होमवर्क नगरेको आरोपमा कुटपिट, न्यायका लागि इन्सेकसमक्ष आग्रह

  ०७८ भदौ २६ गते

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित स्वस्तिक इङ्गलिस बोर्डिङ्ग स्कुलको कक्षा ४ मा अध्ययनरत १२ वर्षीय सिद्धार्थ ठाकुरलाई शिक्षिका शोभा साहले पाइपले र शिक्षक रब्बानी हुसैनले डस्टरले कुटपिट गर्दा दाहिने हात भाँचिएर घाइते भएको भन्दै पीडित पक्षले इन्सेक धनुषा प्रतिनधि दिपेन्द्रप्रसाद सिंहसमक्ष सहयोग मागेको छ ।

इन्सेक प्रतिनिधिलाई पीडित विद्यार्थीका बुबा जितेन्द्र ठाकुरले न्यायको लागि पहल गरिदिन आग्रह गर्नुभएको हो ।

कक्षामा भदौ २३ गते होहल्ला गरेको आरोपमा सिद्धार्थ ठाकुरलाई शिक्षिका शोभा साहले पाइपले दाहिने हातमा कुटेको र भदौ २४ गते शिक्षक रब्बानी हुसैनले होमवर्क नगरेको आरोपमा दाहिने हातामा डस्टरले कुटपिट गरेको पीडित बालकको आरोप छ ।

कुटपिटका कारण हातमा सहन नसक्ने गरी दुखेकाले सिद्धार्थ भागेर घर गएर घटनाबारे बताएको पीडित बालकका बुबाले बताउनु भयो ।

जितेन्द्रले विद्यालयका प्रिन्सिपल श्यामसुन्दर साहलाई भदौ २४ गते नै कुटपिट गरेको घटनाबारे विद्यालयमै पुगेर गुनासो गर्नुभएको थियो ।

प्रिन्सिपल साहले हातमा सामान्य चोट भएको भन्दै आफैँ निको हुने भएकाले तातोपानी र मल्हम लगाउन भनी पठाउनु भएको जितेन्द्रले बताउनु भयो ।

भदौ २५ गते एक्सरे गरेपछि हाडजोर्नी विशेषज्ञ डा. विनयकुमार चौधरीले आधा हड्डी भाँचिएको बताउनु भयो ।

यसअघि पनि लडेर सिद्धार्थको बायाँ हात भाँचिको थियो । अर्को हात भाँचिएपछि मानसिक रुपमा समस्या भएको पीडित बालकका बुबा सिद्धार्थ ठाकुरले बताउनु भयो ।

प्रिन्सिपल साहले विद्यार्थीको उपचारमा लाग्ने खर्च विद्यालयबाट उपलब्ध गराउने बताएको सिद्धार्थले बताउनु भयो ।

उहाँले भदौ २६ गते सार्वजानिक विदा भएकाले भदौ २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा आरोपितविरुद्ध उजुरी लेखाउन पहल गरि दिन इन्सेक धनुषा प्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।


इन्सेक प्रदेश २ कार्यालय, जनकपुरधाम