कोभिड–१९ः एक सातामा २० हजार सङ्क्रमित थपिए, १५ हजार निको

एक सातामा कोभिड–१९ का सङ्क्रमित २० हजार ६ सय ७८ जना थपिएका छन् । असोज २७ गते १ लाख १५ हजार ३ सय ५८ जना सङ्क्रमित भएकामा कात्तिक ३ गते कूल सङ्क्रमित १ लाख ३६ हजार ३६ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साता २० हजार ९ सय ८८ जना थपिएका थिए । यो बिचमा १५ हजार ७ सय २१ जना निको भएका छन् । गत साता ९ हजार ७ सय ३५ जना निको भएका थिए । निको हुनेको कूल सङ्ख्या ९४ हजार ५ सय १ पुगेको छ । एक साताको अवधिमा कोभिड सङ्क्रमित ९४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ७ सय ५७ पुगेको छ । एक सातामा ९३ हजार ८ सय २७ ओटा स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । गत साता यो सङ्ख्या ९२ हजार २ सय ३८ थियो ।

प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असोज २७ गतेदेखि कात्तिक ३ गतेसम्मको अवधिमा झापामा २ सय चार जना पुरूष र एक सय १६ जना महिला गरी तीन सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ७ सय १६ जना पुरूष र ४ सय ७३ जना महिला गरी १ हजार एक सय ८९ जना, खोटाङमा १३ जना पुरूष र दुई जना महिला गरी १५ जना, मोरङमा ८ सय ८६ जना पुरूष र ५ सय ६ जना महिला गरी १ हजार ३ सय ९२ जना, उदयपुरमा ३३ जना पुरूष र २४ जना महिला गरी ५७ जना, धनकुटामा ७ जना पुरूष र २ जना महिला गरी ९ जना,इलाममा २२ जना पुरूष र ११ जना महिला गरी ३३ जना,पाँचथरमा चार जना पुरूष र दुई जना महिला गरी ६ जना, ओखलढुङ्गामा १३ जना पुरूष र चार जना महिला गरी १७ जना, भोजपुरमा ९ जना पुरूष, सङ्खुवासभामा २४ जना पुरूष र १० जना महिला गरी ३४ जना, ताप्लेजुङमा एक जना पुरूष र तीन जना महिला गरी चार जना, सोलुखुम्बुमा एक जना पुरूष र तेहृथुममा ११ जना पुरूष र तीन जना महिला गरी १४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला,मेची अस्पताल प्रयोगशाला,कोटीहोम प्रयोगशाला,नोवेल अस्पताल प्रयोगशाला,विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा प्रदेश १ मा तीन हजार एक सय जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ सङ्क्रमितको उपचार गर्न कोभिड–१९ अस्थायी अस्पताल निर्माणको काम यो साता भोजपुरका स्थानीय तहले सुरू गरेका छन् । पौवादुङमा गाउँपालिका–४ मानेडाँडा, रामप्रसाद राई गाउँपालिका–६ र हतुवागढी गाउँपालिका–४ खैराङमा कोभिड अस्पताल निर्माण गर्ने तयारी थालेका हुन् ।
युएनडीपीले कात्तिक ३ गते कोशी कोभिड–१९ उपचार केन्द्रलाई एक थान भेण्टिलेटर र प्रदेश जनस्वास्थ्य ल्याबलाई अटोमेटिक आरएनए एक्स्ट्राक्सन मेसिन सहयोग गरेको छ । प्रदेशमा लक्षणसहितका कोभिड–१९ सङ्क्रमित दैनिकजसो बढिरहेको बेला बिरामीले भेण्टिलेटर नपाइ मृत्युवरण गर्नुपर्ने अवस्था छ । प्रदेशका कोभिड–१९ अस्पताल र निजी अस्पतालहरूको आइसीयू र भेण्टिलेटरमा बिरामी भरिभराउ रहेको बेला युएनडीपीले भेण्टिलेटर प्रदान गरेको विराटनगर महानगरपालिका प्रमुख भिम पाराजुलीले जानकारी दिनुभयो ।
कोभिड–१९ को सङ्क्रमणको प्रतिदिन बढेको र दशैँका समयमा सङ्क्रमण बढी हुने भएकाले न्यूनीकरणका लागि सुनसरी, मोरङ र झापा प्रशासनले कात्तिक २ र ३ गतेदेखि लागू हुने गरी चाडपर्व अविधभर निषेध आदेश जारी गरेका छन् । सो अवधिमा अनावश्यक रूपमा हिँडडुल नगर्न,सामूहिक पुजा र भजनकिर्तन, शुभकामना आदानप्रदान नगर्न र राति ८ बजेदेखि होटल पसल बन्द गर्न आह्वान गरिएको छ ।

