१७ जना क्षमताको महिला बन्दी गृहमा ६ गुणा बढी पुरुष कैदीबन्दी

  ०७६ मङ्सिर ३० गते

१७ जना क्षमताको महिला बन्दी गृहमा ६ गुणाभन्दा बढी कैदीबन्दी राखिएको छ । १७ जना महिला कैदी बन्दीको लागि बनाईएको बन्दी गृहमा हाल १ सय ८ जना पुरुष कैदीबन्दी राखिएको दोलखा कारागारका निमित्त प्रमुख शेषराज गोलेले बताउनुभयो ।

यस जिल्लाका महिला कैदीबन्दीलाई सिन्धुपाल्चोक, रामेछाप वा अन्य जिल्लाका बन्दी गृहमा पठाइने गरिएको गोलेले बताउनुभयो ।

जिल्लामा २४ जना क्षमताको पुरुष कैदी बन्दीका लागि नयाँ भवन तयार भइ हस्तान्तरण भइसकेको छ तर नयाँ भवनमा सुरक्षा तार (ब्लेड वायर) नभएका कारण साँघुरो गरी कैदीबन्दीलाई महिला बन्दी गृहमा राखिएको उहाँको भनाइ छ ।

क्षमता भन्दा ६ गुण बढी कैदीबन्दी राख्दा शौचालयको प्रयोग, भान्सा, नुहाउने काम लगायतमा समस्या देखा परेको छ ।

‘शौचालय जानु पर्दा कैदी बन्दी लाइनमा बस्ने गर्छन् । सुत्ने बेलामा खाटमुनी र माथी असहज परिस्थितिमा सुत्ने गर्छन् ।  बन्दी गृह भित्र मानिस हिँड्ने बाटोमा सुत्नु पर्ने बाध्यताले शौचालय जानु पर्र्दा निन्द्रामा परेको व्यक्तिलाई उठाएर हिँड्नु पर्ने हुन्छ । बन्दी गृहका कैदी बन्दीले खाना पकाउने स्थान अभावका कारण पालो कुरेर खाना बनाउने गर्दछन् ।’–निमित्त प्रमुख शेषराज गोलेले भन्नुभयो ।

नयाँ निर्माण सम्पन्न भएको पुरुष बन्दी गृहमा छिटोभन्दा छिटो सुरक्षा तारको व्यवस्था र अन्य नपुग व्यवस्थापन गरिदिन कारागार व्यवस्था विभागमा अनुरोध गरेता पनि काम भने हुन नसकेको पनि उहाँले बताउनुभयो ।


उद्धव पोखरेल