८ सय ८५ घरधुरी परिवारले खोला र नदिकै दुषित पानी पिउन बाध्य

  २०८१ वैशाख २०

त्रिपुरासुन्दरी नगरपालिकाका ८ सय ८५ घरधुरी परिवारले खोला र नदीको दुषित पानी पिउन बाध्य छन् । नगरपालिका भित्र स्रोत भएपनि उचित प्रवर्धन र पूर्वाधार विकास सहित स्रोत परिचालनको ठोस नीति र लगानी नहुँदा १ हजार १ सय ४४ घरधुरी भएको त्रिपुरासुन्दरीका ८ सय ८५ घरपरिवार  अझैपनि खोला र नदीको दुषित पानी पिउन बाध्य भएका हुन् ।

नेपालको संविधानले खानेपानीलाई आधारभूत आवश्यकता मानेको छ । संविधानको भाग–३ मौलिक हक अन्तरर्गत स्वास्थ्य सम्बन्धी हकको दफा (४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँचको हक हुने व्यवस्था छ । तर सङ्घीयता कार्यान्वयन भएको ६ वर्ष वितिसक्दा पनि त्रिपुरासुन्दरीका नागरिक खोला र नदीको दुषित पानी पिउन बाध्य रहेका छन् । त्रिपुरासुन्दरी नगरपालिकाको  तथ्याङ्क अनुसार नगरपालिका भित्रका ८ सय ८५ घर परिवार अहिले पनि खोलाकै दुषित पानी प्रयोग गरिरहेको पाइएको छ ।

सबैभन्दा बढी त्रिपुरासुन्दरी नगरपालिका–८ का स्थानीय नागरिकले खोला नदीको पानी पिउने गरेका छन् । तथ्याङ्क अनुसार उक्त वडाका सम्पुर्ण घरधुरी खोला र मुहानको दुषित पानी पिउन बाध्य छन् ।  स्थानीय ३६ वर्षीय कर्ण विकका अनुसार वडामा वर्षौ देखि  नागरिकले खोला , नहर र मुलको दुषित पानी प्रयोग गरिरहेका छन् ।  यो बस्तीमा स्थानीय सरकारले स्वच्छ खानपानको योजना अगाडि नबढाउँदा यहाँका बासिन्दा दैनिक दुषित पानी प्रयोग गरिरहेका छन् । यसरी दुषित पानी प्रयोग गर्दा सबै भन्दा बढी सरुवा रोगबाट प्रभावित भएको उहाँको भनाइ छ । दुषित पानीको प्रयोगकै कारण सबैभन्दा बढी सरुवा रोग लाग्ने भएपनि दैनिकी आवश्यकता परिपूर्तिका लागि त्रिपुरासुन्दरी नगरपालिका भित्रका  नागरिक दुषित पानी प्रयोग गर्न बाध्य छन् ।

त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख तुल बहादुर श्रेष्ठका अनुसार यहाँ पानी जन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेका छन् । उहाँले भन्नुभयो ’ त्रिपुरासुन्दरीका अधिकांश वडाका नागरिक शुद्ध खानेपानीको पहुँचमा छैनन् । नदी, खोला र खोल्साको दुषित पानी पिउछन् । जसले गर्दा पानीजन्य रोगका बिरामी आउने गर्दछन्  । भौतिक विकासमा केन्द्रित स्थानीय सरकारले खानेपानीको अभाव झेल्दै आएको र खोला नदीको पानी पिउन बाध्य नागरिकको समस्यालाई मध्यनजर गर्दै योजना र नीति बनाउन समेत सकेका छैनन् ।

त्रिपुरासुन्दरी नगरपालिकाले अबको ७ वर्षमा पालिकाका सबै बस्तीमा एक घर खानेपानी एक धारा निर्माण गर्ने लक्ष्य लिएको छ ।  यसै लक्ष्यको आधारमा नगरपालिकाले अहिले नगरपालिका भित्र सबैको लागि स्वच्छ र दिगो खाने पानी (सुस्वा) प्रोजेक्ट सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश नेपालीले जानकारी दिनु भयो। नगरपालिका भित्रका सबै वडाका नागरिकलाई स्वच्छ र दिगो खानेपानी खुवाउने उद्धेश्यले ८ नम्बर वडाको दलित टोलमा बृहत खानेपानी योजना सञ्चालन गरिरहेको र योजनाको काम अन्तिम चरणमा रहेको बताउनु भयो ।  एक वर्षमा एउटा वडा सक्ने लक्ष्य समेत रहेको उहाँको भनाइ छ ।


पुर्ण सार्की