कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १५ गते)
असोज १५ गते १ हजार ९ सय ११ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७९ हजार ७ सय २८ पुगेको छ । गत २४ घण्टामा १२ हजार ४ सय ४४ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज १५ गतेसम्म कोभिड–१९ सङ्क्रमणका कारण ५ सय ९ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ५७ हजार ३ सय ८९ जना निको भएका छन् । असोज १५ गते ९ सय ६१ जना निको भएका छन् भने निको दर ७१.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । २१ हजार ८ सय ३० जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार ७२ प्रतिशत पुरुष र २८ प्रतिशत महिला सङ्क्रमित रहेका छन् ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार मोरङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–२ का २७ वर्षीय युवकको मृत्युपछि कोभिड सङ्क्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दो लक्षण देखिएपछि कोशी अस्पतालले स्वाब सङ्कलन गरेको थियो । असोज १५ गते बिहान पोजेटिभ रिपोर्ट आएको कोशी अस्पतालका आइसोलेशन प्रमुख डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो । लागूऔषध मुद्दामा ०७६ मङ्सिर १८ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका बन्दीलाई स्वास्थ्यममा समस्या देखिएपछि असोज १४ गते कोशी अस्पताल भर्ना गरिएको मोरङ कारागारले जनाएको छ । उपचारका क्रममा उनको असोज १४ गते राति मृत्यु भएको थियो ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार असोज १५ गते दिउँसो विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारार्थ कोभिड १९ सङ्क्रमित विष्णुपुर गाउँपालिका–५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिनु भयो । विराटनगरकै म्याक्स अस्पतालमा उपचारार्थ उनमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि असोज १४ गते थप उपचारका लागि नोबेलको आकस्मिक कक्षको आइसीयूमा उपचार थालिएको थियो । नोेबेलकै प्रयोगशालाबाट पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको पाँच मिनेटमा मृत्यु भएको दाहालले बताउनु भयो । उनमा मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या थियो ।
गण्डकी प्रदेश
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार शुक्लागण्डकी नपा–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोभिड सङ्क्रमण पुष्टि भएपछि असोज १५ गतेदेखि उक्त अस्पतालको सेवा बन्द गरिएको छ । स्वास्थ्यकर्मीलाई असोज १५ गते नै कोरोना पोजेटिभ देखिएको अस्पतालका कार्यकारी निर्देशक डाक्टर रामकुमार श्रेष्ठले बताउनुभयो । उक्त अस्पताल जिल्लाको एक मात्र कोभिड अस्पताल पनि हो । अस्पतालको स्वास्थ्य सेवा बन्द भएपनि प्रशासनिक काम र आइसोलेशनको सेवा भने बन्द नहुने कार्यकारी निर्देशक डाक्टर श्रेष्ठले बताउनुभयो ।
प्रदेश ५
रुपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार बुटवल उमनपा–१० का ७६ वर्षीय पुरुषले असोज १३ गते होम क्वारेण्टिनमा हँसियाले घाँटी रेटेर आत्महत्याको प्रयास गरेकामा उपचारको क्रममा असोज १४ गते मृत्यु भएको छ । कोभिड–१९ सङ्क्रमित भएर होम आइसोलेशनमा बसेका उनी घाइते भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तत्काल लगिएको र युनिभर्सल मेडिकल कलेज, भैरहवामा उपचारको क्रममा मृत्यु भएको युनिभर्सल मेडिकल कलेज, भैरहवाका प्रशासन प्रमुख तेज केसीले बताउनु भयो । असोज १३ पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको केसीले बताउनु भयो ।
बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार कोभिड–१९ का काराण असोज १५ गते नेपालगञ्ज उमपा–४ का ५२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनु भयो । स्वास्थ्यमा समस्या देखिएपछि असोज १० गते कोरोना परीक्षणका लागि स्वाब लिएको र असोज १२ गते रिपोर्ट पोजेटिभ आएपछि कोहलपुर शिक्षण अस्पतालको आइसोलेशनमा उपचार भइरहेको थियो । मृतकको दुवै फोक्सोमा निमोनिया भएको र प्लाज्मा थेरापी, रेमडिसिभिर औषधिलगायत सबै किसिमको उपचारका क्रममा असोज १५ गते उनको मृत्यु भएको श्रेष्ठले बताउनु भयो । यसैगरी बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार कोभिड–१९ सङ्क्रमणबाट भेरी अस्पताल नेपालगञ्जका ५९ वर्षीय डाक्टरको मृत्यु भएको छ । कोभिड पोजेटिभ देखिएपछि भेरी अस्पतालको आइसोलेशनमा उपचाररत रहँदा असोज १५ गते उनको मृत्यु भएको हो । यसअघि कोभिड सङ्क्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएपनि डाक्टरको भने मृत्यु भएको थिएन । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत सुर्खेत भेरीगङ्गा नगरपालिका–५ की ७५ वर्षीया महिलाको पनि असोज १५ गते मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जानकारी दिनु भयो ।
कर्णाली प्रदेश
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका क्षेत्र असोज १५ गते ३ बजेदेखि लागुहुने गरी असोज १८ गतेसम्म सील गरिएको छ । २७ जना स्वास्थ्यकर्मीसहित ४६ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि नगरपालिकाको पुर्वमा दानसाँघु, दक्षिणमा तिला नदी, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र पश्चिममा गमगाड क्षेत्रभित्र सील गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो । दुई दिनमा २७ जना स्वास्थ्यकर्मीसहित ४६ जनामा कोभिड सङ्क्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त निर्देशक डाक्टर अनुपमङ्गल समालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘अहिले आकस्मिक बाहेक अरू सेवा पनि अस्पतालबाट बन्द गरिएको छ ।’
सुदूरपश्चिम प्रदेश
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार कोभिड–१९ का कारण गोदावरी नगरपालिका–१२ की ३० वर्षीया महिलाको असोज १४ गते राति सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ । निमोनियाको समस्या देखिएपछि असोज ११ गते अस्पताल भर्ना गरिएकी ती महिलामा असोज १४ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । निमोनियाबाट ग्रसित उनको उपचारका क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकृत दिलिपकुमार श्रेष्ठले बताउनु भयो ।
कञ्चनपुर प्रतिनिधि कोमल निरञ्जन भाटका अनुसार बेलौरी नगरपालिका–४ बेलौरी बजारस्थित बैङ्क अफ काठमाडौँमा कार्यरत कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि सो बैङ्कसँगै रहेको राष्ट्रिय वाणिज्य बैङ्क असोज १५ गतेदेखि एक साताका लागि सील गरिएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैङ्क अफ काठमाडौँमा कार्यरत कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि सो बैङ्कसँगै रहेको राष्ट्रिय बाणिज्य बैङ्क सील गरिएको हो । सील गरिएसँगै बैङ्कले प्रवाह गर्ने सबै सेवा बन्द गरिएको बेलौरी नगरपालिका–४ का वडाध्यक्ष अर्जुन ढकालले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…