६५ वडा कार्यालय मध्ये ३३ ओटा कार्यालय सचिव विहिन, सेवाग्राही मार्कामा

जिल्लाका नौ ओटै स्थानीय तहका ६५ वडा कार्यालय मध्ये ३३ ओटा वडामा सचिव पदको दरबन्दी रिक्त रहदा स्थानीय सेवाग्राहीहरु मार्कामा परेका छन् ।

६ ओटा वडा रहेको जिल्लाको सायल गाउँपालिकामा वडासचिव नहुँदा स्थानीय सेवाग्राहीहरु मार्कामा परेको सायल गाउँपालिका–३ का स्थानीय तथा सामाजिक अभियान्ता तेजबहादुर डुम्रेलले गुनासो गर्नु भयो ।

उहाँले जिल्लाको विकट गाउँपालिका सायलमा लामो समयदेखि वडासचिव विहीन हुँदा नागरिकहरुले वडा कार्यालयबाट प्रवाह हुने बिभिन्न सिफारीस, जन्मदर्ता, मृत्युदर्ता, बसाइसराइलगायतका सेवा सुबिधा पाउन सास्ती खेप्नु परेको बताउनु भयो ।

जिल्ला सदरमुकाम समेत रहेको दिपायल सिलगढी नगरपालिकाका चाँर ओटा वडा कार्यालयमा सचिव नहुँदा नागरिकहरुले सास्ती खेप्नु परेको दिपायल सिलगढी नगरपालिका–५ का स्थानीय कलावती भण्डारीले गुनासो गर्नु भयो ।

उहाँले छोराको जन्मदर्ता लिन तीन दिनसम्म वडा कार्यालय धाउँदा समेत वडाध्यक्ष कार्यालयमा नभेटिने र वडा सचिव नहुँदा जन्मदर्ताको प्रमाण पत्र पाउन नसकेको बताउनु भयो ।

११ ओटा वडा रहेको शिखर नगरपालिकामा पनि चार ओटा वडा कार्यालयमा सचिव नहुँदा नागरिकले सास्ती खेप्नु परेको शिखर नगरपालिका–४ कपल्लेकीका स्थानीय नेत्रबहादुर शाहीले बताउनु भयो ।

उहाँले लामो समयदेखि वडा कार्यालय सचिव विहिन रहदा स्थानीयहरुले सास्ती खेप्नु परेको र समस्या समाधानका लागि सरकार मौन रहदा नागरिकको मौलिक हक हनन् भएको गुनासो गर्नु भयो ।

६ ओटा वडा रहेको जोरायल गाउँपालिकामा पनि दुई ओटा वडा कार्यालयमा सचिव नहुँदा वडा कार्यालयले प्रवाह गर्दै आएको सेवा पाउनबाट स्थानीय वञ्चित हुनु परेका जोरायल गाउँपालिका–३ का स्थानीय अमृतकुमार वलीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘दुई वर्षदेखि वडा कार्यालयमा सचिव छैनन् । गाउँपालिकालाई स्थानीयले पटकपटक वडासचिवको व्यवस्था गर्न अनुरोध गर्दै आएकाछन् । हप्ताको दुई दिन मात्र गाउँपालिकाबाट खटाइएका प्राविधिकले वडा सचिवको काम गर्ने गरेका छन् । उहाँहरु नियमित रुपमा वडा कार्यालयमा नबस्दा स्थानीयले सास्ती खेप्नु परेको छ ।’

सात ओटा वडा रहेको बोगटान फुडसिल गाउँपालिकामा ६ ओटा वडामा वडासचिव विहीन हुँदा नागरिकहरुले दुःख पाउनु परेको बोगटान फुडसिल गाउँपालिका–६ का स्थानीय नरेश बोगटीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘लामो समयदेखि वडा कार्यालय सचिव विहिन रहेको छ । सचिव नहुँदा स्थानीयहरुले कष्ट भोग्नु परेको छ । संघीयतापछि सिंह दरवारको अधिकार गाउँमा भने पनि गाउँमा नागरिकहरुले सहजै एउटा जन्मदर्ता, मृत्यु दर्तालगायतका समान्य सेवा समेत पाउन सास्ती खेप्नु परेको छ ।’

जिल्लाको केआइसिँ गाउँपालिकामा दुई, आदर्श गाउँपालिकामा तीन र बडिकेदार गाउँपालिकामा तीन ओटा वडामा सचिव नहुँदा नागरिकहरुले सास्ती खेप्दै आउनु भएको छ ।

स्थानीय तहहरुमा कर्मचारी अभावका बिषयमा पटकपटक बैठकमा छलफल भइरहको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिँहले बताउनु भयो ।

उहाँले समस्या समाधानका लागि स्थानीय तहका प्रमुख, सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगको कार्यालय र प्रदेश सरकारलाई जानकारी गराइएको बताउनु भयो ।

स्थानीय तहमा कर्मचारी अभाव भए पनि स्थानीय तहमा रिक्त दरबन्दी अनुसारका कर्मचारी लोकसेवामा माग नगर्नुले स्थानीय तहहरुमा कर्मचारी अभाव हुने गरेको सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका उपसचिव हिरालाल चौधरीले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तह मध्ये ४० स्थानीय तहले मात्रै आवश्यक कर्मचारी माग गरेको उप सचिव चौधरीको भनाइ छ ।

जिल्लामा वडासचिव मात्र नभएर स्थानीय तहमा अन्य पदमा पनि दरबन्दी अनुसारका कर्मचारी नहुँदा नागरिकहरुले सास्ती खेप्नु परेको छ ।


गणेश जोशी