प्रदेश २
एक सातामा प्रदेश २ मा कोभिड सङ्क्रमित ६ सय ४२ जना थपिएका छन् । असोज २७ गते १६ हजार ५ सय ११ सङ्क्रमित रहेकामा कात्तिक ३ गते आइपुग्दा यो सङ्ख्या बढेर १७ हजार १ सय ९३ पुगेको छ । एक सातामा थप ६ जना सङ्क्रमितको मृत्यु भएको छ । प्रदेश २ कात्तिक ३ गतेसम्म १ सय ४८ जनाको मृत्यु भएको छ । एक सातामा ४ सय ८६ जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् । असोज २७ गते १ हजार २ सय ५८ जना सक्रिय सङ्क्रमित भएकामा कात्तिक ३ गतेसम्म आइपुग्दा १ सय ९० थप भई १ हजार ४ सय ४८ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

बागमती प्रदेश
यस प्रदेशमा कात्तिक ३ गते कोभिड–१९ सङ्क्रमणको सङ्ख्या महिला २५ हजार २ सय ७७ जना र पुरुष ४२ हजार ४ सय ३७ जना गरी जम्मा ६७ हजार ६ सय ५३ जना पुगेको छ । जसमध्ये ३८ हजार ७ सय ६५ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा २८ हजार ५ सय ३४ जनाको उपचार भइरहेको छ । कात्तिक ३ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने ३ सय ५४ जना पुगेको छ यो अघिल्लो साताभन्दा ८१ जनाले बढी हो ।  यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर ०.५२ रहेको छ ।
यस प्रदेशमा एक साताअघि असोज २६ गते कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या ५२ हजार १२ जना रहेको थियो । यो साता मात्र १५ हजार ६ सय ४१ जना सङ्क्रमित थपिएका हुन् । अघिल्लो साता ३७ प्रतिशत महिला र ६३ प्रतिशत पुरुष सङ्क्रमित भएकोमा कात्तिक ३ गते आइपुग्दा महिला सङ्क्रमित ०.३ प्रतिशत बढेर ३७.३ प्रतिशत पुगेको छ भने पुरुष सङ्क्रमित ६२.७ प्रतिशत रहेको छ ।
बागमती प्रदेशमा कात्तिक ३ गते आइपुग्दा देशको कूल सङ्क्रमणको ४९.७६ प्रतिशत सङ्क्रमित रहेका छन् भने अघिल्लो साता ४६.५२ प्रतिशत मात्र रहेको थियो ।
यस प्रदेशमा २१ देखि ५० वर्ष उमेरका सङ्क्रितका बिरामी सबैभन्दा बढी रहेका छन् भने मृत्यु हुनेको प्रतिशत भने ६० वर्ष माथिका उमेरमा बढी रहेको छ । यो साता दोलखा, ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक लगायतका जिल्लामा दशैँलाई मध्यनजर गर्दै मठ, मन्दिर तथा शक्तिपिठहरूमा दैनिक नित्य पूजा बाहेकका कार्य नगर्न जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेका छन् । बागमती प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकामध्येमा अघिल्लो साता ५७ प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा कात्तिक ३ गते आइपुग्दा यो सङ्ख्या बढेर ६२ प्रतिशत पुगेको छ ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असोज २७ गतेबाट कात्तिक ३ गतेसम्म थप १ हजार २६ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये ७ सय १७ जना पुरुष र ३ सय ९ जना महिला रहेका छन् । यो सगै प्रदेशमा कुल सङ्क्रमितको सङख्या ६ हजार ६ सय ८४ रहेको छ । यो साता कोभिड–१९ को सङ्क्रमणबाट ५ सय ४५ जना निको भएका छन् । योसँगै प्रदेशमा निको हुनेको कूल सङ्ख्या ४ हजार ८ सय रहेको छ । हालसम्म प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कूल ३९ जनाको मृत्यु भएको छ जसमध्ये यो साता सात जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कात्तिक ३ गतेको तथ्याङक अनुसार प्रदेशमा हाल १ हजार ८ सय ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् जसमध्ये कास्की जिल्लाका ५ सय भन्दा बढी रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ९ सय २५ जना होम आइसोलेशनमा छन् भने २० जना आइसीयू र चार जना भेण्टिलेटरमा उपचाररत छन् ।
चाड पर्वको बेलामा अझै बढी सङ्क्रमण फैलिन सक्ने भएकाले गण्डकी प्रदेशका जिल्लाहरूमा स्थानीय सरकारले छुट्टटाछुट्टै विज्ञप्तिमार्फत निषेधाज्ञा जारी गरेका छन् । सो निषेधाज्ञामा दशैं मनाउने क्रममा कुनै पनि मन्दिर, कोत, शक्ति पीठमा अधिकतम दुई जना पुजारीले नित्य पुजा गर्ने बाहेक कुनै पनि प्रकारको जमघट हुने, बाजा बजाउने, मेलापर्व र खेलकुद गतिविधि नगर्ने निर्णय भएको छ । निषेधाज्ञा बागलुङ, म्याग्दी र स्याङजा जिल्लाका केही स्थानीय तहहरुले जारी गरेका छन् ।

