हिरासत कक्षमा अमानवीय व्यवहार गरिएको इन्सेककर्मीसँग गुनासो

  ०८० पुस २ गते

जिल्ला प्रहरी कार्यालय, धनकुटाको हिरासतमा रहेकाहरूले इन्सेककर्मीसँग हिरासतमा अमानवीय व्यवहार गरिएको गुनासो गरेका छन् ।

पहिचान पक्षधरको आरोपमा ०८० मङ्सिर २८ गते गिरफ्तारीमा परेकाहरूले पुस १ गते इन्सेककर्मीसँगको भेटमा हिरासतमा अमानवीय व्यवहार गरेको गुनासो गरेका हुन् ।

गिरफ्तारमा परेका पहिचानवादी नेता तथा कार्यकर्ताहरूको जानकारी लिन जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुग्दा इन्सेककर्मीसँग उनीहरूले गुनासो गरेका हुन् ।

स्थानीय प्रशासनले विना कारण आफूहरूलाई गिरफ्तार गरी पाँच दिनदेखि हिरासतमा राखेको छ, व्यवहार पनि अमानवीय गरिएको पहिचानवादी नेता सूर्य मादेनले इन्सेककर्मीसँग गुनासो गर्नुुभयो ।

मादेनले आफूहरूले सिधुवामा एमालेको कार्यक्रम विथोल्ने गरी केही पनि नगरी मङ्सिर २८ गते बेलुका सुत्न लागेको बेला अपहरणको शैलीमा विना कसुर गिरफ्तार गरी हिरासतमा राखिएकको बताउनु भयो । उहाँले जिल्ला प्रहरी कार्यालयको  पुरूषलाई राख्ने हिरासतको कोठा अत्यन्तै साँघुरो रहेको र कोठामा १७ जनालाई एकै ठाउँमा राखेको बताउँदै इन्सेकलगायत मानवअधिकारकर्मी र सञ्चारकर्मीले यसबारे चासो राखिदिन आग्रह गर्नुभयो ।

प्रहरीले शौचका लागि समेत बाहिर जान नदिएर सुत्ने कोठामै दुई ओटा प्लाष्टिकको भाँडा दिएको, यो विषय कतिसम्म जायज हो ? सरकारसम्म कुरा पुगोस् हिरासतमा रहेका किराँत याक्थुम चुम्लुङ धनकुटा, अध्यक्ष कमलसिं तिगेला लिम्बूले इन्सेककर्मीलाई आग्रह गर्नु भयो ।

उहाँले प्रहरीले विना कसुर पक्राउ गरेकाे र नियन्त्रणमा लिएको पाँच दिन वित्न लाग्दा पनि पक्राउको कारण नभनेको तिगेलाले आरोप लगाउनु भयो ।

प्रहरीले साँघुरो कोठामा १७ जनालाई कोचेर शारिरिक यातना नदिए पनि मानसिक रूपमा अमानवीय व्यवहार गरेको हिरासतमा रहेकाहरूको गुनासो छ ।

किँरात राई यायोख्खा धनकुटा, अध्यक्ष उद्धवमणि राईले प्रहरीले आफूहरूलाई बिना कारण गिरफ्तार गरी ल्याएर नानाथरी तीनपुस्ते बयान लिएर हैरान लगाएको र फोटो समेत खिच्नको लागि प्रहरीले दबाब दिइरहेको र नमानेको बताउनु भयो ।

एमालेको सङ्कल्प अभियानलाई अवरोध गर्न खोजेको आरोपमा प्रहरीले धनकुटाको लेगुवा र सिधुवाबाट गरी गिरफ्तार गरिएका १८ जनामध्ये उमा राईलाई भने छुट्टै कोठामा राखिएको छ ।

एमाले अध्यक्ष केपी ओली माथि हातपात प्रयास गर्ने महालक्ष्मी नगरपालिका–५ का ४२ वर्षीय महेश राईलाई पनि छुट्टै कोठामा राखिएको छ ।

हिरासत कक्षको अनुगमनपछि इन्सेककर्मीले राखेको जिज्ञासामा गिरफ्तारीमा परेकाहरूले शान्ति सुरक्षामा अवरोध गर्न खोजेको आरोपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजबाबु महर्जनले बताउनु भयो । उहाँले हिरासत रहेकाहरूलाई सरकारले दिने भनिएको सेवा दिइरहेको र हिरासत कक्ष नै सानो भएकाले एउटै कोठामा राख्नुपरेको बताउनु भयो । सो विषयमा प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलले हिरासतमा प्रहरीको अमानवीय व्यवहार भएको भन्ने गुनासोको विषयमा आफूले वुझ्ने बताउनु भयो ।

गिरफ्तारीमा पर्नेहरुमा धनकुटा जिल्ला किँरात याक्थुङ चुम्लुङ अध्यक्ष कमलसिंह लिम्वु, किराँत राई यायोख्खा जिल्ला अध्यक्ष उद्धवमणी राई, किराँत राई यायोख्खा पाख्रीवास नगर अध्यक्ष जितेन्द्र मामपाङ्ग, प्रदेश नं.१ पुनःनामांकन संघर्ष समिति संखुवासभाका संयोजक वीरेन्द्र छारा राई, किराँत राई यायोख्खा संखुवासभा जिल्ला सचिव उमाकुमारी राई र सखस्यहरु पनिल कुलुङ, करवीर कुलुङ, जुद्ध राई, सोकुल राई मङसिर २७ गते लेगुवाबाट गिरफ्तार भएका हुन् ।

धनकुटाको सिधुवाबाट मङसिर २८ गते गिरफ्तारमा परेका तेहृथुमको छथर गाउँपालिकाका सूर्यमादेन, शंकर खेवा, नगेनसाँवा उदयदिप सम्वाहाम्फे, वोद्धराज लिम्वु, फौद्ध तुम्खेवा,दिपक लिम्वु, रुपेश लिम्बू, योगेन्द्र साँवा लिम्बू रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, धनकुटाको हिरासत कक्षको अनुगमन इन्सेक धनकुटाप्रतिनिधिसहित मानव अधिकार शान्ति समाज धनकुटाका अध्यक्ष एवं पत्रकार महासंघ धनकुटाका सचिव हरीवहादुर लम्जेल, मानव अधिकार तथा सचेतना केन्द्र (हुसाडेक) नेपालका सचिव खेमराज थापा, सम्वाद समूह धनकुटाका संयोजक रमेशचन्द्र अधिकारी,कानुन व्यवसायी एवम् अधिकारकर्मी नारायणजुन राई, फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामालगायतको टोलीले गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, धनकुटाको हिरासतकक्ष अनुगमनका क्रममा इन्सेक प्रतिनिधिलगायत ।
जिल्ला प्रहरी कार्यालय, धनकुटाको हिरासतकक्ष अनुगमनका क्रममा इन्सेक प्रतिनिधिलगायत ।

ईश्वर थापा