कोभिड–१९ः यो साता थपिएका र निको भएका सङ्क्रमित १० हजारभन्दा कम

यो साता ९ हजारको हाराहारीमा सङ्क्रमित थपिएका र निको भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार यो साता ९ हजार ३ सय ७४ सङ्क्रमित थपिएका छन् भने ९ हजार ६ सय ६३ सङ्क्रमित निको भएका छन् । यो साता ५६ हजार ४ सय ४८ ओटा स्वाब परीक्षण गरिएको छ । गत साता ५३ हजार ४ सय ३३ ओटा स्वाब परीक्षण गरिएको थियो । पछिल्ला साताहरूमा स्वाब परीक्षणको सङ्ख्या घटेको छ । मङ्सिर ९ गते २ लाख २४ हजार ७८ जना सङ्क्रमित भएकामा मङ्सिर १५ गते कूल सङ्क्रमित २ लाख ३३ हजार ४ सय ५२ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एक साताको अवधिमा १ सय ४७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । अघिल्लो साता ९० जना कोभिड सङ्क्रमितको मृत्यु भएको थियो । योसँगै मृत्यु हुनेको सङ्ख्या १ हजार ५ सय ८ पुगेको छ । हालसम्म १७ लाख ३७ हजार ७ सय ४७ ओटा स्वाबको परीक्षण गरिएको छ । मङ्सिर १५ गतेको तथ्याङ्क अनुसार कोभिड सङ्क्रमितमध्ये ९१.९ प्रतिशत सङ्क्रमित निको भएका छन् ।

प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्सिर ९ गतेदेखि मङ्सिर १५ गतेसम्मको अवधिमा झापामा ३ सय २२ जना पुरूष र २ सय ३४ जना महिला गरी ५ सय ५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा २ सय तीन जना पुरूष र १ सय ७६ जना महिला गरी ३ सय ७६ जना, खोटाङमा आठ जना पुरूष र चार जना महिला गरी १२ जना, मोरङमा ३ सय ६१ जना पुरूष र २ सय ४४ जना महिला गरी ५ सय ५ जना, उदयपुरमा २४ जना पुरूष र १२ जना महिला गरी ३६ जना, धनकुटामा ११ जना पुरूष र आठ जना महिला गरी १९ जना, इलाममा ३२ जना पुरूष र २२ जना महिला गरी ५५ जना, पाँचथरमा १७ जना पुरूष र आठ जना महिला गरी २५ जना, ओखलढुङ्गामा आठ जना पुरूष र चार जना महिला गरी १२ जना, भोजपुरमा १० जना पुरूष र चार जना महिला गरी १४ जना, सङ्खुवासभामा ३९ जना पुरूष र ६ जना महिला गरी ४५ जना, ताप्लेजुङमा २१ जना पुरूष र नौ जना महिला गरी ३० जना, सोलुखुम्बुमा आठ जना पुरूष र ६ जना महिला गरी १४ जना र तेहृथुममा पाँच जना पुरूष र चार जना महिला गरी नौ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा १ हजार ८ सय ८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश २
एक सातामा प्रदेश २ मा कोभिड सङ्क्रमित ३ सय १३ जना थपिएका छन् । अघिल्लो साता ३ सय १७ जना थपिएका थिए । मङ्सिर ९ गते १९ हजार ७ सय ४५ सङ्क्रमित रहेकामा मङ्सिर १५ गते आइपुग्दा यो सङ्ख्या बढेर २० हजार ५८ पुगेको छ । एक सातामा थप १३ जना कोभिड सङ्क्रमितको मृत्यु भएपछि प्रदेशमा मृत्यु हुनेको सङ्ख्या १ सय ९६ पुगेको छ । एक सातामा २ सय ६४ जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् ।