लुम्बिनी प्रदेश
एक सातामा लुम्बिनी प्रदेशमा कोभिड सङ्क्रमित २ हजार २ सय ७३  जना थपिएका छन् । जसमा पुरुष १ हजार ५ सय ५६ जना र महिला ७ सय १७ जना रहेका छन् । कात्तिक ३ गते गतेसम्म आइपुग्दा सङ्क्रमितको सङ्ख्या बढेर १३ हजार ५४ पुगेको छ ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशमा कात्तिक ३ गते ४३ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ५ हजार १ सय ४४ जना पुगेको छ । जसमध्ये ८ सय ७ जना विभिन्न अस्पतालका  आइसोलेशनमा बसेका छन् भने सात जनाको उपचार आइसीयूमा भइरहेको छ । प्रदेशभरी १ हजार २ सय ६० सक्रिय सङ्क्रमित छन् । यस्तै ३ हजार ८ सय ७६ जना निको भइसकेका छन् । कोभिड–१९ को सङ्क्रमणबाट नौ जनाको मृत्यु भएको छ । यस प्रदेशमा एक साताअघि कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ जार ३ सय १७ रहेको थियो । यो साता मात्र ८ सय २७ जना सङ्क्रमित थपिएका छन् ।  यस प्रदेशमा २१ देखि ५० वर्ष उमेरका सङ्क्रिमित सबैभन्दा बढी रहेका भए पनि यस अवधिमा ६० वर्ष माथिका उमेरमा पनि सङ्क्रमण बढ्दै गएको छ ।

सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कात्तिक ३ गते ५५ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ९ हजार ४५ जना पुगेको छ । जसमध्ये ७ हजार ९ सय ११ जना उपचारपछि निको भइसकेका छन् भने ५ सय ३६ जनाको संस्थागत आइसोलेशनमा र ५ सय ८३ जनाको होम आइसालेशनमा उपचार भइरहेको छ । कोभिड–१९ सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । यस प्रदेशमा एक साताअघि कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ८ हजार ३ सय ७७ जना रहेकामा यो साता १ सय ६९ जना महिला र ४ सय ९९ जना पुरुष गरी ६ सय ६८ जना सङ्क्रमित थपिएका छन् । कात्तिक ३ गते आठ जनाको उपचार आइसीयूमा र तीन जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।


अनलाइन डेस्क