हिल्सा नाका बन्द भएपछि छात्राबासमा खाद्यान्न अभाव

  ०७९ जेठ २२ गते

गत पुस महिनादेखि नाम्खा गाउँपालिका–४ स्थित यालवाङमा रहेको हिमाली बाल समाज छात्राबासका बालबालिकाले खाद्यान्नको अभाव भएको छात्राबास सञ्चालक कुमार लामाले गुनासो गर्नु भएको छ ।

खाद्यान्न नपाउँदा सो छात्राबासका २ सय २५ जना बालबालिका र १५ जना शिक्षकहरू खाद्यान्नबाट वञ्चित हुनु परेको सञ्चालक लामाको भनाइ छ ।

उहाले भन्नु भयो–‘तीन वर्षदेखि कोभिडका कारण चीनको सिमा हिल्सा नाका बन्द भएपछि खाद्यान्नको समस्या भएको हो ।’

गत ६ महिनादेखि विद्यार्थी र शिक्षकहरुले नेपाल सरकारको अनुदानमा आएको खाद्यान्न नपाउँदा सास्ती खेप्नु परेको लामाले दुःख व्यक्त गर्नु भयो ।

लामो समय खाद्यान्न उपलब्ध नभएको भन्दै जेठ २० गते जिल्ला प्रशासन कार्यालयमा छात्राबासका सञ्चालक लामाले खाद्यान्नको माग गर्नु भएको छ ।

सिमकोट, सर्केगाड र नाम्खा गाउँपालिकाका गरिब, विपन्न, जेहेन्दार बालबालिकाहरू यहाँको छात्राबासमा बस्दै आएका छन् ।

लामाले खाद्यान्नको माग गरेपछि प्रमुख जिल्ला अधिकारी सीता परियारले अबदेखि सो छात्राबासका लागि नियम अनुसार मासिक रूपमा पाउने खाद्यान्न उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो ।


नन्द सिंह