२३ वर्षदेखि पहिरोको उच्च जोखिममा गुइवनबस्ती, सरकारले बेवास्ता गरेको स्थानीयको आरोप

  ०७८ भदौ १६ गते

खप्तड छेडेदह गाउँपालिका–४ गुइवनबस्तीका १ सय २० परिवार विगत २३ वर्षदेखि पहिरोको उच्च जोखिममा रहेका छन् ।

बस्ती नै जोखिममा परेको २३ वर्ष वितिसक्दा समेत सम्वन्धित निकायले कुनै चासो नदिएको कारण त्रासदिपूर्ण जिवन बाँच्न बाध्य भएको स्थानीयहरुले गुनासो गर्नु भएको छ ।

२०४८ सालबाट सामान्य चिरा परेको गुइवन गाउँको मूनीको भिर भासिदै गएपछि १ सय २० परिवार पहिरोको उच्च जोखिम रहको र सरकारले कुनै प्रकारको राहात सहयोग समेत नगरेको स्थानीय रुपेश धामीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘वर्षातको समयमा कहिलै राम्रोसँग खान र सुत्न पाएका छैनौँ । कुन समयमा पहिरो जाने हो त्रासमै रात बिताउने गरिएको छ ।’

विगत तीन दशकदेखि आफूहरुले पहिरोको जोखिम मोलेर बाँच्नु परेको र बर्षायाम सुरु भएसँगै गाउँमाथि र गाउँ मूनीतिरको पहिरो जाने डरले घर छाडेर जङ्गलमा बस्ने गरेको स्थानीय कृष्ण धामीले दुखेसो पोख्नु भयो ।

२०५६ सालदेखि पहिरोको चपेटामा परेका गुइवनका नागरिकलाई २०६३ सालमा नेपाल रेडक्रस सोसाइटीले एक थान कम्मल, एक जोर लुगा र एक जोर आल्मुनियमका भाडाकुँडा सहयोग गरेको भएपनि सरकारले कुनै सहयोग नगरेको धामीले गुनासो गर्नु भयो ।

पहिरो गएर खेती योग्य जमिन तहसनहस भई बस्ती नै जोखिममा परेको भएपनि अहिलेसम्म स्थानीय तह, प्रदेश र संघीय सरकारले बस्ती स्थान्तरण तथा नागरिकको सुरक्षाका लागि कुनै पहल नगरेको स्थानीय प्रेम धामीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘निर्वाचनको समयमा नेताहरु गाउँमा आएर भोट मागे । बस्ती जोखिममा रहेकोले स्थान्तरण गर्न पहल गर्ने प्रतिवद्धता पनि जनाए । तर, चुनाव  जितेर गएपछि कसैले पहल गरेको पाइएन् ।’

पहिरोको उच्च जोखिममा रहेको गुइवन गाउँलाई स्थान्तरण गर्न त परैजाओस पहिरोका कारण विस्थापित भएर खुला आकासमा बस्ने परिवारलाई सरकारले एउटा त्रिपाल समेत उपलब्ध नगरेको स्थानीय प्रेम धामीले दुखेसो पोख्नु भयो ।

२०४८ सालमा गाउँ नजिकैको जङ्गलमा आएको पहिरो २०५६ सालमा गाउँ नजिकै रहेका खेतबारी सबै बगाएर लगेको र हाल गुइवनको पहिरोबाट यस क्षेत्रका एक दर्जन बढी बस्तीहरु उच्च जोखिममा रहेको स्थानीय रुपेश धामीले बताउनु भयो ।

खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नरबाहादुर रावतले गुइवन क्षेत्रका बस्तीहरु विगत लामो समयदेखि पहिरोको उच्च जोखिममा रहेका भएपनि बस्ती नै स्थान्तरण गर्न गाउँपालिकासँग बजेट नभएका कारण तत्काल बस्ती नै स्थान्तरण गर्न नसकिएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘गुइवनबस्ती पहिरोको उच्च जोखिमा रहेको छ । बस्ती स्थान्तरण गर्न संघीय सरकारले जोखिममा रहेका परिवारको तथ्याङ्क सङ्कलन कार्य अगाडि बढाएको छ । संघीय सरकारको बस्ती स्थान्तरण कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालयले काम अगाडि बढाएको छ । समस्या समाधान हुने आशामा छु ।’

गुइवन, नाउली, पुरानापानी, मल्लागाउँ, चौताणीलगायतका बस्तीहरु २०४८ सालदेखि नै पहिरोको उच्च जोखिममा रहेका छन् ।

photo20210901bajura (3)

photo20210901bajura (2)

photo20210901bajura (1)


पदमबहादुर सिंह