कोभिड–१९ः यो साता परीक्षण घट्दा पनि सङ्क्रमित उत्तिकै

एक सातामा कोभिड–१९ का सङ्क्रमित २० हजार ७ सय १ जना थपिएका छन् । अघिल्ला दुई साता पनि २० हजारको हाराहारीमा सङ्क्रमित थपिएका थिए । गत साता २० हजार ६ सय ७८ जना र त्यसअघिको साता २० हजार ९ सय ८८ जना थपिएका थिए । कात्तिक ४ गते १ लाख ३९ हजार १ सय २९ जना सङ्क्रमित भएकामा कात्तिक १० गते कूल सङ्क्रमित १ लाख ५९ हजार ८ सय ३० जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो बिचमा १९ हजार ६६ जना निको भएका छन् । गत साता १५ हजार ७ सय २१ जना निको भएका थिए । त्यसअघिको साता भने ९ हजार ७ सय ३५ जना निको भएका थिए । निको हुनेको कूल सङ्ख्या १ लाख १५ हजार ६ सय ७५ पुगेको छ । एक साताको अवधिमा कोभिड सङ्क्रमित ९७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ८ सय ६२ पुगेको छ । एक सातामा ८३ हजार ४ सय ओटा स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । गत साता ९३ हजार ओटा स्वाबको परीक्षण गरिएको थियो । यो साता महिला सङ्क्रमितको सङ्ख्या बढेको छ । कात्तिक ४ गते कूल सङ्क्रमितमध्ये ३१ प्रतिशत महिला थिए भने कात्तिक १० गते ३२ प्रतिशत पुगेको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कात्तिक ४ गतेदेखि कात्तिक १० गतेसम्मको अवधिमा झापामा ३ सय ३२ जना पुरूष र १ सय ७२ जना महिला गरी ५ सय ४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ८ सय ८ जना पुरूष र ५ सय ६२ जना महिला गरी १ हजार ३ सय ७० जना, खोटाङमा आठ जना पुरूष र दुई जना महिला गरी १० जना, मोरङमा १ हजार १ सय ११ जना पुरूष र ६ सय ४३ जना महिला गरी १ हजार ७ सय ६१ जना, उदयपुरमा ५० जना पुरूष र २२ जना महिला गरी ७२ जना, धनकुटामा १९ जना पुरूष र १० जना महिला गरी २९ जना, इलाममा १४ जना पुरूष र ११ जना महिला गरी २५ जना, पाँचथरमा चार जना महिला, ओखलढुङ्गामा नौ जना पुरूष र एक जना महिला गरी १० जना, भोजपुरमा चार जना पुरूष र एक जना महिला गरी पाँच जना, सङ्खुवासभामा २० जना पुरूष र तीन जना महिला गरी २३ जना, ताप्लेजुङमा नौ जना पुरूष र एक जना महिला गरी १० जना, सोलुखुम्बुमा सात जना पुरूष र एक जना महिला गरी आठ जनामा र तह«थुममा चार जना पुरूष र दुई जना महिला गरी ६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा ३ हजार ८ सय ४७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश २
एक सातामा प्रदेश २ मा कोभिड सङ्क्रमित ५ सय ६६ जना थपिएका छन् । कात्तिक ४ गते १७ हजार २ सय ६८ सङ्क्रमित रहेकामा कात्तिक १० गते आइपुग्दा यो सङ्ख्या बढेर १७ हजार ८ सय ३४ पुगेको छ । एक सातामा थप दुई जना सङ्क्रमितको मृत्यु भएको छ । प्रदेश २ कात्तिक १० गतेसम्म १ सय ५० जनाको मृत्यु भएको छ । एक सातामा ७ सय ९ जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् । कात्तिक ४ गते १ हजार ४ सय ७१ जना सक्रिय सङ्क्रमित भएकामा कात्तिक १० गतेसम्म आइपुग्दा १ हजार ३ सय २६ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

