८७ वटै मतदान केन्द्र अति सम्वेदनशील

जिल्लाका ८७ वटै मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा एक नगरपालिका र सात वटा गाउँपालिका भित्र रहेका ८७ वटै मतदान केन्द्रमा उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।

स्थानीय तहको चुनावको विरोध गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचन विथोलिन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको उनले बताए । जुम्लामा मात्रै २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए ।

यसैबिच सिञ्जा गाउँपालिका-२ नराकोटनजिकैको जङ्गलमा वैशाख २९ गते राति बम विस्फोट भएको आवाज सुनिएको स्थानीयले बताएका छन् ।

सिञ्जा गाउँपालिकाको भैरव मावि नजिक रहेको मतदान केन्द्रैनिर राति दुई पटक बम पड्केको आवाज आएपनि बम विष्फोट भएको पुष्टि हुन नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गुरुविष्णु काफ्लेले बताए ।

बम विष्फोट भएको आशङ्कापछि सुरक्षा व्यवस्था झन् कडा पारिएको डिएसपी काफ्लेले बताए । नेपाल कम्युनिष्ट पार्टीका भेरी कर्णाली पोलिटव्यूरो सदस्य चन्द्रविर तिरुवा (रविकिरण) र युवा दस्ताका इञ्चार्ज वीरबहादुर कठायतलाई प्रहरीले यसअघि नै गिरफ्तार गरेको थियो ।


मानदत्त रावल