हेपाहा प्रवृतिका नाम सच्चाउने कानुनको अभावमा अपमान सहनुपरेको दलित समुदायको गुनासो

  ०८० मङ्सिर २२ गते

दलित भएकै कारण नागरिकता प्रदान गर्ने कार्यालयका कर्मचारीहरुले मनोमानी रुपमा अपमानित हुने प्रकृतिका नामहरु राखि दिएकै कारण समाजमा अहिले पनि अपमानित हुनुपरेको जिल्लास्थित दलित समुदायका व्यक्तिहरुले गुनासो गर्नु भएको छ ।

नाम सच्याउन पाउने गरी सरकारले निर्देशन दिएको भए पनि उक्त कार्य प्रक्रियागत रुपमा झन्झटिलो भएको र नाम सच्याउने कानुनको अभावमा दलित समुदायले समाजमा अहिले पनि अपमानित हुनुपरेको बरिष्ट सामाजिक अभियान्ता तथा पूर्व संसद पुरनसिंह दयालले बताउनु भयो ।

गत वर्ष दैलेकका एक व्यक्तिको नाम कुकुर कामी लेखिएको नागरिकता सार्वजनिक भएपछि अपमानित नामको विषयमा चर्चा सुरु भएको थियो ।

यसपछि केहि राष्ट्रिय स्तरका सञ्चारमाध्यमले दैनिक रुपमा अपमानित नामहरुको बिषयमा प्रमुख समाचार बनाउदैँ गर्दा अपमानित नाम सच्याउन पाउने गरी अझै कानुन बनेको छैन् ।

अपमानित नामको समस्या बैतडी जिल्लालगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बसोबास गर्ने दलित समुदायका व्यक्तिहरुमा कायम रहेको छ । दलित तथा पिछडिएका समुदायका व्यक्तिहरुको नाम समाजमा होच्याउने तथा अपमानित गर्ने आधारमा राखिएको पाइएको छ ।

जिल्लाको पञ्चेश्वरका ‘धुकुडे’ ले आफ्नो नागरिकतामा कुकुरे भूल लेखिदिएको कारण समाजमा अपमानित हुने गरेको बताउनु भयो । नाम सोधिने ठाउँहरुमा आफूलाई धुकुडे नै बताउने गरिएको भए पनि नागरिकता देखाउनु पर्ने ठाउँमा भने कुकुरे नाम नै लेख्ने गरिएको उहाँले बताउनु भयो ।

पञ्चेश्वर गाउँपालिका–६ की एक महिलाको नागरिकतामा ‘सुकुट्टी कामीनी’ छ । उहाँको वास्तविक नाम सिता लुहार हो । तर, गाउँमा होच्याउने व्यक्तिहरु उहाँलाई सुकुट्टी भनेर बोलाउने गरेका छन् । वि.स. २०३६ सालमा अस्थायी नागरिकता बनाउन गएको समयमा कर्मचारीहरुले नै नागरिकतामा सुकुट्टी नाम कायम गरिदिएको उहाँले बताउनु भयो ।

दार्चुला जिल्ला शैल्यसिखर नगरपालिका–७ खोल्सीका अमरसिंह लुहारको नागरिकतामा ‘रावण नाम राखिएको छ । उहाँको वास्तविक नाम अमरसिंह लुहार हो । तर, रामायणमा रावणलाई धु्र्रत, अहंकारी दानवका रुपमा प्रस्तुत गरिने हुदाँ आफ्नो नाम अमर भए पनि नागरिकतामा रावण राखिएको बताउनु भयो ।

यसैगरी जिल्लाको  पाटन घर भएका प्रताप लोहारको वास्तविक नाम बिगारेर ‘झुल्या’ बनाइएको छ ।

उहाँले भन्नु भयो– ‘मेरो वास्तविक नाम प्रताप हो । म पाँच वर्षको छदैँ बुवा गुमाएकाले सबैले हेपेर मलाई मुल्या भन्न थाले । अन्ततः नागरिकतामा समेत मुल्यालाई अलिकति सुधार गरेर झुल्या बनाइएको हो । अहिले सबैले झुल्या भनेर चिन्छन् ।’

न्वारनमा आफ्नो नाम नारायण राखिएको भए पनि नामाकरण गरिएको भोलिपल्टै गैरदलित महिला घरमा आएर भगवानको नाम राख्न नमिल्ने भन्दै गालिगलौज गरेपछि नाम परिवर्गन गर्न दबाव दिएको र अहिले हेपेर ढाडे बिरालो भनेर बोलाउने गरिएको दशरथचन्द नगरपालिका–४ का नारायण भुलले गुनासो गर्नु भयो ।

वि.स.२०३६ सालमा अस्थायी नागरिकता सिविर चल्यो । उतिबेला घरका सबै सदस्यहरुको विवरण खुलाउने गरि हस्तलिखित रुपमा एउटै फर्ममा विवरण भरेर नागरिकता सरह प्रदान गरिएको थियो । ०४६ सालमा नागरिकता सिविर सञ्चालन गरिएको भए पनि यसबेला पुरानै संयुक्त नागरिकताका आधारमा स्थायी नागरिकता दिइएको थियो ।

बरिष्ट सामाजिक अभियन्ता तथा पुर्व सांसद दयालले भन्नु भयो– ‘०३६ सालमा अस्थायी नागरिकता सिविरमा आउनु भएका प्रमुखले विश्वकर्मा थरका सबै व्यक्तिको थर कामी बनाए । सुदूरपश्चिममा विश्वकर्मालाई कामी भन्ने चलन थिएन् । लोहार, वड, टमाटा, महर, कोली, पार्की लगायत पेशा अनुसार विभिन्न थरहरु थिए । नागरिकता टोलीका प्रमुखले होच्याउने आधारमा दलित समुदायको विश्वकर्मा थर अन्तरगत पर्ने व्यक्तिहरुलाई “कामी” लेखि दिनुभएको हो । टोली प्रमुख जहाँ भएपनि पत्ता लगाई कारवाही गरिनु पर्दछ ।’

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले हेपाह प्रवृतिका नाम सच्याउने कानुन अझै नबनेका कारण केही समस्या भएको भए पनि कसैले नाम परिवर्तन गर्न आएमा गृह मन्त्रालयमा विवरण पठाएर नाम सच्याउने प्रक्रियामा सहयोग गर्ने बताउनु भयो ।


नरी बडु