१० दिनदेखि स्वास्थ्य चौकी बन्द हुँदा सेवाग्राही मर्कामा

  ०७९ फागुन २९ गते

मुगुम कार्मारोङ गाँउपालिका–१ डोल्पु गाँउस्थित डोल्पु स्वास्थ्य चौकी १० दिनदेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन ।

डोल्पु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू फागुन २० गतेदेखि समुदायलाई कुनै जानकारी नदिएर आ–आफनो घर हिडेपछि स्वास्थ्य चौकी बन्द हुँदा डोल्पु गाँउका स्थानीयबासी मर्कामा परेका हुन ।

डोल्पु गाँउ मुगुम कार्मारोङ गाँउपालिकाको अति दुर्गम बस्ती हो । यो गाँउका सर्वसाधरणलाई आफनो पालिका केन्द्र पुग्न दुई दिन लाग्छ । स्वास्थ्य संस्था बन्द भएको दश दिन भइसक्यो । स्वास्थ्य चौकीमा दुई जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी कार्यरत भएपनि तीनै जना स्वास्थ्य चौकी बाहिर भएकाले डोल्पु गाँउका स्थानीयले स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुँदा डोल्पुका स्थानीय मर्कामा परेको डोल्पु गाँउका स्थानीय छोर्देन तामाङ्गले गुनासो गर्नु भएको छ ।

गाँउमा रहेको स्वास्थ्य चौकी १० दिनदेखि बन्द हुँदा सामान्य रुघाखोकीको उपचार गर्न डेढ दिन लगाएर छिमेकी गाँउ किमी पुग्नुपर्छ । त्यहाँपनि स्वास्थ्यकर्मी नभए किमीबाट तीन घण्टा हिडेर पुलु पुगेर उपचार गर्नुपर्ने बाध्यता छ ।

गाँउमा स्वास्थ्यकर्मी कहिल्यै नियमित बसेका हुँदैनन । वडा अध्यक्ष र जनप्रतिनिधिलाई स्वास्थ्यकर्मी बस्ने वातावरण मिलाउन आग्रह गरेको धेरै पटक भयो जनप्रतिनिधिहरूले पनि चासो नदिदा स्वास्थ्यकर्मीहरू स्वास्थ्य चौकीमा नबस्ने गरेको मुगु कार्मारोङ गाँउपालिका–१ की टोमा छिरिङ तामाङ्गले बताउनु भयो ।

डोल्पु स्वास्थ्य चौकीमा एचए एक जना, अनमी एक जना र एक जना सहयोगी कार्यरत छन । स्वास्थ्य चौकी इन्चार्ज सर्पराज भाम आफनो घर हिडेको एक हप्ता भन्दा बढी भयो । अर्की अनमी छोर्देन डोल्मा तामाङ्ग विवाह गर्न गएको एक महिना पुग्न लाग्यो अझै कार्य क्षेत्रमा फर्कनु भएको छैन । कार्यालय सहयोगी गुरु र्छोदेन तामाङ्ग स्थानीय हुनुहुन्छ उहाँ पनि आफनो घरायसी कामले सदरमुकाम गमगढी हिडेको एक हप्ता भएको जानकारी आएको छ । स्वास्थ्य चौकी बन्द गरेर तीनै जना आ–आफनो कामले कार्यक्षेत्र बाहिर जाँदा सर्वसाधरण स्वास्थ्य सेवाबाट बञ्चित हुन पुगेका छन ।

यो विषयमा वडा कार्यालयबाट स्पष्टिकरण सोधिने र चित्त बुझदो जवाफ नआए आवश्यक कारवाहीकालागि गाँउपालिकामा अनुरोध गर्ने मुगुम कार्मारोङ गाँउपालिका–१ का वडा अध्यक्ष कार्मा टुण्डुप तामङ्गले बताउनु भयो ।

स्वास्थ्य चौकीमा दुई जना स्वास्थ्यकर्मी र एक जना सहयोगी कार्यरत छौ । अनमी छोर्देन डोल्मा तामाङ्ग विवाह गर्न आफनो घर गएको एक महिना भयो हालसम्म फर्कनु भएको छैन । बेला बेला कार्यक्षेत्रमा फर्कन अनुरोध गर्दासमेत व्यवस्था गर्नु भएको छ । कार्यालय सहयोगी गाँउमै हुनुहुन्थ्यो उहाँपनि सदरमुकाम आउनु भएको भन्ने जानकारी आफुसँग छैन । म मेरो बुवाको तीन महिना अगाडी मृत्यु भएको थियो । बुवाको ९० औं दिने धार्मिक कार्य गर्न आएको मात्र हो केही दिन भित्रै आफनो कार्यक्षेत्रमा फर्किने डाल्पु स्वास्थ्य चौकीका इन्चार्ज सर्पराज भामले प्रतिकृया दिनुभएको छ ।


जीवन सेजुवाल