प्राधानाध्यापककाे छोराको विवाहमा जान विद्यालय विदा

  ०८० जेठ ८ गते

ऋषिङ गाउँपालिका–८ ऋषिङमा रहेको शिव सरस्वती माविका प्राधानाध्यापककाे छोराको विवाहमा जानको लागि जेठ ७ गते आइतबार विद्यालय बन्द गरिएको छ ।

विद्यालयका प्राधानाध्यापक विष्णुप्रसाद बरालको छोराको विवाहमा जन्ती जानको लागि विद्यालयमा विदा दिइएको विद्यालयका शिक्षक भिमकुमार श्रेष्ठले बताउनु भयो ।

विद्यालयका लेखापाल महेन्द्रकुमार श्रेष्ठले स्थानीय विदाबाट कट्टा हुने गरि एक दिनको लागि विदा दिइएको बताउनु भयो । विद्यालय व्यवस्थापन समितिको निर्णयबाट नै विदा दिइएको उहाँले बताउनु भयो ।

विद्यालयमा विदा दिएर सबै शिक्षकहरू विवाहमा जन्ती गएका थिए ।

ऋषिङ गाउँपालिका– ८ का वडा अध्यक्ष भरतकृष्ण श्रेष्ठले आफुलाई पनि प्राधानाध्यापकको छोराको विवाहमा निम्तो आएकोले निम्तो मान्न हिडेको बताउनु भयो । प्राधानाध्यापकको छोराको विवाहको कारण विद्यालय विदा दिएको बारेमा आफुले पनि अभिभावकहरूबाट थाहा पाएको भन्दै वडा अध्यक्ष श्रेष्ठले यसबारेमा विद्यालय प्रशासनले आफुलाई कुनै जानकारी नदिएको बताउनु भयो ।

वडा अध्यक्ष पनि विद्यालय व्यवस्थापन समितिको पदेन सदस्य हुने भन्दै उहाँले विदा दिने बारेमा आफुसँग कुनै छलफल नभएको बताउनु भयो । वडामा फर्किएपछि यसबारेमा विद्यालय प्रशासनसँग स्पष्टीकरण लिने वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठले उक्त विदालाई व्यवस्थापन समितिले निर्णय नगरेको बताउनु भयो ।

गाउँपालिकाले हरेक विद्यालयलाई वर्षको पाँच दिन स्थानीय विदा दिनसक्ने अधिकार दिएको र त्यस मध्ये चार दिनको विदा यस अघिनै व्यवस्थापन समितिले निर्णय गरेर विद्यालयको वार्षिक क्यालेन्डरमा समावेश गरिसकेको र बांकी एक दिनको विदा विद्यालय प्रशासनलाई भैपरी आउने विदाको रूपमा प्रयोग गर्ने सुविधा दिएको भन्दै उहाँले उक्त विदालाई प्राधानाध्यापककाे छोराको विवाहको दिन नै उपयोग गरेको हुनसक्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

यसबारेमा आफुले चाडै नै व्यवस्थापन समितिको आकस्मिक बैठक राखेर जानकारी माग्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो । उक्त विद्यालयमा करिब ३ सय ५० विद्यार्थी अध्ययनरत छन् ।


प्रकाशचन्द्र भट्टराई