१२ जना बालश्रमिकको पुनर्स्थापना

जोखिमपूर्ण कार्यमा लगाइएका १२ जना बालश्रमिकलाई घोराही नगरपालिकाले उद्दार गरी परिवारमै पुनर्स्थापना गरेको छ । कात्तिक १३ गते घोराहीमा एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको हो ।

बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित भएको र उनीहरूको ज्यान नै जोखिममा पर्नेगरी होटेल, ग्रील उद्योगलगायतका क्षेत्रमा काममा लगाइएको भन्दै नगरपालिकाले कार्यस्थलबाट उद्दार गरी अभिभावकलाई जिम्मा लगाइएको घोराही नगरपालिकाका सामाजिक विकास अधिकृत सुवोध रेग्मीले बताए ।

परिवारमै पुनर्स्थापन हुनेमा स्यूजा-८ उजाकी १५ वर्षीया राधिका परियार र १६ वर्षीया माया परियार, गढवा-७ धैरेनीका १४ वर्षीय सागर क्षेत्री, घोराही-११ का १३ वर्षीय मनोज नेपाली र १५ वर्षीय सागर नेपाली, सैघा- १ की १२ वर्षीया बसन्ती विक, सैघा-७ बाम्लाका १५ वर्षीय दलबहादुर पुन, रामपुर-९ सिमलताराका १३ वर्षीय सन्दीप भण्डारी, धर्ना-७ भैसापथ्राका १४ वर्षीय अरूण नेपाली, शान्तिनगर-३ पातेटाकुराका १५ वर्षीय विरवल चौधरी, मानपुर-८ रावतगाउँका १४ वर्षीय सुष्मा वली र घोडाकोट-१० रोल्पाकी १० वर्षीया नम्रता अधिकारी छन् ।

जनही १५ हजार सहयोग

यसैबिच नगरपालिकाले परिवारमा पुनर्स्थापना गरिएका बालबालिकाको शिक्षामा टेवा पुर्‍याउन उनीहरूका अभिभावकलाई जनही १५/१५ हजार रुपियाँ सहयोग गरेको छ । बालश्रमिकका अभिभावकलाई आयआर्जनका लागि उक्त रकम दिइएको नगरपालिकाले जनाएको छ । उक्त रकमले बाख्रा, कुखुरा पालन गर्ने तथा सानोतिनो पसल चलाएर बालबालिकालाई पठनपाठनमा सहयोग पुग्ने अभिभावक लिला नेपालीले बताइन् ।


जे.एन.सागर