८० वर्षको उमेरमा मजदुरी गर्दै ज्येष्ठ नागरिकहरू
उनीहरूको इच्छा, बाँच्नका लागि माग्न नपरोस् । यहि इच्छाले ८० वर्षको उमेरमा पनि युवाअवस्थामा जस्तै गिट्टी कुट्ने उर्जा पैदा गर्छ ताराखोला गाउँपालिका–५ करिमेलाका जङ्गबहादुर रोकालाई । ज्येष्ठ नागरिकको हक, अधिकार र सरकारले ल्याएका योजना अनि कार्यक्रमको बारेमा जानकारी छैन भन्छन् उनी । खेती किसानी, कुटो कोदालो गरेर जीवन बिताइरहेका रोका उमेर पाक्दै गएपछि शरीर थाक्दै आएको अनुभव सुनाउँछन् । रोका भन्छन्–‘बुढीमाउँ (पत्नी) बितेको वर्षौँ भइसक्यो, अरूसँग हात थाप्न नपरोस् भनेर गिट्टी कुट्छु ।’
चाउरी परेको अनुहार, चिम्सा आँखा अनि हसिलो स्वभावका रोका चुरोटका अम्मली छन् । बृद्धभत्ताले अम्मल किन्न पुर्याएको बताउने रोकाले गिट्टी कुटेर पाएको पैसाले दैनिक खर्च चलाउँदै आएको बताउँछन् । ‘चाडवाडमा छोरी नाति–नातिना आउँछन् । आफूलाई पनि चिल्लो चोखो खान मनलाग्छ ।’–रोकाले भने–‘आफैँले काम गर्ने हो भने अरूसँग हात थाप्नु पर्दैन । बुढेसकाल सबैको लागि बोझ हुन्छ ।’–रोका भन्छन्–‘अरूको बोझ बन्न नपरोस् भनेर दैनिक साढे ६ घण्टा गिट्टी कुट्छु ।’
जङ्गबहादुरजस्तै सोही ठाउँका ६१ वर्षीय चित्रप्रसाद रोका पनि गिट्टी कुट्ने काम गर्छन् । शारीरिक रूपमा कमजोर बन्दै गएको भएपनि गिट्टी कुट्न बाध्यता ठुलो भएको उनको भनाई छ । स्थानीय स्रोत र साधनको प्रयोग गरेर विकास निर्माणका काम गर्ने भन्दै स्थानीय सरकारले नीति बनाएपछि आफूहरूले काम पाएको रोकाले बताए ।
‘हामीजस्ता बुढो मान्छेलाई कसले काम दिन्थ्यो ?’–रोका भन्छन्–‘स्थानीयबासीलाई प्रयोग गरेर काम गर्नुपर्छ भन्ने नियम बनाएपछि युवायुवतीको अभाव भएर हामीलाई काम दिएका छन् ।’ ‘काम गर्न सक्ने नसक्ने भन्ने कुरै छैन । हामीले सकेसम्म काम गर्छौँ ।’–रोकाले भने–‘दुई चार पैसा भयो भने मन लागेको खान पाइन्छ ।’
ताराखोला गाउँपालिकाको करिमेलाघाटको ठुलो खोलामा निर्माण भइरहेको ट्रस्ट झोलुङ्गे पुलको लागि जङ्गबहादुर र चित्रप्रसादले गिट्टी कुटिरहेका हुन् । २२ लाख ९९ हजार लागतमा निर्माण भइरहेको सो पुल निर्माणमा दक्ष र अर्धदक्ष गरी दुई प्रकारका जनशक्तिले कम गरिरहेका छन् । दक्षलाई (क) र अर्धदक्षलाई (ख) गरी कामदारको वर्गीकरण समेत गरिएको छ । रोकाद्वय (ख) वर्गमा पर्छन् ।
वर्गीकरण अनुसार कामदारको तलब निर्धारण गरिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष धनप्रसाद बुढाले बताए । (क) वर्गका कामदारले घण्टाको ९० र (ख) वर्गका कामदारले घण्टाको ७० रुपियाँका दरले पारिश्रमिक पाउने गरेको बुढाको भनाई छ । चित्रबहादुर र जङ्गबहादुरले दैनिक साढे ६ घण्टा काम गरेबापत् दैनिक ४ सय ५५ रुपियाँका दरले कमाउँदै आएका छन् ।
गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले गाउँपालिकाले हाललाई ज्येष्ठ नागरिकसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्न नसकेपनि अघिल्लो हिउँदमा ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम अन्र्तगत गाउँपालिका भित्रका ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेको बताए । घर्तीले परिवारको अवहेलनामा परेका तथा विपन्न वर्गका ज्येष्ठ नागरिकको दैनिक जीवनयापन कसरी सहज बनाउने भन्ने बारेमा योजना बनाउने बताए ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…