१ सय ८ जना बालबालिकामा गम्भीर कुपोषण

  ०७७ माघ २० गते

जिल्लाका बिभिन्न स्थानका  १ सय ८ जना बालबालिकालाई गम्भीर कुपोषण देखा परेको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयको चालु आर्थिक वर्ष अन्तर्गत ६ महिनाको तथ्याङ्क अनुसार १ सय ८ जना बालबालिकामा गम्भीर खालको कुपोषण देखा परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका कुपोषण विज्ञ लोकबहादुर विकले जानकारी दिनुभयो ।  मुगुमा ९.२ प्रतिशत बालबालिकामा गम्भीर कुपोषण र ४४ प्रतिशत बालबालिकामा मध्यम खालको कुपोषण देखिएको विकको भनाइ छ ।

०७७ साउन देखि पुससम्म जन्मेका ६ महिना देखि र ५ वर्ष मुनिका ६६ जना बालिका र ४२ जना बालकलाई गम्भीर कुपोषण रोग देखिएको विज्ञ विकले बताउनुभयो । कुल १ सय ८ जना  मध्ये दलित समुदायका ७५, जनजातिका १, क्षेत्री र ठकुरी समुदायका ३२ जना बालबालिकामा कुपोषण रोग देखा परेको स्वास्थ्य सेवा कायर्कालयले जनाएको छ ।

कुपोषित बालबालिका मध्ये ७३ जनाको उपचार पश्चात निको भएको र बाँकी ३५ जना बालबालिका उपचारारकै क्रममा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिनुभयो ।

नगरकोटीका अनुसार जिल्लाको चार वटा स्थानीय तह मध्ये सबै भन्दा बढी कुपोषित बालबालिकाको संख्या छायाँनाथ रारा नगरपालिका र सोरू गाउँपालिका  रहेका छन । जनजातिहरूको बाहुल्यता रहेको मुगुमकार्मारोङ गाउँपालिकामा एक जना बालकलाई मात्र कुपोषण देखिएको र खत्याड गाँउपालिकामा कुपोषित हुने बालबालिकाको संख्या शुन्य रहेको छ ।

गरिबी, अशिक्षा, पोषिलो खानाको अभाव र सरसफाइको कमीका कारण जातिय रूपमा सबै भन्दा दलित समुदायका बालबालिकामा बढी कुपोषण रोग देखा परेको हुन सक्ने जिल्ला स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारी पशुराम नेपालीको भनाइ छ ।

गम्भिर खालको कुपोषण देखा परेका बालबालिकाहरूको कम्तीमा २ महिना उपचार गर्न पर्ने र त्यस्ता बालबालिकालाई जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्थामार्फत एक गैर सरकारी संस्थाले सर्बोत्तम पिठो लगायत स्वास्थ्य संस्थाले अन्य औषधि वितरण गर्ने गरेको  स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।


जीवन सेजुवाल