१८ वर्ष पहिला बेपत्ता पारिएका सन्तान आउने आशामै परिवारका सदस्य

मंगला गाउँपालिका–३ पखेर का दिलबहादुर थापा २०६२ सालमा स्याङजाको जौबारीबाट नेपाली सेनाले नियन्त्रणमा लिएर बेपत्ता पारिनुभएको थियो । तर उहाँ आउने आशा अझै पनि परिवारले मारेका छैनन् ।

पाँच सन्तान मध्येका कान्छो दिलबहादुर डेढ वर्षको हुँदा आमाले घर छाडेर हिडेकी भए पनि बुवा इन्द्रबहादुर थापाले दुई छोरी र तीन छोरा हुर्काउनु भएको थियो । कान्छो छोरो तत्कालिन माओवादीमा भूमिगत हुने भनेर गएपछि छोराको सँधै खोजी गरे पनि उपलब्धी भने कहिल्यै लागेन । थापाले आफ्नो छोराको खोजी धेरै ठाउँमा गर्नुभए पनि कुनै जानकारी पाउन सक्नुभएन ।

कान्छो छोरा आउने आशै आशमा इन्द्रबहादुरको पनि गएको असारमा मृत्यु भयो । भाइ आउँछ कि भन्ने आशा गर्नु हुन्थ्यो बाबाले तर न त भाई आयो न उ कहाँ छ भनेर केही जानकारी आशैआशमा बाबाको मृत्यु भयो–बीरेन्द्र थापा मगर बताउनुहुन्छ । म जेठो हो माइलो कर्णबहादुर र कान्छो दिलबहादुर हो तर १६ वर्षमै भाई माओवादीमा लागेर गयो तर फर्केर कहिल्यै आएन उहाँ सुनाउनु हुन्छ । २०६२ फागुन २ गते स्याङजाबाट नेपाली सेनाले नियन्त्रणमा लिएको दिलबहादुरको अहिले सम्म कुनै पनि अत्तो पत्तो छैन ।

दुई छोरी पछि तीन छोरा जन्माएकी मनकुमारी थापाले कान्छो छोरो १८ महिनाको हुँदा छाडेर जानु भयो एकल पुरुषले पाँच सन्तान हुर्काउँनु भएको इन्द्रबहादुरको पनि गत असार ६ गते मृत्यु भयो । बीरेन्द्र भन्नुहुन्छ–‘बाबाको एउटै आशा थियो भाइको खबर थाहा पाउने तर त्यो उहाँको भाग्यमा रहेनछ ।’

देवरलाई यहीका छिमेकीले लगेर गएका हुन् तर उनी फर्के देवर भने आउनु भएन दिलबहादुरकी भाउजुले भन्नुभयो । म्याग्दी खोलामा संगै  माछा मार्न गएका साथीले देवरलाई लिएर गयो उ त जोगिएछ तर देवरलाई सेनालाई बुझाएछ – गहभरी आँसुपार्दै भाउजु मिना थापाले भन्नुभयो । अरु बेला पनि घरमा आउने बस्ने गर्ने साथी भएकोले सँगै हिड्दा केही भनिएन तर माओवादीमा लगेर गएको रहेछ देवर कहिल्यै फर्केनन् अझै पनि फर्कने आशा त छ तर खै आशा पुरा हुन्छ कि हुन्न उहाँ बताउुनहुन्छ ।

पीडित परिवारले राज्यले बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गरिदिए आफूहरु जस्ता पीडित परिवारलाई केही हदसम्म भएपनि न्यायको अनुभूति हुने कुरा व्यक्त गर्नुभयो ।


अमृतप्रसाद पौडेल