हुम्लामा मतदाता शिक्षा प्रभावकारी बन्दै

  ०७९ मङ्सिर २ गते

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि हुम्लाको सात ओटै गाँउपालिकाले मतदाता शिक्षा कार्यक्रम संचालन गरेको छ । गाँउपालिकाले मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउन पालिकाका सबै वडातह हुँदै घरदैलोसम्म मतदाता शिक्षा संचालन गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिनुभयो ।

निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सातओटै पालिकामा मतदाता शिक्षा संचालन गरिएको हो । उहाँले भन्नुभयो, “यो निर्वाचनमा कतिपय मतदाता पहिलो पटक मतदान गर्दैछन्, उनीहरूलाई मतदान गर्ने तरिकाबारे जानकारी नहुन सक्छ, मतपत्र कसरी पट्याउने लगायतका विषयमा मतदातालाई सिकाइदै छ ।ˮ

मतदाता शिक्षा संचालनका लागि सबै वडामा एक–एकजना स्वास्थ्यकर्मी स्वयंसेवक परिचालन गरिएको छ । निर्वाचन आयोगको मापदण्ड अनुसार वडा–वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । मतदाताले प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी दुईओटा र प्रदेश सभातर्फ पनि त्यसै गरी अलग–अलग चारवटा मतपत्रमा मत हाल्नुपर्नेछ ।

खार्पुनाथ गाँउपालिका अध्यक्ष कर्ण रावलले भन्नुभयो, ‘स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम संचालन हुन सकेन, त्यसले गर्दा मत बढी बदर भयो ।’ उहाँले भन्नुभयो, ‘मतदाता शिक्षालाई प्रभावकारी बनाउन सकिए बदर मत न्यूनीकरण गर्न सकिन्छ ।’ अध्यक्ष रावलले मतदाताको सक्रिय सहभागिता र मत बदर हुन नदिने गरी मतदाता शिक्षा कार्यक्रम संचालन गर्न निर्देशन दिनु भएको छ ।
PhotoHumla20221118 (1)

PhotoHumla20221118 (2)


नन्द सिंह