६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार

  ०७९ साउन २४ गते

६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते गिरफ्तार गरेको छ ।

६ महिने छोरीको हत्या गरी अस्थायी शौचालयको खाल्डोमा फालेको आरोपमा उनीहरूलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

लक्ष्मी राना यही साउन १० गतेदेखि ६ महिने छोरीसहित सम्पर्कविहीन भएको लक्ष्मीको परिवारले जनाएको थियो ।

लक्ष्मीले पाल्पाका २२ वर्षीय केदार कुमालसँग अर्को विवाह गरेपछि लक्ष्मीका पति मिनबहादुर राना र ससुरालगायतले प्रहरीमा निवेदन दिएका थिए ।

उनीहरू दुवै जनालाई गल्याङ् बजारबाट प्रहरीले साउन २० गते नियन्त्रणमा लिई सोधपुछ एवम् अनुसन्धान गर्दा लक्ष्मीले पाल्पा रामपुरका कुमालसँग भागी विवाह गरेको थाहा पाएपछि परिवारले ६ महिने छोरीको खोजी गर्ने क्रममा सो कुरा बाहिर आएको हो ।

अनुसन्धानका क्रममा साउन १० गतेका राती नै अस्थायी शौचालयको खाल्टोमा फालेको पुष्टि भएको थियो ।

सोही स्थानमा खोजतलास गर्दा सडेगलेको अवस्थामा बच्चाको शव फेला परेको र उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालले जानकारी दिनु भयो ।


राधाकृष्ण शर्मा