बागमती प्रदेश
यस प्रदेशमा मङ्सिर १५ गते कोभिड–१९ सङ्क्रमणको सङ्ख्या जम्मा १ लाख २८ हजार १ सय ३० जना पुगेको छ । अघिल्ला हप्ता १ लाख २१ हजार ८ सय ९४ जना कोभिड–१९ सङ्क्रमित रहेकोमा यस हप्ता ६ हजार २ सय ३६ जना सङ्क्रमित थपिएका हुन् । अघिल्लो हप्ता भन्दा यस हप्ता नयाँ सङ्क्रमणको सङ्ख्या १ हजार ३ सय ७४ जनाले कम भएको छ । यस प्रदेशका कूल सङ्क्रमितमध्ये १ लाख ६ हजार ७ सय ४७ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा १० हजार ६ सय २९ जना उपचाररत रहेका छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या १२ हजार ३ सय ८३ जना रहेकोमा यो हप्ता १ हजार ७ सय ५४ जना कम भई १० हजार ६ सय २९ जनामा झरेको हो । मङ्सिर १५ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने ७ सय ५४ जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा १ सय जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर अघिल्लो हप्ता ०.५४ प्रतिशत रहेकोमा यो हप्ता बढेर ०.५८ प्रतिशत पुगेको छ ।
यस प्रदेशमा महिला सङ्क्रमितको प्रतिशत प्रत्येक हप्ता बढी रहेको छ । अघिल्लो साता ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष सङ्क्रमित भएकोमा मङ्सिर १५ गते आइपुग्दा महिला सङ्क्रमित ०.१० प्रतिशत बढेर ३९.१० प्रतिशत पुगेको छ भने पुरुष सङ्क्रमित ६०.९० प्रतिशत रहेको छ । बागमती प्रदेशमा अघिल्लो हप्ता देशको कूल सङ्क्रमणको सङ्ख्या ५४.५७ प्रतिशत मात्र रहेकोमा मङ्सिर १५ गते आइपुग्दा बढेर ५४.८८ प्रतिशत पुगेको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ८९.३० प्रतिशत निको हुनेको सङ्ख्या रहेकोमा मङ्सिर १५ गते आइपुग्दा यो सङ्ख्या थप सुधार भई ९१.११ प्रतिशत पुगेको छ ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा मङ्सिर ९ गतेबाट मङ्सिर १५ गतेसम्म थप १ हजार ३१ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये ५ सय ६४ पुरुष र ३ सय २२ जना महिला रहेका छन् । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या १३ हजार ४२ रहेको छ । यो साता कोभिड–१९ को सङ्क्रमणबाट १ हजार ५९ जना निको भएका छन् । योसँगै प्रदेशमा निको हुनेको सङख्या १२ हजार ४ सय ३५ पुगेको छ । हालसम्म प्रदेशमा कोभिड–१९ को सङक्रमणबाट कूल १ सय ३ जनाको मृत्यु भएको छ जसमध्ये यो साता १५ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मङ्सिर १५ गतेको तथ्याङ्क अनुसार प्रदेशमा हाल १ हजार ७ सय ८४ जना सक्रिय सङ्क्रमित रहेका छन् जसमध्ये कास्की जिल्लाका ५ सयभन्दा बढी रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ८ सय ५६ जना होम आइसोलेशनमा छन् भने ९४ जना आइसीयू र ११ जना भेण्टिलेटरमा रहेका छन् ।

लुम्बिनी प्रदेश
यो साता लुम्बिनी प्रदेशमा ७ सय ४९ जना पुरुष र ४ सय ४१ जना महिला गरी जम्मा १ हजार १ सय ९० जनामा कोभिड सङ्क्रमण पुुष्टि भयो । सबैभन्दा बढी रुपन्देहीमा १ सय ९९ पुरुष र १ सय २७  महिला गरी ३ सय २६ जना सङ्क्रमित भए भने सबैभन्दा कम रोल्पामा १० पुरुष र चार महिला गरी १४ जना सङ्क्रमित भए । यसैगरी, यो साता रुकुम पुर्वमा नयाँ सङ्क्रमित थपिएका छैनन् । महिलाभन्दा पुरुषमा बढी सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । उमेर समूहका आधारमा यस साता सबैभन्दा बढी ३१ देखि ४० वर्ष उमेर समूहका ३ सय ६२ जनामा कोभिङ सङ्क्रमण पुष्टि भएको छ । गत साता लुम्बिनी प्रदेशमा ७ सय ३ पुरुष र ३ सय ३६ जना गरी १ हजार ३९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । गत साता भन्दा यो साता १ सय ५१ सङ्क्रमण बढेको तथ्याङ्कले देखाएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा मृत्यु हुनेको सङ्ख्या २ सय ९० रहेको छ ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशमा मङ्सिर १५ गते १ सय ५३ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ६ हजार १ सय ८ रहेको छ । हालसम्म ५ हजार ९ सय ३२ जना निको भइसकेका छन् । कोभिड –१९ को सङ्क्रमणबाट २३ जनाको मृत्यु भएको छ । अघिल्लो साता पनि मृतकको सङ्ख्या २३ नै रहेको थियो । यस प्रदेशमा एक हप्ता अघि कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६ हजार १४ रहेको थियो । यस हप्ता ९४ जना सङ्क्रमित थपिएका हुन ।

सुदूरपश्चिम प्रदेश
एक सातामा सुदूरपश्चिम प्रदेशमा कोभिड सङ्क्रमित ३ सय ६६ जना थपिएका छन् । गत साता २ सय ७० जना जना थपिएका थिए । मङ्सिर ९ गते ११ हजार ५ सय १ सङ्क्रमित रहेकामा मङ्सिर ८ गते आइपुग्दा यो सङ्ख्या बढेर ११ हजार ८ सय ६७ पुगेको छ । एक सातामा यो प्रदेशमा मृत्यु हुनेको सङ्ख्या एक थपिएर ३८ पुगेको छ । एक सातामा ६ सय ९४ जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् ।


अनलाइन डेस्क