बागमती प्रदेश
यस प्रदेशमा कात्तिक १० गते कोभिड–१९ सङ्क्रमणको सङ्ख्या महिला ३१ हजार ४५ जना र पुरुष ५१ हजार ५ सय २ जना गरी जम्मा ८२ हजार ५ सय ४७ जना पुगेको छ । गत साता ६७ हजार ६ सय ५३ जना कोभिड–१९ सङ्क्रमित रहेकोमा यो साता मात्र १५ हजार ६ सय ४१ जना सङ्क्रमित थपिएका हुन् ।
यस प्रदेशका कूल सङ्क्रमितमध्ये ५५ हजार ९ सय ६४ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा २६ हजार १ सय ९४ जना उपचाररत रहेका छन् । अघिल्लो साता सक्रिय सङ्क्रमतिको सङ्ख्या २८ हजार ५ सय ३४ जना रहेकोमा यो साता २ हजार ३ सय ४० जना कम भई २६ हजार १ सय ९४ जनामा झरेको हो । कात्तिक १० गतेसम्म मृत्यु हुनेको सङ्ख्या ४ सय २३ जना पुगेको छ । यो साता मात्रै ६९ जना सङ्क्रमितको मृत्यु भएको हो । बागमती प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर अघिल्लो साता ०.५२ प्रतिशत रहेकोमा यो साता घटेर ०.४९ प्रतिशतमा झरेको छ । अघिल्लो साता ३७.३ प्रतिशत महिला र ६२.७ प्रतिशत पुरुष सङ्क्रमित भएकोमा कात्तिक १० गते आइपुग्दा महिला सङ्क्रमित ०.३ प्रतिशत बढेर ३७.६ प्रतिशत पुगेको छ भने पुरुष सङ्क्रमित ६२.४ प्रतिशत रहेको छ ।
बागमती प्रदेशमा अघिल्लो हप्ता देशको कूल सङ्क्रमणको सङ्ख्या ४९.७६ प्रतिशत मात्र रहेकोमा कात्तिक १० गते आइपुग्दा बढेर ५१.६६ प्रतिशत पुगेको छ । यस प्रदेशमा २१ देखि ५० वर्ष उमेरका सङ्क्रमित दुई तिहाईभन्दा बढी रहेका छन् भने मृत्यु हुनेको प्रतिशत भने ६० वर्ष माथिका उमेरमा बढी छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकामध्ये अघिल्लो साता ६२ प्रतिशता निको हुनेको सङ्ख्या रहेकोमा कात्तिक १० गते आइपुग्दा यो सङ्ख्या बढेर ६७.७८ प्रतिशत पुगेको छ ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा कात्तिक ४ गतेबाट कात्तिक १० गतेसम्म थप १ हजार २ सय ५३ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये ८ सय ७८ जना पुरुष र ३ सय ७५ जना महिला रहेका छन् । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङख्या ६ हजार ६ सय ८४ पुगेको छ । यो साता कोभिड–१९ को सङ्क्रमणबाट ८ सय ८६ जना मुक्त भएका छन् । योसँगै प्रदेशमा निको हुनेको कूल सङख्या ५ हजार ६ सय ८६ पुगेको छ । हालसम्म प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट ४१ जनाको मृत्यु भएको छ जसमध्ये यो साता दुई जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कात्तिक १० गतेको तथ्याङ्क अनुसार प्रदेशमा हाल २ हजार २ सय १० जना सक्रिय सङ्क्रमित रहेका छन् जसमध्ये कास्की र नवलपरासी (पूर्व) जिल्लामा ५ सय भन्दा बढी रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये १ हजार ३ सय २६ जना होम आइसोलेशनमा छन् भने १३ जना आइसीयू र एक जना भेण्टिलेटरमा रहेका छन् ।
गण्डकी प्रदेश सरकारले प्रदेशमा कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क भइरहेको जनाएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले गण्डकी प्रदेशमा कोभिड–१९ का बिरामीको उपचार निःशुल्क भइरहेको बताउनु भएको हो । उहाँले नागरिकप्रतिको दायित्व पूरा गर्नबाट गण्डकी सरकार पछि नहटेको बताउनुभयो । उहाँका अनुसार गण्डकीका ३८ ठाउँका आइसोलेशनबाट उपचार भइरहेको छ । कोभिडको पीसीआर परीक्षण र उपचार खर्च गण्डकी सरकारले नै व्यहोर्दै आएको उहाँको भनाइ छ ।
त्यसैगरी कात्तिक ५ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र म्याग्दीको बैठकले जिल्लामा ५० बेडको क्वारेण्टाइन, १५ बेडको आइसोलेशन र पाँच बेडको हस्पिटलका लागि शीघ्र प्रकृया अगाडि बढाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा भएको बैठकमा स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतलगायत सरोकारवालाको उपस्थितिमा यस्तो निर्णय गरिएको हो । बेनीमा रहेको २० बेडको आइसोलेशनलाई कोभिड हस्पिटलको रूपमा बिस्तार गर्ने, अक्सीजन तथा आइसीयू एवम् आवश्यक औषधिको प्रवन्ध गर्नुका साथै सडक पेटीमा व्यापार गरेर भीड बढाउने कार्यलाई नियन्त्रण गर्ने कुरामा स्थानीय तहहरूले प्रतिबद्धता जनाएका छन् ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा कात्तिक ४ गतेदेखि कात्तिक १० गतेसम्म १ हजार ४ सय ४१ जना पुरुष र ७ सय ३० जना महिला गरी २ हजार १ सय ७१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा सबैभन्दा बढी रुपेन्देहीमा ७ सय ७७ जना र सबैभन्दा कम रुकुम पुर्वमा नौ जना सङ्क्रमित भएका छन् । सबैभन्दा कम ८० वर्ष भन्दा माथि उमेर समूह र सबै भन्दा बढी ३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरू सङ्क्रमित छन् । हाल ३ हजार ८ सय ४२ जना होम आइसोलेशन, ४३ जना आइसीयु र आठ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ । लुम्बिनी प्रदेशमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरू बाँके, दाङ र रुपन्देही रहेका छन् ।


अनलाइन डेस्क