१६ घरधुरी परिवारमा खानेपानी अभाव हुँदा नागरिकहरूलाई समस्या

  ०८१ कात्तिक २६ गते

प्यूठान नगरपालिका-३, पिपलटाकुरा गाउँका १६ घरधुरी परिवार खानेपानी सुविधा नहुँदा समस्या भएको छ ।

वर्षौँदेखि रहेको बस्तीमा सरकारले खानेपानीको व्यवस्था नगर्दा सबै घरधुरीका नागरिकहरू बस्ती भन्दा तल रहेको थापखोलाको कुवाबाट पानी बोकोर ल्याउने गरेका छन् । आफ्नो बस्तीभन्दा माथिको बस्तीलाई सरकारले खानेपानीको सुविधा पुर्‍याएको विकले बताउनु भयो । आफूहरूले जनप्रतिनिधिहरूलाई निर्वाचन लगाएत अन्य समयमा खानेपानीको समस्याको कुरा गरे पनि भेट हुँदा चुनाव प्रचार प्रसारको समयमा हुन्छ भने पनि कतैबाट सुनुवाई नभएको उहाँले गुनासो गर्नुभयो ।

थापखोलामा कुवा बनाई पानी खाने गरेको र वर्षाको समयमा धमिलो भल पसी खान नबन्ने र अन्य समयमा गाई बस्तुले फोहोर गर्ने स्थानिय ६५ वर्षीय बुद्धीराम विकले उल्लेख गर्नुभयो । गर्मीको समयमा सुख्खा रहने हुँदा सारै दुख भएको उहाँले बताउनु भयो । आफूहरूको बस्ती भन्दा माथिको बस्तीमा खानेपानीको सुविधा हुँदा आफूहरूलाई नदिएको र आफूहरूले खानेपानीको व्यवस्था गर्न स्थानीय तह र वडामा आफ्ना समस्या राख्दा पनि चासो नदिएको स्थानीय ७२ वर्षीय जिवबहादुर कुवरले गुनासो गर्नुभयो ।

खानेपानीको सुविधा नहुँदा प्रत्यक वर्ष वर्षातको समयमा पानी परी कुवा धमिलो हुने र कुवाको छेउमा रहेका फोहोरहरू पानीले बगाई कुवमा मिसाउने हुँदा आफूहरूले दुषित पानी पिउन बाध्य भएको ४५ वर्षीया डिमा विष्टले बताउनु भयो । दुषित पानी पिउँदा रुघाखोकी, ज्वरो र पखला जस्ता रोगहरूले यस बस्तीका नागरिकहरूलाई सताई रहेको विष्टले बताउनु भयो ।

यस बस्तीमा खानेपानीको समस्या रहेको आफूलाई पहिलेदेखि थाहा भएकोले पानीको व्यवस्थाको बारेमा नगरपालिका छलफल भएको र बस्तीभन्दा धेरै तल पानीको मुहान रहेकाले लिफ्टको माध्यमबाट मात्र सम्भव भएको हुँदा बस्तीभन्दा माथिबाट आउने खालको पानीको मुहान खोजी आवश्यक बजेट विनियोजन गरी तुरुन्तै सो बस्तीमा खानेपानीको सुविधा पुर्‍याउने योजना भएको प्यूठान नगरपालिकाका प्रवत्ता एवम् प्यूठान नगरपालिका-३ का वडा अध्यक्ष सुमन श्रेष्ठले बताउनु भयो ।


रविन्द्र पाण्डे