२५ वर्षदेखि देउलीका स्थानीयलाई खानेपानीको समस्या

चंखेली गाउँपालिका–२ स्थित दार्म गाउँको देउलीका स्थानीयहरु विगत २५ वर्षदेखि खानेपानीको समस्या रहेको छ । खानेपानीको स्रोत नजिक नहुनु र बनेका योजना पनि गुणस्तरीय काम नभएका कारण खानेपानीको समस्या भएको हो ।

देउलीमा ०५६ सालदेखि पानीको समस्या रहेको स्थानीय जानकी विकले गुनसो गर्नु भएको छ । पहिले बस्ती कम भएका कारण सानो मूलको पानीबाट चल्ने गरेको भए पनि अहिले बस्ती बढ्दै गएको र उक्त मूलको पानी अपुग हुदै जानुका साथै ०७० देखि मुलको पानी समेत सुक्दै गएको विकले गुनासो गर्नुभयो ।

गाउँका एक सय घरदुरीका स्थानीयले हाल एक घण्टा पैदल हिँडेर खोलाको धमिलो पानी ल्याएर उपभोग गर्नु परेको अर्का स्थानीय जनक बुढाले गुनासो गर्नुभयो । स्थानीय बुढाले खानेपानी समस्या कहिल्यै समाधान नहुने अवस्थामा रहेको बताउँदै स्थानीयलाई पानीको चिन्ता बारम्बार रही रहेको बताउनुभयो ।

खानेपानी समस्या जहिले पनि उस्तै रहेको बताउँदै दुई पटक खानेपानीको योजना परेको भए पनि काम गुणस्तरीय नबनेका कारण योजना दिगो नभएको उहाँले बताउनुभयो । ती योजना मध्ये पहिलो योजनाको धारामा पानी नै नआएर योजना सम्पन्न भएको थियो भने अर्को खानेपानीको स्रोत पनि निक्कै टाढा रहेकोले गाउँसम्म पानी नपुगेरै योजना सम्पन्न भएको थियो ।

गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले देउलीमा खानेपानीको समस्या रहेको स्वीकार गर्दै अब बृहत खानेपानी योजना निर्माणको तयारीमा गाउँपालिका रहेको बताउनुभयो । उहाँले आफू विद्यार्थी हुँदा भोगेको खानेपानीको समस्या अहिले पनि उस्तै समस्या रहेको अध्यक्ष शाहीको भनाइ छ ।


नन्द सिंह