५५ परिवारलाई लालपुर्जा वितरण

चौबिसे गाउँपालिका–२ मुढेबास गाउँका ५५ परिवारले लालपुर्जा पाएका छन् ।

वि.स.०३२ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि उनीहरु लालपुर्जा पाउनबाट वञ्चित भएका थिए ।

४८ वर्षपछि आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपत्र पाएपछि ५५ परिवार खुसी भएका छन् । पितापुर्खाका पालादेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा बल्ल हात परेको चौबिसे गाउँपालिका–२ मुढेबासकी ५५ वर्षीया श्रीमाया मगरले बताउनु भयो । उहाँले २०३२ सालमा नापी गर्दा गाउँ ब्लक भनेर छोडेको र आफूहरुले नै उपभोग गर्दै आएको जग्गा आफ्नो स्वामित्वमा आउँदा खुसी लागेको बताउनु भयो ।

विगतमा आफ्ना नाममा जग्गा नहुँदा स्थानीयलाई समस्या हुने गरेको थियो । नापी कार्यालयद्वारा मुढेबासमा लालपुर्जा वितरण गरिएको हो । पहिले नै जमिनको स्वामित्व जग्गाधनीको नाममा हुनुपर्नेमा बल्ल आफ्नो नाममा हात पर्दा निकै खुसी लागेको चौबिसे गाउँपालिका–२ मुढेबासका ६१ वर्षीय टेकबहादुर मगरले बताउनु भयो । बसोबास गरिरहेको तर, के हुने हो भन्ने अन्यौल रहेकोमा अहिले लालपुर्जा पाउँदा ढुक्क भएको उहाँले बताउनु भयो ।

लालपुर्जा वितरणसँगै स्थानीयले सम्पत्ति सम्बन्धी अधिकार प्राप्त गरेका छन् । २०२१ सालदेखि जग्गा हदबन्दी कायम गरिएसँगै नापजाँच कार्य सुरु गरिएको र २०३२ सालमा नापनक्सा सुरु गरिए पनि सिंगो बस्तीलाई नै गाउँ ब्लकको क्षेत्र कायम गरिँदा लालपुर्जा नपाएर स्थानीयलाई समस्या भएको थियो ।

लालपुर्जा विहीन भएको पाइएपछि २०७७ देखि पुनः नाप नक्सा गरेर गाउँ ब्लकको नाममा सीमित जग्गा व्यक्तिगत रुपमा बनाइएको नापी कार्यालयका प्रमुख मिथिलेश यादवले बताउनु भयो ।

यादवले गाउँ ब्लक भनेर लेखिएको जग्गालाई पुन नाप नक्सा गरि पुर्जा वितरण गर्ने भनेर नापी विभागबाट निर्देशन भएपछि लालपुर्जा वितरण गरिएको जानकारी दिनुभयो । धनकुटा जिल्लामा २ वटा गाउँपालिकामा गाउँ ब्लकको रुपमा रहेको यादवले बताउनु भयो ।

उहाँले साँगुरीगढी गाउँपालिका र चौविसे गाउँपालिकामा गाउँ ब्लकको जग्गा रहेकोमा साँगुरीगढी गाउँपालिकाको वडा नं. ५ को ओख्रे र तुंखा गाउँका २८ परिवारलाई गत ०७९ साउन ५ गते वितरण गरिएको यादवले बताउनु भयो ।

लालपुर्जा वितरण कार्यक्रममा चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले सम्पत्तिको अधिकार प्राप्त गरेको बताउनु भयो । उहाँले सरकार नागरिकको अधिकारका लागि प्रतिबद्ध हुनुपर्ने बताउँदै स्थानीय तह पनि प्रतिबद्ध रहेको बताउनु भयो ।

लालपुर्जा वितरण चौबिसे गाउँपालिका अध्यक्ष चेम्जोङ, नापी कार्यालय धनकुटाका प्रमुख यादव, भूमि आयोग धनकुटाका अध्यक्ष बलबहादुर राईले गर्नुभएको थियो ।

Photo 20230104 Dhankuta


ईश्वर थापा