कोभिड–१९ः यो साता थपिएका भन्दा निको भएका सङ्क्रमित दोब्बर बढी

यो साता थपिएका भन्दा निको भएका सङ्क्रमित दोब्बरभन्दा बढी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार यो साता ५३ हजार ४ सय ३३ ओटा स्वाब परीक्षण गरिएको छ । गत साता ४९ हजार ६ सय ९७ ओटा स्वाब परीक्षण गरिएको थियो । असोज अन्तिम साता मात्रै झण्डै १ लाखको हाराहारीमा परीक्षण गरिएको थियो । पछिल्ला साताहरूमा स्वाब परीक्षणको सङ्ख्या घटेको छ । यो एक सातामा १० हजार ८ सय १३ जना सङ्क्रमित थपिएका छन् । गत साता ११ हजार २ सय १३ जना सङ्क्रमित थपिएका थिए । निको हुनेको सङ्ख्या यो साता २२ हजार ८ सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साता १५ हजार ७ सय ८७ सङ्क्रमित निको भएका थिए । मङ्सिर २ गते २ लाख ११ हजार ४ सय ७५ जना सङ्क्रमित भएकामा मङ्सिर ८ गते कूल सङ्क्रमित २ लाख २२ हजार २ सय ८८ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एक साताको अवधिमा ९० जना जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । अघिल्लो साता ८२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको थियो । योसँगै मृत्यु हुनेको सङ्ख्या १ हजार ३ सय ३७ पुगेको छ । हालसम्म १६ लाख ७० हजार ४ सय ५५ ओटा स्वाबको परीक्षण गरिएको छ । मङ्सिर १ गतेको तथ्याङ्क अनुसार कोभिड सङ्क्रमितमध्ये ९०.९ प्रतिशत सङ्क्रमित निको भएका छन् ।

प्रदेश २
एक सातामा प्रदेश २ मा कोभिड सङ्क्रमित ३ सय १७ जना थपिएका छन् । अघिल्लो साता २ सय ७४ जना थपिएका थिए । मङ्सिर २ गते १९ हजार ३ सय ९१ सङ्क्रमित रहेकामा मङ्सिर ८ गते आइपुग्दा यो सङ्ख्या बढेर १९ हजार ७ सय ८ पुगेको छ । एक सातामा थप तीन जना सङ्क्रमितको मृत्यु भएको छ । प्रदेश २ मा मङ्सिर ८ गतेसम्म १ सय ७४ जनाको मृत्यु भएको छ । एक सातामा ६ सय ९० जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् ।

