १५ गतेसम्म विद्यालय बन्द गर्ने र त्यसपछिको निर्णय त्यसबेला नै गर्ने प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताउनुभयो ।
सुदूर पश्चिम प्रदेश
डोटी प्रतिनिधि बासुदेव जोशीका अनुसार उच्च अदालत, दिपायलका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि बन्दी प्रत्यक्षीकरण र कोभिडसम्बन्धी रिट निवेदन बाहेकका सबै सेवा असोज २७ र २८ गतेका लागि बन्द गरिएको उच्च अदालत, दिपायलका निमित्त रजिष्ट्रार सीता रेग्मीले बताउनु भयो । कोभिड सङ्क्रमित कर्मचारीको सम्पर्कमा आएका कर्मचारीको थ्रोट स्वाब असोज २६ गते सङ्कलन गरेर परीक्षणका लागि पठाइएको र नतिजा नआउञ्जेलसम्म आइसोलेशनमा बस्नु पर्ने भएकाले सेवा बन्द गर्ने निर्णय गरिएको निमित्त रजिष्ट्रार रेग्मीले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका–१३ झरुवाराशी का २६ वर्षीय आशिष पुर्कुटीलाई भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २५ गते बलात्कार गरेको…
पहिरोले सडक बगाउँदा जनजीवन कष्टकर
भोजपुरको पाँचधारे-चखेवा सडक पहिरोले बगाएपछि सडक अवरूद्ध भएको छ । पाँचधारे-चखेवा सडक खण्डको रूमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो । टेम्केमैयुङ गाउँपालिका-९ रूमाथुम्की क्षेत्रको घुर्विसेमा क्षेत्रमा पहिरो…
झुटो सिफारिस दिएको आरोपमा जनप्रतिनिधि गिरफ्तार
मृतक व्यक्तिलाई जीवित र जीवित व्यक्तिलाई मृतक भनि सिफारिस दिएको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका-७ का वडाध्यक्ष सूर्यनारायण यादवलाई भदौ २६ गते गिरफ्तार गरेको छ । देवानगञ्ज गाउँपालिका-७ को वडा कार्यालयमा…
मौसम परिवर्तनका कारण अस्पतालमा बिरामीको चाप बढ्दै ! (फोटो फिचर)
मौसम परिवर्तनका कारण नेपालगञ्जस्थित भेरी अस्पतालमा बिरामीको चाप बढेको छ । मौसम परिवर्तनका कारण डेङ्गीका साथै भाइरल ज्वरो, टाइफाइड, झाडापखाला वान्ता, बेहोस हुने लगायतका बिरामी बढ्न थालेका हुन् । भेरी…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखिपुर नगरपालिका-४ का ३५ वर्षीय बब्लु यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ भदौ २६ गते उजुरी दिनुभएकाे छ । आरोपितले बालिकालाई ०८१…