हुम्लामा ४ महिना बितिसक्दा पनि सामाजिक सुरक्षा भत्ता वितरण नभएको स्थानीयबासीको गुनासो

  ०७४ पुस ३० गते

हुम्ला जिल्लाका सात ओटै गाउँपालिकामा चार महिना बितिसक्दा पनि सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा स्थानीयबासी मर्कामा परेका छन् । आर्थिक वर्ष०७४/७५ को पहिलो चौमासिकको सुरक्षा भत्ता कात्तिकमै वितरण हुनुपर्ने प्रवधान रहेको भए पनि हालसम्म वितरण नभएको स्थानीयबासीको गुनासो रहेको छ ।

चौमासिक रूपमा वितरण गर्दै आएको सुरक्षा भत्ता चालु आर्थिक वर्षसुरू भए देखि हालसम्म नपाउँदा ज्येष्ठ नागरिक, अपङ्गता भएका व्यक्ति, एकल महिला, ज्येष्ठ नागरिकलाई निकै समस्या भएको सिमकोट गाउँपालिका-७ का ६२ वर्षीय सुरवीर शाहीले गुनासो गरेका छन् ।

हुम्लाका स्थानीय तहले समयमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसक्दा नागरिकहरू निराश बन्न थालेका छन् । हुम्लामा रहेका सात ओटै गाउँपालिकाका ४४ वडामा समयमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकेका छैनन् ।

स्थानीय तहले सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको तथ्याङ्क समयमै अद्यावधिक गर्न नसक्दा सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको सिमकोट गाउँपालिकाका प्रमुख पदमबहादुर लामाले बताए । साविकका गाविसमा वितरण हुने सामाजिक सुरक्षा भत्ता पाउँ भन्ने तथ्याङ्क अद्यावधिक नहुँदा वितरण गर्न नसकिएको समेत गाउँपालिका कार्यकारी अधिकृतहरूले खुलासा गरेका छन ।

स्थानीय स्तरमै सरकार पाउँदा पनि धेरैजसो गाउँका स्थानीयबासीलाई स्थानीय सरकार के हो भन्ने समेत थाहा नभएको ताँजकोट गाउँपालिका-२ का परिमल लुहारले बताएका छन् । केन्द्रको सरकार गाउँघरमा भने पनि नागरिकलाई अझै पाउनुपर्ने सेवासुविधा पाउनबाट वञ्चित रहेका छन् ।


नन्द सिंह