कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २६ गते)

असोज २६ गते ४ हजार ४७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ११ हजार ८ सय २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १४ हजार ५ सय ३० जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज २६ गतेसम्म ६ सय ४५ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ७७ हजार २ सय ७७ जना निको भएका छन् । असोज २६ गते १ हजार ४ सय ७३ जना निको भएका छन् भने निको हुनेको दर ६९.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ३३ हजार ८ सय ८० जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार १९ हजार ९ सय ७५ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । २ सय ७९ जनाको उपचार आइसीयूमा र ६७ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।

प्रदेश १

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ मा भेण्टिलेटर र आइसीयूको अभाव भएको छ । विराटनगरमा रहेका अस्पताहरूमा कोभिड–१९ सङ्क्रमितको उपचारका लागि प्रयोगमा ल्याइएका २१ ओटा भेण्टिलेटर असोज २५ गते भरिएपछि अभाव भएको हो । विराटनगरका अस्पतालहरूमा १ सय २० ओटा भेण्टिलेटर रहेपनि कोभिड–१९ सङ्क्रमितको उपचारका लागि २१ ओटा प्रयोगमा ल्याइएको छ । लक्षणसहितका र श्वासप्रश्वासमा समस्या भएका कोभिड–१९ सङ्क्रमित उपचारका लागि भेण्टिलेटर र आइसीयूका लागि आएपनि उनीहरूलाई उपचार नगरी फर्काउने अवस्था आएको विराट कोभिड अस्पतालका डाक्टर स्वस्तिक कोइरालाले बताउनु भयो ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार अर्जुनधारा नगरपालिका–९ का ४२ वर्षीय पुरुषमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि वडा कार्यालयले असोज २६ गतेदेखि सम्पूर्ण सेवा बन्द गरेको छ । असोज २५ गते प्रादेशिक अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि असोज २६ गते सूचना टाँस गरी सार्वजनिक सेवा प्रवाह बन्द गरिएको वडाध्यक्ष पुष्पकुमार प्रसाईले जानकारी दिनु भयो ।

प्रदेश २

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार जिल्ला प्रशासन कार्यालय, सप्तरीको नयाँ नागरिकता शाखामा कार्यरत दुई जना कर्मचारीमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि नयाँ नागरिकता वितरण कार्य स्थगित गरिएको छ । कार्यालयका प्रशासकीय अधिकृत किशोरकुमार रामले असोज २५ गते एक सूचना जारी गर्दै कोभिड–१९ सङ्क्रमणको लक्षण देखिएपछि दुई जना कर्मचारीलाई पीसीआर परीक्षणको लागि पठाइएकोले अर्को सूचना नभएसम्मका लागि नयाँ नागरिकता वितरण कार्य स्थगित गरिएको बताउनु भयो ।

बागमती प्रदेश 

धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार नेत्रावती डबजोङ गाउँपालिकामा कार्यरत एक जना कर्मचारीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाले असोज २६ गते सूचना जारी गर्दै गाउँपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकहरूको असोज २५ गते पीसिआर परीक्षण गर्दा एक जना पुरुष कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको उल्लेख गरेको छ । गाउँपालिका र सबै वडा कार्यालयहरू बन्द गरिएको छ भने एक हप्ता अगाडिबाट सञ्चालन गरिएका विद्यालयहरू समेत अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको सूचनामा उल्लेख छ । नेत्रावती डबजोङ गाउँपालिकाको तथ्याङ्क अनुसार सङ्क्रमितको सङ्ख्या १८ जना पुगेको गाउँपालिकाका स्वास्थ्य संयोजक तथा सूचना अधिकारी कृष्णब्रदी पौडेलले जानकारी दिनुभयो । सङ्क्रमित मध्ये १५ जना निको भइसकेका छन् भने हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन रहेको छ ।

सिन्धुपाल्चोक प्रतिनिधि नातिबावु धितालका अनुसार असोज २६ गते चौतारा अस्पतालका एक जना महिला कर्मचारी र भर्ना भएर उपचार गराइरहेका एक जना पुरुष बिरामीसहित दुई जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएसँगै चौतारा अस्पतालको इमरजेन्सी बाहेकका सेवा असोज २६ गतेदेखि असोज ३० गतेसम्म बन्द गरिएको चौतारा साँगाचोकगढी नगरपालिकाका स्वास्थ्य संयोजक शिव पुरीले बताउनु भयो । अस्पतालमा भर्ना भएर उपचार गराइरहेका सबै जनालाई घर पठाइएको छ भने कोभिड सङ्क्रमितलाई चौतारामा भएको आइसोलेशनमा राखिएको संयोजक पुरीले बताउनु भयो ।

गण्डकी प्रदेश
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार कोभिड–१९ को जोखिम बढेपछि शुक्लागण्डकी नगरपालिकामा सिकाइ केन्द्रहरू बन्द गरिएको छ । नगरपालिकाका केही विद्यालयमा असोज १ गतेदेखि विद्यालयमा बालबालिकाको लागि सिकाइ केन्द्रहरू सञ्चालन गरिएपनि कोभिडको जोखिम बढेपछि असोज २७ गते बाट पुनः बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले बताउनु भयो । गत चैत पहिलो साताबाट बन्द भएका विद्यालयमा कोभिडको जोखिम कम हुँदै गएको भन्दै असोज १ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिकाइ केन्द्रहरू सञ्चालन गरिएको थियो । नगरपालिकाको असोज २६ गते बसेको कार्यपालिकाको बैठकले विद्यालय बाहेक टोल टोलमा सञ्चालन गरिएको सिकाई केन्द्रहरू पनि बन्द गरी अनलाइन प्रविधिबाट मात्र पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता कुमालले जानकारी दिनुभयो ।


अनलाइन डेस्क