बागमती प्रदेश
यस प्रदेशमा मङ्सिर ८ गते कोभिड–१९ सङ्क्रमितको सङ्ख्या महिला ४७ हजार ५ सय ४० जना र पुरुष ७४ हजार ३ सय ५४ जना गरी १ लाख २१ हजार ८ सय ९४ जना पुगेको छ । अघिल्लो साता  १ लाख १४ हजार २ सय ३८ जना कोभिड–१९ सङ्क्रमित रहेकामा यो साता ७ हजार ६ सय १० जना सङ्क्रमित थपिएका हुन् । अघिल्लो साताभन्दा यो साता नयाँ सङ्क्रमितको सङ्ख्या ५ हजारले कम भएको छ ।
यस प्रदेशका कूल सङ्क्रमितमध्ये १ लाख ८ हजार ८ सय ५७ जना निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा १२ हजार ३ सय ८३ जना उपचाररत छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या २२ हजार ७ सय ६१  जना रहेकामा यो साता १० हजार ३ सय ७८ जना कम भई १२ हजार ३ सय ८३  जनामा झरेको हो । मङ्सिर ८ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने ६ सय ५४ पुगेको छ । यो अघिल्लो साताभन्दा ४७ जनाले बढी हो । बागमती प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर अघिल्लो साता ०.५३ प्रतिशत रहेकोमा यो साता ०.५४ प्रतिशत छ । यस प्रदेशमा महिला सङ्क्रमितको प्रतिशत प्रत्येक साता बढिरहेको छ । अघिल्लो साता ३८.८ प्रतिशत महिला र ६१.२ प्रतिशत पुरुष सङ्क्रमित भएकामा मङ्सिर ८ गते आइपुग्दा महिला सङ्क्रमित ०.२ प्रतिशत बढेर ३९ प्रतिशत पुगेको छ । बागमती प्रदेशमा अघिल्लो साता देशको कूल सङ्क्रमितको सङ्ख्या ५४.१५ प्रतिशत मात्र रहेकामा मङ्सिर ८ गते आइपुग्दा बढेर ५४.५७ प्रतिशत पुगेको छ । यस प्रदेशमा २१ देखि ५० वर्ष उमेरका सङ्क्रितका बिरामी दुई तिहाईभन्दा बढी रहेका छन् भने मृत्यु हुनेको प्रतिशत भने ६० वर्ष माथिका उमेरमा बढी रहेको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो साता ७९.५४ प्रतिशत निको हुनेको सङ्ख्या रहेकोमा मङ्सिर ८ गते आइपुग्दा यो सङ्ख्या बढेर ८९.३० प्रतिशत पुगेको छ ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा मङ्सिर २ गतेबाट मङ्सिर ८ गतेसम्म थप ८ सय ८६ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये ५ सय ६४ पुरुष र ३ सय २२ जना महिला रहेका छन् । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङख्या १२ हजार ११ रहेको छ । यो साता कोभिड–१९ को सङ्क्रमणबाट २ हजार ५१ जना निको भएका छन् । योसँगै प्रदेशमा निको हुनेको कूल सङख्या ११ हजार ३ सय ७६ रहेको छ । हालसम्म प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कूल ८८ जनाको मृत्यु भएको छ जसमध्ये यो साता १५ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मङ्सिर ८ गतेको तथ्याङ्क अनुसार प्रदेशमा हाल १ हजार ८ सय २७ जना सक्रिय सङ्क्रमित रहेका छन् जसमध्ये कास्की जिल्लाका ५ सय भन्दा बढी रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ८ सय ९३ जना होम आइसोलेशनमा बसेका छन् भने ८६ जना आइसीयू र १४ जना भेण्टिलेटरमा रहेका छन् । ३२ जना क्षमता भएको जिल्ला कारागार कार्यालय म्याग्दीमा १ सय ३० जना कैदीबन्दी पुगेपछि कारागार व्यवस्थापन विभागसँगको समन्वयमा १६ जनालाई जेल सरुवा गरिएको छ । जिल्ला कारागारमा रहेका १६ जनालाई ५ गते सरुवा गरिएको कारागार कार्यालय प्रमुख (जेलर) राजेन्द्र शर्माले बताउनुभयो । शर्माका अनुसार २५ पुरुष र सात महिला गरी ३२ जनाको क्षमता भएकोमा अहिले कारागारमा १ सय ३० जना कैदीबन्दी रहेकोले उनीहरूलाई सरुवा गरिएको हो । अहिले १० जनालाई पाल्पा कारागार र ६ जनालाई तनहुँ कारागारमा पठाइएको छ । कारागारमा ९ महिला र १ सय २१ जना पुरुष रहेका थिए । उनीहरुलाई भेट्न आउनेहरू तथा अन्य माध्यमबाट पनि कोरोना सङ्क्रमण हुन सक्ने जोखिमको मध्यनजर गर्दै विभागलाई पत्राचार गरिएकामा पाल्पा र तनहुँ सरुवाका लागि अनुमति आएकोले सोहीअनुरुप मङ्सिर ५ गते पठाइएको जेलर शर्माले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेश
एक सातामा सुदूरपश्चिम प्रदेशमा कोभिड सङ्क्रमित २ सय ७० जना थपिएका छन् । गत साता ३ सय ५२ जना थपिएका थिए । मङ्सिर २ गते ११ हजार १ सय ५६ सङ्क्रमित रहेकामा मङ्सिर ८ गते आइपुग्दा यो सङ्ख्या बढेर ११ हजार ४ सय २६ पुगेको छ । एक सातामा यो प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६ थपिएर ३७ पुगेको छ । एक सातामा ४ सय १० जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् ।


अनलाइन डेस्क