१० जना मेयरका उम्मेदवार एउटै मञ्चमा

स्थानीय तहको निर्वाचनका लागि पोखरा-लेखनाथ महानगरपालिकाको मेयर पदका उम्मेदवारहरूबिच 'ककस' कार्यक्रम कास्कीमा वैशाख २६ गते सम्पन्न भएको छ ।

पोखरा जेसिज, लेडी जेसिज र लेखनाथ जेसिजसँग सहकार्य गर्दै स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले आयोजना गरेको कार्यक्रममा मेयर पदका १० जना र उपमेयर पदका एक जना गरी ११ जना उम्मेदवारहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा उम्मेदवारहरूले पोखरा-लेखनाथ महानगरपालिकालाई स्मार्ट-सिटीका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । महिला तथा बालबालिका लक्षित कार्यक्रमलाई प्राथमिकता दिने, पोखरालाई पर्यटकीय क्षेत्रमा अन्तर्राष्ट्रिय तहमा पहिचान दिलाउने, रोजगारीको सिर्जना गर्ने, अस्पताल, मोटर बाटो, भ्रष्टाचारमुक्त शहरलगायतका कुरामा विशेष महत्व दिने उम्मेदवारहरूले बताएका छन् ।

कार्यक्रममा मेयर पदका उम्मेदवारहरू नेकपा एमालेका मानबहादुर जिसी, सङ्घीय समाजवादी फोरम/नयाँ शक्ती, नेपालका हुमबहादुर गुरुङ, अखण्ड नेपाल पार्टीका मोति गिरी, नेकपा मालेका टेकनाथ भण्डारी, राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर खत्री, नेपाल परिवार दलकी कल्पना बराल, फोरम लोकतान्त्रिकका अमनकुमार थापा, राष्ट्रिय मुक्ति आन्दोलन पार्टीका ऋषिप्रसाद तिमल्सिना, स्वतन्त्र उम्मेदवार रेशमराज पन्थी र महेन्द्र कुमार थापा तथा नेकपा माओवादी केन्द्रकी उपमेयर उम्मेदवार गोमा ढकाल सहभागी थिए । कार्यक्रममा सहभागी सबै उम्मेदवारले आआफ्ना प्रतिवद्धता व्यक्त गरेका थिए ।

.

.

.

Photo20170509Kaski3


सङ्गिता भाट