इन्सेकको पहलः १२ वर्षदेखि साङ्लोमा बाँधिएका चौधरीको उद्धार

इन्सेक प्रतिनिधिसहित सरकारी तथा गैरसरकारी टोलीले मङसिर २२ गते १२ वर्षदेखि साङ्लोमा बाँधिएका मानसिक रोगी अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ का ४४ वर्षीय उमाकान्त चौधरीको उद्धार गरेको छ ।

इन्सेक अनलाइनमा तस्विरसहित उपचारका लागि सहयोग जुटाइदिन पीडित परिवारको अनुरोध शीर्षकको समाचार सार्वजनिक भए लगत्तै मानव सेवा आश्रमको सहयोगमा पीडितको उद्धार गरिएको हो ।

उद्धार गरिएका चौधरीलाई उपचार तथा स्याहारका लागि हेटौँडास्थित मानव सेवा आश्रम पठाइएको छ । घटना थाहा पाएलगत्तै मानव सेवा आश्रमका कोषाध्यक्ष होमनाथ तिमल्सिनाले इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलसँग सम्पर्क गरी आवश्यक उपचार तथा स्याहार आश्रमले गर्ने बताएका थिए ।

मानसिक रोगी चौधरीको उद्धारका लागि इन्सेक प्रतिनिधिले अनुरोध गरेलगत्तै मानव सेवा आश्रमका सदस्य सुनम बड्तौला, अभियन्ता नवराज केसी, साधक सन्त लामा मङसिर २२ गते सप्तरी आएका थिए ।

सो समयमा प्रतिनिधि सभा सदस्य सरिता गिरी, प्रदेश सभा सदस्य गोविन्द न्यौपाने, राजविराजस्थित अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. चुमनलाल दास, गाउँपालिका अध्यक्ष परशुराम चौधरी, इन्सेक प्रदेश संयोजक राजु पासवान, इन्सेक सदस्य बैद्यनाथ झा, रासस प्रतिनिधि नानीमैया कटुवाल पीडितको घर पुगेका थिए ।

उद्धार गरेर लैजाने बेला पूर्व–पश्चिम राजमार्गस्थित रुपनी गाउँपालिकाको विरेन्द्र बजारमा भेट भएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सशस्त्र एसपी खेम थापा र जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले आआफ्नो क्षेत्रबाट हुने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मानव सेवा आश्रमका सदस्य सुनम बड्तौलाका अनुसार मानसिक रोग विशेषज्ञसहितको चिकित्सक टोलीले पीडितको नियमित उपचार गर्नेछ ।

लामो समयदेखि साङ्गलोमा बाँधिएका कारण मानसिक रोग जटिल भइसकेको भन्दै अञ्चल अस्पतालका प्रमुख मेसु डा. दासले चौधरीको सबै किसिमको स्वास्थ्य परीक्षण गरी अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने बताए ।

तीन छोरी र मानसिक रोगी पतिको जिविकोपार्जनका लागि दिनरात मजदुरी गर्दै आएकी पीडितकी ४१ वर्षीया पत्नी सुशीलादेवी चौधरीले घर परिवारमा पुरुष मान्छे अभिभावक नहुँदा र आर्थिक अभावका कारण पतिको उपचार गर्न नसकिएको भन्दै सहयोग जुटाइदिन आग्रह गर्दै आएकी थिइन् ।

photo20181208saptari (1)

photo20181208saptari (2)

photo20181208saptari (4)

photo20181208saptari (5)

photo20181208saptari (6)

photo20181208saptari (7)


मनोहरकुमार पोखरेल