हुम्लाका चार ओटा मतदान केन्द्र अति संवेदनशील

  ०८१ मङसिर १३ गते

आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि सुरक्षाका दृष्टिकोणले हुम्लाका चार ओटा मतदान केन्द्र अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले विश्लेषण गरेको छ । जम्मा १३ ओटा मतदान केन्द्रमध्ये चार ओटा मतदान केन्द्र अति संवेदनशील रहेको इन्स्पेक्टर सरोज कँडेलले बताउनु भयो ।

इन्स्पेक्टर कँडेलले तीन ओटा मतदान केन्द्र संवेदनशील र ६ ओटा सामान्य रहेको बताउनु भयो । निर्वाचनलाई निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिने इन्स्पेक्टर कँडेलको भनाइ छ । सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचन पूर्व, निर्वाचन र निर्वाचन पश्चातको सुरक्षा व्यवस्था मिलाउने तयारी पूरा गरिएको उहाँले बताउनु भयो ।

जसअनुसार सर्केगाड गाउँपालिका–१ स्थित देवल प्रावि तुम्चमा १६ जना, सरस्वती मावि जैरमा दुई ओटा मतदान स्थल गरेर १९ जना, वडा नम्वर २ स्थित लालिगुराँस मावि लिप्नेमा १४ जना, वडा नम्बर ३ स्थित देवकोटा आधारभूत विद्यालयमा १२ जना, वडा नम्बर ४ स्थित हिमज्योति मावि सर्केगाडमा १६ जना, वडा नम्बर ५ स्थित धुमचुली आधारभूत विद्यालय कल्लासमा १२ जना र भवानी अधारभूत विद्यालय गोठीमा १६ जना, वडा नम्बर ६ स्थित स्वयम्भु आधारभूत विद्यालय बराईमा १२ जना र इस्वर आधारभूत विद्यालय छ्यागीमा १२ जना, वडा नम्बर ७ स्थित कोट मावि रोडिकोटमा १६ जना, वडा नम्बर ८ स्थित अंशुबर्मा आधारभूत विद्यालय राहदेवमा १४ जना र निलकण्ठ सामुदायिक प्रावि फुचामा १४ जना प्रहरी परिचालन गरिएको छ ।

उक्त उपनिर्वाचनका लागि २ सय ६८ जना प्रहरी परिचालन गरिएको छ भने उक्त निर्वाचन निर्विवादरुपमा सम्पन्न गराउनका लागि १२ ओटा मतदान स्थलका १३ ओटा मतदान केन्द्रमा ७३ जना कर्मचारी खटाइएकाे मुख्य निर्वाचन अधिकृत सम्भु प्रसाद बरालले बताउनु भयो ।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । यसका लागि जम्मा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा ६ हजार ८ सय १० मतदाता सङ्ख्या रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भिम रोकायाले बताउनु भयो ।


नन्द सिंह